–जानुका धमला
सुन्दर सपना बोकेर जनयुद्धको बाटोमा हिडेको पनि १२ वर्ष बितिसकेको थियो । मुत्ति वा मृत्युलाई स्वीकारेको मेरो किशोर अवस्था फेरी अर्को भागदौडको अर्को अध्यायलाई अंगाल्नु पर्दा हृदयको एक कुनामा आलो घाउ जस्तो दुखिरहन्छ । गणतन्त्र प्राप्तिको लागि कपन बाँधेर युद्ध मोर्चामा होमिएको म आज शरीरमा गोलीको डोब र बमको छर्रा बोकेर मेरो शरीरको रगत र मेरा प्रिय आफन्तहरु गुमाएर ल्याएको गणतान्त्रिक देश नेपालबाट बिदेसिन बाध्य छु । खाना र नानाको लागि, छाना त अलि परको कुरा ।
अरस्तुले भने जस्तै जीवन आशाको त्यान्द्रो रहेछ हिँडिरहने सपना जस्तै । सपना देखेर नै पुरा हुन्छ भने जस्तै म जुन सपना देखेर आन्दोलनमा होमिए शान्ति सम्झौतापश्चात ५ वर्ष अस्थायी शिविरमा बसें । स्वेच्छाले बाहिर निस्किएँ । शिविरबाट बाहिर निस्कँदाको समय र परिवेश निकै परिवर्तन भैसकेको रहेछ । समाजमा पुनर्स्थापना हुने कुरा थियो तर पुनर्स्थापना हुन कहाँ सजिलो रहेछ र ?
हिजो पो सरकारले दाल चामल किन्ने पैसा पठाईदिन्थ्यो । शिविरबाट निस्किएपछि त त्यो सबै टुट्यो । शिविरबाट निस्कदाँ स्थिति झनै असहज बन्यो । न बस्ने घर न खाने कुरा । युद्धबाट फर्केपछि समाजले हेर्ने नजर झनै फरक । सबैको हेलाको पात्र बनेपछि कता कता पश्चतापको भुमरीमा परेजस्तो भयो ।
देशमा तन्त्र बदलियो, संविधान बदलियो तर मेरो लागि चाहिने आधारभूत आवश्यकताहरु बदलिएका थिएनन् । म फेरी उही १५ वर्ष पछाडी धकेलिएँ । जीवन संघर्ष नै संघर्षको घेरो त रहेछ । बम र बारुद्धसँग बर्षौ लडेकी म फेरी जीवनको अर्को संघर्षमा होमिए । संघर्षको अर्को यात्रा त्यहीबाट सुरु भयो ।
समाजबाट एक्लिन मान्छेलाई केही बेर नै नलाग्ने रहेछ । देशका लागि लडेर युद्धको मोर्चाबाट बाहिर आएकी म चितवनमा डेरा लिएर बस्न थालें । तर समाजले मलाइ माओवादीको विल्ला यसरी लगाईदियो कि मैले सबैको मुक्तिका लागि लिएको बाटो नै कमजोरी जस्तो भान भयो । समाजले मलाई अपराध गरेर भर्खर जेलबाट निस्केको कैदीजस्तो व्यवहार गर्यो ।
मैले मेरै शरीरको रगत बगाएर ल्याएको गणतन्त्रमा म आफैं अपमानित हुनुपर्छ भन्ने मेरो मगजमै थिएन । आफैँले लडेर स्थापना गरेको गणतन्त्रले मलाई अपमान दियो कि मैले मलाई नै अपमान गर्ने समाज स्थापनाका लागि गणतन्त्रका लागि भन्दै लडें । यी पीडाहरु न कसैलाई सुनाउन सक्छु न यो सबै बिर्सेर आफुलाई बलियो बनाउन सक्छु ।
म हिजोको त्यो योद्धा थिईन । म त युद्ध हारेको खजाना सकिएको सिपाहीजस्तो । म त अरु कसैको खेतबारीमा काम गर्ने ज्यामी जस्तो हप्की धम्की र त्रासमा बाँच्नुपर्ने स्थितिमा पुगेको थिएँ । मलाई युद्धबाट बाँचेर उम्केको होईन कि झनै कहालीलाग्दो जीन्दगीमा भासिएजस्तो भयो । अरु सहयोद्धाहरुसँगै म किन शहीदको सुचिमा थपिईन । एउटा युद्ध जितेकोमा मलाई यती पछुतो होला भन्ने कल्पना पनि थिएन । मरेकै भए न कसैले नचिनेरै शहीद हुन्थें तर घाईते र अधकल्चो शरीर लिएर समाजसँग लड्नु एउटा युद्ध लड्नुभन्दा भिषण रहेछ ।
म घाईते शरिर बोकेर कहाँ डुलुँ ? मलाई भोगिसकेको विगत र भोगिरहेको वर्तमान भन्दा पनि भविष्यले पिरोल्न थाल्यो । मैले देखेको भोलीमा त अपमान र घृणामात्रै थियो । जुन समाजको परिकल्पना गरेर जसका निम्ति भनेर जीवनलाई हत्केलामा राखेर लडेँ त्यो व्यवस्था ल्याईसक्दा रमाएर बोल्ने अधिकार पाएकाहरुले कुन अधिकारले हेपेका छन् मलाई कुनै भेउ पाइरहेकी थिईन ।
म सपनाहरु बोकेको एउटा युद्धको कमाण्डर थिएँ, मैले लडेर ल्याएको व्यवस्थाले अरु सबैलाई बलियो बनायो तर मलाई निकम्मा । म टुक्रिएको शिशासमान । म हिजो आन्दोलनका लागि आवश्यक उर्जा थिएँ तर आज म युद्धको घाईते सिपाही कामै नलाग्ने बनेँ र जसका लागि हिजो शक्ति थिएँ उनै मान्छेहरुबाट एक्लिएँ ।
म फेरी उही १५ वर्ष पछाडी फर्किएँ अनि अजंगको आँटलाइ बटुलें । हिजो म सबै कुरा गर्न सक्थें । के आज म फेरी मेरो जीवनलाई नयाँ तरिकाबाट अगाडि बढाउन सक्दिनँ ? आफुले आफैलाई प्रश्न गरें र राहदानी बिभाग पुगेर एकथान हरियो पासपोर्ट लिएँ । भविष्यविधाता त आफै हो भनेर आँट गरेँ ।
मैले अर्को जीवन जिउन सुरु गरें तर ठोक्किए त फेरी उनै युद्धमोर्चाका सहयोद्धा कमाण्डर । हिजोका कमाण्डरको नियती म आफैले ल्याएको व्यवस्थाबाट भाग्न खोज्दै थिएँ । मलाई भगाउन दलाल बन्नेहरु थिएँ उनै कमाण्डर । कमाण्डर त दलालमा फेरिएछन् ।
म मेरा कमाण्डरको सहयोगमा उडे गोलीका दाग र बमका छर्रासँगै खाडितिर । जहाँ मेरो कोही थिएन । मेरो देशको माटो छोडेरर गएको ठाउँले मलाई ति खुसी दिन सकेन जुन खुसी म देशका लागि लडेर रगत बगाउँदा बटुलेकी थिएँ । जतिजति दिनहरु बित्दै जान्थे झन् सकसपूर्ण थिए ति । म त्यो परिबेश संग बाँच्न सक्ने अवस्थामा नै रहिन । फेरी सम्झे म एउटा युद्ध सम्हालेको मान्छे त्यहाँको परिवेशले मलाई भुलाउन सकेन बरु म निरासाको भुमरीमा रोमलिएँ, कम्पनीको मालिकको व्यवहार र नेपाली चेलिबेटिहरुको व्यवहारले दिक्क थिएँ । डिउटि जान मनै भएन डिउटि नगएपछि कम्पनीको मालिक आएर भन्यो मेरो ३ हजार रियल फिर्ता गर अनि जा मैले कहाँबाट ल्याउनु ३ हजार रियल ?
न टिकट काट्ने पैसा छ न मालिकलाई तिर्ने पैसा । म अहिले पनि चिन्दिन उनि को हुन् र कहाँ छन् तर बुटवलको कुसुम शर्मा भन्ने व्यक्तिले मेरो टिकटको व्यवस्था गरिदिए र भने, नेपाल फर्कनुस् यहाँ छोरीमान्छेहरुको लागि निकै गाह्रो छ । अमिलो मन लिएर नेपाल फर्किएँ । मेनपावर दलालले ३ लाख फिर्ता दिएन मैले बिन्ति गरे मेरो लागेको पैसा कटाएर अरु दिनुस् भन्दा म अस्ति भर्खर विराटनगरमा भएको मजदुरको अधिवेसन बाट ३ लाख चन्दा दिएर तपाइहरुको पार्टीको क्षेत्रीय सदस्य भएको मान्छे हुँ र मैले तपाइको नेताहरुलाई मासिक यसरी यति पैसा बुझाउछु । कमाण्डर दलालले नेताको नामको चेक देखाए र भने फेरी पैसा माग्न आइस् भने पुलिस बोलाएर खोरमा पठाइदिन्छु । दुःखमा सबैले सम्झने भनेको भगवान रहेछ मैले नि पुकारे ढुंगालाई । जिउँदा मान्छेले नसुनेको कुरा ढुंगाले सुन्ने कुरै थिएन । म भासिएको खाडलबाट माथी उक्लने मेसै पाईन । मुक्तियुद्ध लड्नेहरुले यस्तै नियती भोग्नुपर्छ हो ?
म फेरी उठ्ने दुस्साहस गरें । टिभिमा देखिएको विज्ञापनको पछि दगुर्दै म मानव तस्करको शरणमा पुगेँ । सबै प्रकृया पुरा गरेर म जान मिल्ने त भयो तर कुर्नुपर्यो तीन महिना । जसका लागि तीन घण्टा तीन बर्षजस्तै थियो उसका लागि तीन महिना ? म देशभित्रै अवसर खोज्न थालें । योग्यताले जागिर खान खोजेकी मैले कमरेडहरुलाई घुस खुवाउनुपर्ने भयो । १० हजारको जागिर खोज्ने मलाई मेरै कमरेडहरुले १० लाखको घुस कसरी माग्न सके थाहा छैन ।
कतैबाट पार नलागेपछि दैव पनि हार खाँदो हो । त्यसैले तीन महिनापछि हुने भनेको काम एक महिनामै हुनेभयो । अर्को एकमहिनामा सबै प्रकृया पुरा गरेर म फेरी उड्नेभए आकाशको बाटो । म पटक पटक जीन्दगीसँग पछारिएको मान्छे । संघर्षले खारिएको मान्छे । फेरी अर्को संघर्ष मेरा लागि नौलो थिएन । अर्को साहस बटुलें र नयाँ यात्रा तय गरें ।
आँगनबाट पेरिस कम्युन नियाल्दा
अघिल्लो साता यहि आँगनबाट ८ मार्चको दिनलाई सम्झँदै गर्दा महिला हक, महिला अधिकार, समान अधिकार, लैंगिक अधिकार, लैंगिक समानता, महिला शसक्तिकरण, नारीमुक्ति, योग्यता र प्रतिभाका आधारमा महिलालाई स्थान र अवसर आदि इत्यादि आदर्श, सिद्धान्त र पदावलीहरु परिवर्तनकारी यात्राको बाटोमा होमिने बेलासम्म गम्भीर विषय हो भन्ने नै लागेन । महिला दिवस किन मनाइन्छन् ? महिला दिवसको औचित्य के हो ? महिला अधिकारको सवाल कहाँबाट कहाँसम्म जोडिएको छ ? महिला मुक्ति सम्भव छ ? हामी सबैखाले दासताबाट मुक्त त हुन्छौं ? यस्ता सवालहरु जनयुद्धको मोर्चामा सामेल नहुँदासम्म मेरा लागि गौण विषय नै थिए । त्यसैले अन्तर्राष्ट्रिय महिला दिवसलाई सामाजिक राजनीतिक कार्यक्रमको रुपमा मैले कहिले मनाएँ भनेर सम्झीएँ ।
यहि भुमिबाट हिजो युद्धमोर्चामा संगै लड्दाको साथि महिला कमाण्डर लिला ब्लोन (सुचना) संग कहिलेकाहीँ विगतको यादहरु साट्दै गर्दा यो कुराको पनि स्मरण गर्ने मन लाग्ने रहेछ जसरी पेरिस कम्युनको बेलामा महिलाहरुले दुश्मनाहरुका हतियार खोसेर उनीहरु बिरुद नै प्रहार गरेका थिए त्यो हामीले लडेको जनयुद्धमा पनि अनुभव गरेको कुरा हो । यदि पेरिस कम्युन आन्दोलन नभएको भए नेपालमा जनयुद्धको यात्रामा लाखौँ महिलाहरु सहभागी हुने पनि थिएनन् । महिलाहरु कमजोर होइन अवसर पाएमा हरेक क्षेत्रमा आफुलाई पुरुषभन्दा अब्बल गराउन सक्छन भन्ने उदाहरण पनि हो ।
नेपाली समाजको सापेक्षतामा अर्थ खोज्दा पेरिस कम्युन किन सम्झन आवश्यक छ भने त्यसले पुँजीपतिहरूले जस्तो व्यापार र श्रमको शोषणको अविराम उपलब्धलाई स्वतन्त्रताको रूपमा गरिने व्याख्यामाथि लगाम लगाइदियो । समानताको कुलीन व्याख्या जहाँ उच्चवर्गको हैसियतअनुसार भागबन्डा हुन्छ, त्यसमाथि पेरिस कम्युनले धावा बोल्यो । श्रम र पुँजीबीच हुने बाँडफाँडमा अपनाइने भाइचारा सम्बन्धमाथि उलटफेर गरिदियो । दासताबाट मुक्ति, शोषणबाट मुक्ति त छँदै छ पेरिस कम्युनले समाजको वर्गवर्गबीचको विभाजनको पनि अन्त्य सम्भव छ भन्ने शिक्षा दियो । यसैले तपाईंले आफ्नो समाजको, देशको, व्यवस्थाको रूप र चरित्र हेरेर हामी कुन स्तर र अवस्थामा छौँ भन्ने अनुमान गर्न सक्नुहुन्छ । त्यसकै लागि आज पेरिस कम्युनको सन्दर्भ उठान गरिएको हो ।
हामीले पेरिस कम्युनलाई वर्गसङ्घर्षको विकासको चरणअनुसार सम्झियौँ भने, मार्क्स र एङ्गेल्सले कल्पना नगरेको वर्गसङ्घर्षको रूपरेखा तयार गरेको रूपमा बुझ्दा फलदायी होला । पेरिस कम्युन गठनलगत्तै जारी भएको कम्युनिस्ट घोषणापत्रको संशोधित संस्करणले त्यही भन्छ । खासगरी पुरानो सत्ताको यावत् तन्त्र र अवयव कायमै राखेर क्रान्तिकारीहरूले त्यसलाई आफूअनकूल उपयोग गर्न सक्दैनन् र त्यसबेला कुनैपनि विद्रोही सत्ता निकट भविष्यमै गर्ल्याम्मै ढल्छन् भन्ने सन्देश पेरिस कम्युनले दिन्छ । जन्म दिनको शुभकामना पेरिस कम्युन मार्च १८ ।