काठमाडौं ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा एकीकरणको प्रकृया टुंगोमा नपुग्दै विभाजनको संघारमा आइपुगेको छ । २०७५ जेठ ३ गते पार्टी एकीकरण घोषणा सभामा प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष केपी ओलीले नेकपा एमाले र माओवादी मिसिएका रुपमा नबुझ्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका थिए । ‘हामी घोलिएका छौं’ ओलीले भनेका थिए, ‘हिन्द महासागरमा गएर हामीले सेती, कोशी खोजेर पाईदैँन ।’ तर पार्टी एकता भएको दुई बर्ष बित्दा पनि एकीकरण प्रकृया टुंगोमा त पुगेको छैन नै आन्तरिक विवाद तिव्र हुँदै पार्टी विभाजनको संघारमा आइपुगेको छ ।
आन्तरिक विवाद सुल्झाएर जानेभन्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफुअनुकुल निर्णय लिदैँ अघि बढेपछि अर्का अध्यक्ष प्रचण्डले जारी स्थायी कमिटी बैठक पार्टी विभाजनको प्लेटफर्म बन्न सक्ने जनाएका छन् । उनले निकटका नेताहरुलाई त्यसका लागि तयार रहन समेत संकेत गरेका छन् । यसबाट पनि नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको पुष्टि हुन्छ ।
शिर्ष नेताहरुबीच सरकार र पार्टी सञ्चालनका बिषयमा बढ्दै गएको असमझदारी विभाजनतर्फ उन्मुख भएको हो । प्रधानमन्त्री भएपछि ओलीमा अहंकार बढेको, पार्टीको निर्णय नमानेको, विधि र प्रकृया अस्विकार गरेको, सरकारप्रती जनतामा असन्तुष्टि बढेको पार्टी र सरकारबीच समन्वय नभएको भन्दै अन्तरविरोध बढेपछि पार्टी एकता गम्भिर संकटमा पुगेको हो ।
पार्टीका शिर्ष नेताहरुले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर ओलीले पार्टी फुटाउने बाटो खुला गर्न लागेको आरोप लगाएका छन् भने ओली पक्षले सरकारलाई काम गर्न नदिएर प्रचण्ड–माधव पार्टी फुटाउन लागेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले आफुलाई भारतले पदबाट हटाउन लागेको अभिव्यक्ति दिएपछि पार्टीका शिर्ष नेताहरुले उनको राजीनामा मागेका छन् ।
नागरिक दैनिकले समाचार छापेको छ ।