काठमाडौँ ।
साहित्यकार मदन नेपालको मुक्तकसंग्रह ‘मनीषा’काे विमाेचन गरिएको छ । लिलाध्वज साहित्य प्रतिष्ठानको सभा हलमा साहित्यकार नेपालकाे मुक्तकसङ्ग्रह ‘मनीषा’को विमोचन गरिएको हाे । साहित्यकार विजयध्वज थापा,ज्ञानुवाकर पौडेल,प्रा.डा.गोविन्द मानसिंह कार्की,मुक्तक प्रतिष्ठानका अध्यक्ष रामप्रसाद कोने,शैलेन्द्र कुमार थापा लगायतले साहित्यकार नेपालकाे मुक्तकसंग्रह ‘मनीषा’ कृतिकाे विमाेचन गर्नुभयो । हामी र हाम्रो कृति समाजको आयोजनामा भएको कार्यक्रममा प्रा डा. गोविन्दमान सिंह कार्कीले कृति माथि समीक्षा गर्दै मनीषा अरु नेपाली साहित्य बजारमा प्रकाशित गरिएका मुक्तकसंग्रह भन्दा विल्कुल फरक ढंगले आएको बताउनुभयो ।
उहाँले कृतिमा मुक्तकको सैद्धान्तिक पक्ष सहित विभिन्न अग्रज र समकालीन मुक्तककारहरुले दिएका शब्दहरुमा मुक्तककारले सिर्जना गरेको बताउनुभयो । शुभकामना मन्तव्य राख्दै मुक्तक प्रतिष्ठानका अध्यक्ष रामप्रसाद कोनेले स्रष्टाको कार्यको उच्च प्रशंसा गर्दै ढिलो आएको तर सुन्दर कृति आएको टिप्पणी गर्नुभयो । कार्यक्रममा विभिन्न कविहरुले मनीषामा समावेश मुक्तकहरु वाचन गरेका थिए । कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै असल कार्यको निम्ति मदन नेपाल धन्यवादका पात्र भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार विजयध्वज थापाले असल कर्ममा आफ्नो तर्फबाट सदा साथ सहयोग रहने बताउनुभयो । भुवन शिवाकोटी चौघरेले सञ्चालन गर्नुभएको कार्यक्रममा नम्रता उप्रेतीको स्वागत मन्तव्य रहेको थियो । २ सय ५१ वटा मुक्तक समावेश भएको उक्त कृति हामी र हाम्रो कृति समाजले प्रकाशन गरेको हाे ।