काठमाडौँ ।
नेकपा माओवादी (केन्द्र)ले आजबाट देशैभर जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेको छ । देशैभरका वडाहरुमा आज एकैसाथ विभिन्न कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको छ ।
माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भर्चुअल माध्यमबाट देशैभरका नेता कार्यकर्तालाई सम्बोधन गर्दै ३ महिने अभियानले पार्टीभित्र नयाँ उर्जा सिर्जना गर्ने र जनतासँगको सम्बन्धलाई पुनः बलियोसँग स्थापित गराउने विस्वास व्यक्त गर्नुभयो ।
प्रचण्डले माओवादी नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका कारण राजनीतिक दल र नेतृत्वप्रतिको निराशालाई आशामा परिणत गराएको बताउनुभयो । माओवादीले आज एकैसाथ देशका ६ हजार ७ सय ४३ वडामा अभियान उद्घाटन गरेको छ । वडा वडाका अभियानलाई विभिन्न नेताहरुले नेतृत्व गरेका छन् ।
अभियान अन्तर्गत कतिपय वडाहरुमा आज स्थानीयसँग मिलेर सरसफाइ वृक्षारोपण रक्तदान तथा अन्य सामाजिक तथा रचनात्मक कार्यको थालनी समेत भएका छन् ।
यसैविच नुवाकोटको बेलकोटगढी, म्यागङ लगायतका पालिकाका विभिन्न स्थानमा वृक्षारोपण कार्य र सरसफाइ कार्य, बाटोघाटो निर्माण तथा अन्य रचनात्मक कार्य गरिएका छन् ।