प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरसँगको भेटमा क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्त्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएको भन्दै चिनियाँ सरकारलाई धन्यवाद दिनुभयो ।
भेटमा दुवैजनाबिच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबिच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले दुई देशबिच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । चीन र नेपाल बिचको संसदीय अभ्यासको आदानप्रदान आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने गर्ने बारेमा पनि छलफल भएको थियो ।
भेटमा सीपीपीसीसीका उपाध्यक्ष बार्टरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास दिलाउनुभयो ।








































