काठमाडौं ।
लिम्पियाधुरा समेत समावेश भएको नक्सा सहितको निशान छापका लागि संविधान संसोधनको प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
नयाँ नक्सा निशान छापमा समावेश गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको हो ।
भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।
आजको सदनमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । दफावार छलफलपछि सभामुख अग्नि साप्कोटाले संशोधन प्रस्तावलाई संविधानको अंग भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए ।
प्रस्तावमा भएको मतदानमा हुन्छ भन्ने पक्षमा २५८ र प्रस्तावको विपक्षमा मत नपरेको सभामुख सापकोटाले बताए ।
सरकारले सङ्घीय संसद्मा यही जेठ ९ गते संविधान संशोधन गर्न विधेयक दर्ता गरेकामा कानूनमन्त्री डा. तुम्बाहाङ्फेले जेठ १८ गते प्रतिनिधिसभासमक्ष प्रस्तुत गरेकी थिएन । सर्वसाधारणको जानकारीका लागि सोही दिन नेपालपत्रमा प्रकाशन गरिएको थियो ।
संविधानमा उल्लेख भएअनुसार दुवै सदनबाट पारित विधेयकलाई सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्नेछ । राष्ट्रपतिबाट १५ दिनभित्र उक्त विधेयक प्रमाणीकरण हुनेछ र सोही मितिदेखि संशोधित संविधान लागू हुनेछ ।