नुवाकोट ।
तपाईं हामीमध्ये कतिपयले समय समयमा निःशुल्क रगतदान गरिरहेका हुन्छौँ । विभिन्न अभियान तथा दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा स्वस्फूर्त रुपमा संकलित रगत रक्तसञ्चार केन्द्रले विभिन्न बिरामीहरुका लागि अस्पतालहरुमा पुर्याएको हुन्छ ।
तर तपाईं हामीलाई अत्यावश्यक परेको बेला भने रगत खरिद गर्नुपर्ने हुन्छ । आवश्यक रगत अस्पतालमा सहजै र निःशुल्क प्राप्त हुँदैन । यस्तै समस्यालाई मध्यनजर गर्दै नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले आफ्ना नगरबासीका लागि जहाँ उपचार गराउँदा पनि रगत आवश्यक परे निःशुल्क प्राप्त हुने व्यवस्था गरेको छ ।
नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटमार्फत सञ्चालनमा रहेको रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरेर आफ्ना नगरबासीलाई यस्तो सुविधा उपलब्ध गराउन थालेको हो । नगरपालिकाले नागरिकका लागि रगत किन्न नपर्ने व्यवस्था गर्न रेडक्रस नुवाकोटलाई चालु आर्थिक वर्षका लागि रु. ३ लाख उपलब्ध गराएको छ । अर्थात् नागरिकले किन्नुपर्ने रगतको पैसा नगरपालिकाले तिरिसकेको छ।
त्यसोभए रगत कसरी प्राप्त गर्न सकिन्छ ?
बेलकोटगढी नगरबासीले जिल्लाभित्रै उपचारका क्रममा रगत आवश्यक परे कोलनीस्थित रक्त सञ्चार केन्द्रमार्फत रगत लिन सक्नेछन् ।
यदि जिल्लाभन्दा बाहिर उपचार गर्दा रगत खरिद गर्नुपर्यो भने रगत खरिद गरेको बिल कोलनीस्थित रक्तसञ्चार केन्द्रमा बुझाइ बिलबराबरको रकम केन्द्रले भुक्तानी गर्ने व्यवस्था नगरपालिकाले मिलाएको छ ।