विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा.आकाश यादवले विरामी भएर हस्पिटल ल्याएको जिउँदै नवजात शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि हातपात भएको छ ।
स्वासप्रश्वासमा समस्या भएपछि कोशी ल्याएको १८ दिनको नवजात शिशुलाई डाक्टर यादवले आज बिहान राम्रोसँग स्वास्थ्य उपचार नगरी जिवित बच्चालाई मृत घोषणा गरिदिएका थिए ।
मोरङको जहदा गाउँपालिका–३ भातिगन्जकी उमा मुखियाले कोशी अस्पतलामा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन् । नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी नवजात शिशुको तौल १ किलो चार सय ग्राम थियो । हस्पिटलमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइयो ।
विराटनगर ८ मधुमारा माइती घर रहेको मुखियाले छोरीलाई जन्म दिएपछि माइतीमा बस्दै आएकी थिइन् । उनका श्रीमान् दिलिप मुखिया हुन् । उनी एम्बुलेन्स चालक हुन् । मुखिया कोशी हस्पिटल बाहिर बस्ने गर्दछन् ।
छोरीलाई स्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पतीले आज बिहान आठ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा लिएर आएका थिए । ड्यूटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवहरू लक्ष्मण माझी र टिका भण्डारी रहेका थिए ।
आकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले स्वास्थ्य जाँच गरेका थिए । ‘त्यसपछि हामीलाई डाक्टरले भने, ‘छोरीको सास छैन । घर लैजानु,’ शिशुका बुबा मुखियाले भने । डाक्टरले यति भनेको खबर सुनेपछि शिशुको आमा उमा र आफन्तको आकस्मिक कक्ष बाहिर रुवाबासी सुरू भयो । ‘मैले श्रीमतीलाई समात्न थाले । तेही बीचमा जेठानी दिदीले छोरीलाई बोक्नुभएको रहेछ । आकस्किम कक्षको शैय्याबाट छोरीलाई बाहिर लिएर आउनुभयो । छोरीले हातखुट्टा हल्लाइन् । त्यसपछि थाहा भयो । जिउँदो मेरो छोरीलाई डाक्टरको लापरवाहीले मृत भनिदिएको रहेछ,’ दिलिपले भने, ‘विरामीको उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कडा कारवाही हुनुपर्दछ ।’
अहिले दिलिपले छोरीको उपचारको लागि कोशी अस्पतालदेखि एक सय मिटर दक्षिणमा रहेको गोल्डेन अस्पतालमा राखेर उपचार गर्दैछन् । छोरीलाई अहिले एनआइसियूमा राखेर उपचार सुरू गरिएको छ । ‘अहिले गोल्डेनमा हस्पिटलमा राखेर छोरीको उपचार सुरू गरेको छु,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकले पनि छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताउनुभएको छ ।’
मृत घोषणा गर्ने चिकित्सकमाथि कुटपिट
उपचारमा लापरवाही गरी जिउँदो नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लागउँदै कोशी अस्पतालको अकस्मिक कक्षको डा. आकाश यादवलाई कुटपिट गरिएको छ । नवजात शिशुको आफन्तहरुले डा. यादवलाई कुटपिट गरेका हुन् । कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोटपटक लागेको छ ।
चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दिलिप मुखियाले बताए । कोशी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको बताइएको छ ।
कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले घटना विषयमा बुझने काम भइरहेको बताए । ‘नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्न थिएन । सास पनि चलेको थिएन उपचारमा संलग्न चिकित्सकले भनेका छन् । त्यस विषयमा बुझने काम भइरहेको छ,’ उनले भने, ‘यदि उपचारमा लापारबाही भएको पाइएपछि हस्पिटलले एक्सन लिनेछ ।’
- हाम्रोमत डटकममा समाचार छ ।