-नारायण नेपाल
‘जब भयो राती अनि बुढी ताती’ भनेजस्तो कोरोना लागेपछि औषधी खोज्दै छ संसार यतिबेला । संसारभरका मानवजाती आज कोरोना विरुद्धको लडाइँमा सामेल छ । छिमेकी मित्रराष्ट्र चीनले तीन महिनादेखि यो संकट सामना गर्दैगर्दा नेपाली सरकार चाहिँ पश्चिमतिर मुख फर्काएर एमसिसिको डलरमा ग्रन्थी रसाउने चक्करमा थियो । आज नेपाल सरकारलाई फ्रान्सबाट फर्किएकी युवतीको रिपोर्टले तताएपछि सबै फुर्तीफार्ती सेलाएर हतारहतार लकडाउनदेखि निषेधाज्ञासम्म पुगेको छ । देशभर जिल्ला जिल्लामा निषेधाज्ञा जारी भएको छ । यो आलेख चाहिँ गाउँको सेरोफेरो मात्रै नियाल्ने हो ।
केही दिनअघि सरकारले २५ जना भेला हुन रोक लगाएपछि हाम्रो गाउँ (बेलकोटगढी)तिर नुवाकोट २ नम्बर क्षेत्रका माननीय नारायण खतिवडाले दलबल सहित बेनपा ५ कोल्पुटारमा कोरोना चेकजाँच हेल्थडेक्स उद्धघाटन गरेको तस्विर सार्वजनिक गरेका थिए । उनको पहल ओझेलमा पर्नेगरी अर्को पहल भयो कमरेडहरुबाटै । अझै ‘लाटो देशमा गाँडो तन्नेरी’ भनेजस्तो पञ्चकन्या गाउँपालीका अध्यक्ष रमेश तामाङले तापक्रम नाप्दै गरेको तस्विर भाइरल भयो । उनी ठेकदार हुन् भन्ने थाहा थियो, नेता भएर गाउँपालिका अध्यक्ष भए । तर यो पटक स्वास्थकर्मीको रुपमा भाइरल भए । उस्तै थियो, नेकपाका किसान नेता केदार पुडासैनि कमरेड हरिले मोटरसाइकल सेवा निःशुल्क दिन तयार भएको स्टाटस । हरिबाले छेरपाटी लागेका बिरामी जस्तै हुन् भन्ने ठानेर होला त्यस्तो लेख्दै थिए ।
आजसम्म बेनपाको ४ र ६ नम्बर वडामा स्वास्थ चौकी समेत छैन । झाडापखालामा जीवनजल नपाई गाउँमा कोरोना गए के होला ? यो बेला कृषि भेट्नरीको हाकिम छविलाल शर्मा बेनपाको अधिकृत भएर कोरोनाबारे विज्ञप्ती जारी गरेका रहेछन् । स्वास्थकर्मी भन्दा पनि नगरको ओभरसियर लुमडीप्रसाद नेपाल थिए स्वास्थ्य चेकजाँच केन्द्रमा । नुवाकोटका ब्यापारीहरुको संस्थाका अगुवाहरु माक्स र फ्रुटी बाँड्दै हिँडेर केही अन्तर्राष्ट्रिय भाइरल बन्ने प्रयास समेत गरेका देखिए ।
नुवाकोट प्रहरी प्रमुख चाहिँ लकडाउन उलंघ्न गर्नेहरु रोक्न आफैँ थिए, सडकमा । यदि ती कोही संक्रमीत भए उनको बर्दीले छेक्ला कि नछेक्ला संक्रमण ? यी त भए प्रतिनिधिमुलक घटनाहरु जहाँ केही दिन यता हाम्रा गाउँलेहरु कोरोना विरुद्धको मोर्चामा उत्रिएका थिए मैदानमा जोड तोडका साथ ।
कोल्पुटारमा कोरोना जाँच सुरु भयो भन्ने हल्ला फेसबुक भरी छ्याप छ्याप्ती भयो । मान्छे सचेत प्राणी हो, उ हरेका समय बाँच्न चाहन्छ, कमाउने र जमाउने होडमा संसार चाहार्छ र अनेकौँ जोखिम मोल्छ । आजको विश्व व्यवस्थाले मान्छेलाई यहि चेतनामा बाँधिन विवश पारेको छ । विपत्तिको बेला परिवारसँग रहन चाहन्छन्, नेपालीहरुको यो मानविय पक्ष हो । यो बेला मृत्युको भयले देश परदेशबाट गाउँतिर दगुर्नेको ठुलो हुल छ । त्यस्तै छन मेरा गाउँलेहरु भारतका विभिन्न शहरमा मजदुरी गर्न पुगेका हाम्रा गाउँलेहरु घर आउने चक्करमा थिए ।
यता फोन हुँदा घरकाले पनि गाउँमा त कोरोना आएको छैन तर कोल्पुटार तिर कोरोना जाँच सुरु गरेको छ । जँचाएर घर आउ भन्ने नै भए । तर भारतिय लाहुरेहरु भएका गाउँलेहरु पनि के कम । कोरोना जँचाउने ठाउँभन्दा ५०० मिटर तल कोल्पुको पुलतिर झरेर कोल्पुको किनार-किनार लागे गाउँतिर । ल देखाओस् त सरकारले कोरोना जाँचेर हामीलाई ? यो हल्ला चल्दैगर्दा आउँदै गरेकोहरु त झन चलाख परेछन् उनीहरु त पृथ्विराजमार्गको सिम्ले खयरघारी महादेवबेसिबाट सिधैँ गाउँतिर हानिएछन् एक दिनको बाटो । लौ ! जाँचोस् त कोल्पुटारमा कोरोना ।
होम क्वारेन्टाइनको अभ्यासमा कोठामा थन्किएपछि सामाजिक सञ्जालमा एक गाउँले बहिनीलाई सोधेको थिएँ, के छ गाउँको खबर ? ‘अरु त उस्तै हो गाउँ आउनेहरुको लहर ठुलो छ ।’ उनी भन्दैथिइन् । त्योमध्ये माहामारी प्रभावित भारतको विभिन्न क्षेत्रबाट फर्किएकाहरु सयौँको सङ्ख्यामा छन् । गाउँमा तिनलाई कोरोना खतरनाक रोग हो सावधानी हौँ भन्दा भन्छन् रे, यो हावा खबर हो । उनीहरु हामी भन्दा तँ जान्ने छस् ? भन्दै हप्काउँदै गर्छन् । उनी भन्दै थिइन, सचेतना जगाउन केही गर्न सके हुन्थ्यो । उनीमा चिन्ता थियो तर गाउँलेहरुलाई न गाउँको चिन्ता । थियो त केवल परिवारको माया तर इटालीमा मरेको होस् कि चीनमा मरेका मान्छेहरु के मतलव । तर आफुले आफैलाई र आफ्नालाई त कतै मार्दै र रोग सार्दै छैनौँ यो चाहिँ चिन्ता थिएन उनीहरुलाई ।
सयौँ गाउँले यदि एकमात्रै संक्रमित भए कति गाउँ सोत्तर होला ? बहिनिलाई चिन्ता त्यही थियो तर उनको यो चिन्तामा चिन्तन गर्ने गाउँले कोही छैनन यो बेला गाउँमा । सामान्य ज्वरो रुघाखोकी जँचाउनु र सावधानी अपनाउन किन डराएका होलान् गाउँलेहरु ? बरु यस्तो अभियान चलाउँ, हरेक नाकामा चेकजाँच गरौँ, संक्रमित भए उपचार गर्ने पहल गरौँ ,सुरक्षित बसौ अरुलाई संक्रमण नगरौँँ र हाम्रो गाउँ पहिलो कोरोना संक्रमीत मुक्त गाउँ बनाउन लागी पारौँ न त्यसो गरे हुन्न र गाउले दाजुभाई ? यो भन्दा तासको खाल लुडो र क्यारेमबोटको झुण्डहरुमा भेटिन्छन् किन होला ?
उनको यो कुरा सुनेपछि मैले नुवाकोट जिल्लाको त्रिशुली अस्पतालका मेसु रेमकुमार राइलाई सम्पर्क गरेर केही जिज्ञासा राखेको थिएँ । उहाले भन्नुभयो, कोरनाको रगत परिक्षण यहाँ हुँदैन, केही आवश्यक समाग्रीको माग प्रदेशमा गरेको छु । उहाँको यति जवाफ काफि थियो, जिल्लाभरको स्वास्थ संस्थाको अवस्था बुझनलाई अब कुनै आइतबार कुर्न पर्दैन । गरिबको पसिना पिएर आएकाहरु आज डोजरको डिजेल पिउनलाई धक मान्दैनन् । तर गरिब जनताहरु उपचार गर्न जाने अस्पतालमा निशुल्क सलाईन पानीको व्यवस्था गर्ने शिक्षा तिनलाई देला कस्ले ?
यो एक क्षेत्रको मोटामोठी यथार्तता हो । देशको गाउँको नमुना पनि हो भन्न सकिन्छ । यस्तै होला देशका गाउँ गाउँ भन्ने अनुमान चाहिँ शहर बसेर गर्न सहजै सकिन्छ । सिमा नाकाका देखिएको भिडदेखि गाउँको यो अवस्थाले गाउँहरु गरीबको चिहान नबनुन । डोजरको खेतिमा रमाउनेहरुले नौमति बाजा बजाएर गरिब गाउँलेको चिहान नखनुन् । त्यही कथा हो आज देशैभरका गाउँमा सिंहदरबारहरुमा विराजमा राजाहरु डोजरको खेतिमा रमाउने र विकास र समृद्धी फुलाउने चेतनाले गाउपालिकाहरु जनस्वास्थमा बजेट राख्न किन जान्दैनन् । लेखक पुरुषोतम लम्साल सामाजिक सञ्जालमा लेख्छन्, चोर बाटोबाट गाउँ छिर्नेहरुका लागी ठाउँ ठाउँमा सेन्टी पोष्ट राख गाउँले हो । तिनलाई स्वास्थ परिक्षण नगरी समाजमा घुलमिल हुन नदेउ गाउँले हो । डिजेल पिउने र डोजरको खेतिमा रमाउने जनप्रतिनिधिहरुलाई भन्दिनु महामारी गाउँ छिर्यो भने भोलि नौमति बजाएर तिनलाई गुडिरहेको डोजर मुनि सुत्न लगाउनुपर्छ ।
आज गल्लीगौडामा भएको सानो लापरबाहीले ल्याउने भोलीको चिन्ताले हो हामीलाई भतभती मन पोलेको । यो दशै तिहार ल्होछार कुनै उत्सव महोत्सब होईन ।यो एक महामारी हो । छोरा छोरी रुँदै परदेशी क्वारेनटाइन आमा बाउ रुँदै गाउँघरको घरमा आइन भने जस्तो अवस्था नहोस् गाउँका यी वृद्धालयहरुमा । पहिलो नजर यता आओस् र दोस्रो नजर सस्तोमा श्रम बेच्न विवस बनाउने पुँजिवादी श्रमचोरहरुको राज्यमाथि जाओस् जहाँ हाम्रो श्रम पसिना बेचिएको छ उनीहरुको विचल्ली नहोस् । जसको कमाई रोमीटयान्सले यो व्यवस्थाको लाज ढाकीएको छ । यो प्रकोप जनस्वास्थ माथिको एक प्रकोप हो । स्वास्थको सवाल स्वास्थकार्मीहरु अगाडी मोर्चा रहन्छन् उनलाई सहयोग गर्नु साधन स्रोत उपलब्धता गराऔँ । आफैँ सावधानी र सचेचता अपनाउने जरुरी छ । आपतकालिन संयन्त्र निमार्ण सहयोग आदानप्रदान र सम्भावित जोखिम न्युनिकरणको पहल गरौ । मौजुदा प्रणाली भत्काउन तयार बनौँ जो चन्द्र शम्सेरको अड्डाजस्तो आगो लागेको तिन महिनामा दमकल पठाउने चेतना राख्छ ।
यो कोरोना झिल्कोले संसार डढाउने जौविक अस्त्र हो । मानवजातीले यसमाथि विजय गर्न हामीले पनि सकेको योग्दान गरौँ । अन्यथा जय जालपा जय भैरवी भन्दै कि त दुप्चेश्वर कि चिम्टेश्वर पुर्कादै गाउँलेहरुको चिहान खन्नुको विकल्प नहोला ।