जनार्दन मुडवरी
बेल्कोट-नुवाकोट
कुम्भकर्ण निद्रामा लमतन्न हुनेगरी
सराबको नशा अनि एकोहोरो सोच
बिहान उज्यालो भैसक्यो
हिजो बेलुका ठुल्दाईले पैसा तिरिदिएको
सराबको नशा अझै उत्रीएको छैन् ।
भरे फेरी सन्तेको जक्सनमा
ठुल्दाईको नाउँमा
दुइचार बोत्तल रौसी अनि सुकुटीसँगै
हिजोराती ठुल्दाईकै नाउँमा ल्याएको
पाईलट चुरोट
दुईचार ठुटा अझै बाँकी छ ।
चुनाउ आउँदा झण्डा बोकेर
अघि अघि हिँडेकै थिएँ
उबेला पनि दाईकै नाउँबाट सन्तेकोमा खाईयो
झन्डा बोकि बोकि ठुल्दाईलाई जिताईयो
मलाई के को पार्टी के को सिद्धान्त चाहियो?
दुईचार पैसा मैले नी खल्तीमा हालेकै थिएँ
दशबिस जनालाई मैले नी सन्तेकोमा खिलाएकै थिएँ
ठुल्दाईले चुनाउ जितेदेखि
बाटाघाटा सबैका ठेक्का
उनकै मान्छेले पाएकै छन् ।
राजनीति जे सुकै होस् मलाई के मतलव?
जे जे भन भन्छन् ठुल्दाईले
त्यसै त्यसै भनि हिँड्ने हो
बिरोध कसैले गरोस् मात्रै
ठुल्दाईकै नाम लिएर भिड्ने हो
मलाई बाल ?
Recent Comments