सेयर
पाँचौं झिल्टुङ क्रसकन्ट्री दौड च्याम्पियनसिपमा शनिबार सुमन कुलुङ राई र हुमी बुढामगर च्याम्पियन भएका छन् । नुवाकोटको बेल्कोटगढी नगरपालिका–५ मा भएको क्रसकन्ट्री दौडमा उनले ५४ मिनेट ५५ः०९ सेकेन्डमा १३.४ किलोमिटरको दूरी पार गरे ।
दोस्रो भएका आकाश राईले ५५ मिनेट ५८ः ५० सेकेन्ड र तेस्रो भएका राजेन्द्र तामाङले ५९ मिनेट २०ः०४ सेकेन्ड लगाए । महिलातर्फ हुमीले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दूरी पूरा गरिन् । वन्दना राईले १ घण्टा १७ मिनेट ५८ सेकेन्ड र एपीएफकी आशा राउतले १ घण्टा २० मिनेट २५ सेकेन्डबाट दोस्रो र तेस्रो स्थान हात पारे । दुवैतर्फका विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको आकर्षण रहेको आमा समूहतर्फ गत वर्षकी विजेता सन्तुमाया श्रेष्ठले उपाधि रक्षा गरिन् । विमला श्रेष्ठ दोस्रो र कल्पना श्रेष्ठ तेस्रो भए । उनीहरूले क्रमशः १० हजार, ६ हजार र ४ हजार पुरस्कार पाए ।
स्थानीयतर्फ पुरुषमा प्रज्वल लामिछाने, नवीन भण्डारी र दिनेश भण्डारी, यू–१६ छात्रतर्फ दिनेश नेपाल, शिशिर तामाङ र अनिश भण्डारी तथा छात्रातर्फ दीपशिखा राई, अस्मिता दुलाल र सपना श्रेष्ठ क्रमशः शीर्ष तीन स्थानमा विजयी भए । ४.५ किलोमिटर खुलातर्फ छात्रमा विश्वराम कुँवर, उदय लिम्बु र प्रवीण ताम्लिङ तथा छात्रामा सरस्वती बोहरा, रेस्तिना सितिखु, अञ्जु खड्का क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । प्रतियोगिता गर्न बेलकोटगढी नगरपालिकाले ४ लाख रुपैयाँ दिएको थियो ।
shere this