सेयर
काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक अधिकारबिना प्रेस स्वतन्त्रता सम्भव नहुने बताउनुभएको छ । नवौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवास शीतल निवासमा भएको कार्यक्रममा बोल्दै मन्त्री शर्माले हिजोका ठूलाठूला राजनीतिक परिवर्तनका सङ्घर्षमा नेपालको पत्रकारिता क्षेत्रले परिवर्तनको महत्वपूर्ण हिस्साका रुपमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । मुलुकको समग्र विकासका लागि राजनीति र पत्रकारिता सँगसँगै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । ‘अब राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बदलिएको व्यवस्था अनुकूल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक छ ।’ उहाँले भन्नुभयो ।
नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्र प्रकाशन आरम्भ भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । यो वर्ष ‘सूचनामा नागरिकको पहुँच र अधिकार, जवाफदेही पत्रकारिता सुरक्षित पत्रकार’ भन्ने मूल नारासहित राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । आजभन्दा १२३ वर्ष पहिले विसं १९५८ वैशाख २४ गते नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाश आरम्भ भएको थियो ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वरिष्ठ पत्रकार सम्मान २०८० बाट प्रतीक प्रधान र त्रिभुवन पौडेल (मरणोपरान्त) तथा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानी सिंह ऐर, दीपक ज्ञवाली, त्रिप्ती शाही र प्रेमबहादुर कार्की ढोली (राजन केडी) लाई पुरस्कृत गरिएको छ ।
shere this