काठमाडौँ ९ असोज ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाउनुभएको हो ।
३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । २०६२/०६३ को आन्दोलनपश्चात प्रेस काउन्सिलको सदस्यका रूपमा नियुक्त श्रेष्ठलाई सरकारले पटक पटक सदस्यमा नियुक्त गरेको थियो ।
काउन्सिलको एक कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने यथावत् रहनुहुनेछ । श्रेष्ठको पदावधि यही असोज १२ गते सकिँदैछ । सदस्य र कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ, ‘तीन वर्षदेखि पदीय हिसाबले कार्यकारी भूमिका निर्वाह गरेको अवधि तपाईं–हाम्रा निम्ति कठिन थियो’ राजीनामापत्रमा भनिएको छ, ‘प्रेस काउन्सिल मात्र होइन, समग्र पत्रकारिता जगत्को स्वतन्त्रताको जगेर्ना र हित प्रवद्र्धनमा सुरुदेखि नै सङ्घर्ष गर्दै आउनुपरेको क्षण अत्यन्तै रोमाञ्चक र चुनौतीपूर्ण रह्यो ।’
कार्यवाहक अध्यक्ष श्रेष्ठले पदमा रहँदा सरकार र साथीसँगै स्वायत्तताको निम्ति लडाइँ लड्नुपरेको बताउनुभएको छ । ‘बीचका केही वर्ष आफ्नै साथी, सहकर्मी र नेपाल सरकारसँग संस्थाको स्वायत्तताको निम्ति कठोर लडाइँ लड्नुपरेको सर्वविदितै छ ।’ राजीनामापत्रमा भनिएको छ । उहाँले संस्थामा रहँदा निर्वाह गरेको भूमिकाप्रति कुनै पश्चाताप नरहेको भन्दै यसबीचमा काउन्सिलको प्रभाव विस्तार देशको पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म पुगेको र विश्वका अनेक महादेशसम्म सम्पर्क सम्बन्ध विस्तार गर्न सफलता मिलेको बताउनुभएको छ ।
काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी
प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन हुनुभएको छ । आज कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो । साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा सदस्यमा नियुक्त गरेको थियो । बुढाथोकीले आजै पदभार ग्रहण गर्नुभएको छ ।
कार्यवाहक अध्यक्ष श्रेष्ठको राजीनामाको पूर्ण पाठः
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट राजीनामा पत्र
पृय सहयोद्धाहरु,
प्रेस काउन्सिल बोर्ड ।
हामी सबैको श्रद्धाको केन्द्र प्रेस काउन्सिल नेपालमा मेरो एक दशकभन्दा लामो समयदेखि श्रम, सीप, अनुभव, समय सदुपयोग हुँदै आएको छ । आफ्नो पेशासंग सम्बन्धित स्वतन्त्र, स्वायत्त, अविच्छिन्न उत्तराधिकारवाला, अर्धन्यायिक निकाय प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारीबाट आजका मितिदेखि राजीनामा दिएको छु ।
लोकतन्त्र प्राप्तिको लागि लडिएको २०६२÷६३ को आन्दोलनसंगै उत्पन्न खुकुलो र गणतान्त्रिक वातावरणमा काउन्सिल बोर्ड सदस्यको जिम्मेवारी सम्हाल्ने मौका पाएको थिएँ । दशक बढी समय आफ्नो क्षमता, बुताले भ्याएसम्म नेपाली मिडिया क्षेत्रलाई विश्वसनीय, शुद्ध, कर्तव्यपरायण, जिम्मेवार बनाउन पूर्वाग्रह नराखी, कसैप्रति काखापाखाको व्यवहार नगरी जेजति भूमिका निर्वाह गरेँ, त्यसप्रति गौरव गर्दछु साथै यो संस्था र तपाइँहरुले जिम्मेवारी प्रदान र विश्वास गरेकोमा आजीवन आभारी रहनेछु ।
तीन वर्षदेखि पदीय हिसाबले कार्यकारी भूमिका निर्वाह गरेको अवधि तपाइँ–हाम्रा निम्ति कठिन थियो, प्रेस काउन्सिल मात्र होइन, समग्र पत्रकारिता जगत्को स्वतन्त्रताको जगेर्ना र हित प्रवद्र्धनमा शुरुदेखि नै संघर्ष गर्दै आउनुपरेको क्षण अत्यन्तै रोमाञ्चक र चुनौतीपूर्ण रह्यो । यी सबै चुनौती र अप्ठ्यारा पार गर्न सिङ्गो टिमले दिएको साथसहयोगप्रति आभारी छु । यसबीच प्रेस काउन्सिल राष्ट्रको कुनाकाप्चा अर्थात पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म आफ्नो पहुँच, प्रभाव विस्तार गर्न सफल भएको छ । विश्वका अनेक महादेशसम्म आफ्नो सम्पर्क, सम्बन्ध विस्तार गर्न सफलता मिलेको छ । यसको जस संस्था, यसका सम्पूर्ण सदस्य, कर्मचारीजन, नेपाल सरकार, न्यायालय, नेपाल पत्रकार महासंघ, देश–विदेशका शुभेच्छुकहरु, सरकारकै केही मन्त्री, सचिव र जिम्मेवार पदाधिकारीहरुसहित समस्त नेपाली मिडियाप्रति समर्पित गर्न चाहन्छु । संस्था वा संस्थाका सहयोगी हात थिएनन् भने एक्लैले केही गर्न सम्भव थिएन ।
बीचका केही वर्ष आफ्नै साथी, सहकर्मी र नेपाल सरकारसँग संस्थाको स्वायत्तताको निम्ति कठोर लडाइँ लड्नुपरेको सर्वविदितै छ । यो संघर्षमा हामी कति सफल भयौं, कति उपलब्धि हासिल गर्न सक्यौं ? इतिहासका पानामा लेखिनेछ र भावी सन्ततीले त्यसको निष्पक्ष मूल्यांकन गर्ने नै छन् । संस्थामा रहेर मानवीय अनेकन कमजोरीसहित जेजति भूमिका निर्वाह गर्न सकें, त्यसप्रति किञ्चित पनि पश्चाताप छैन । बरु संधै गर्विलो स्मरण रही रहनेछ । खुशी यस मानेमा पनि छु कि उमेर, अनुभवले हामीभन्दा परिपक्व व्यक्तिलाई कार्यवाहक अध्यक्षको कार्यभार (तीन वर्षदेखि सम्हाल्दै आएको जिम्मेवारी) हस्तान्तरण गर्ने अवसर प्राप्त भएको छ । आफूपछिको पुस्ता या टिमले पनि यो संस्थाको स्वतन्त्रता र स्वायत्तताको जगेर्ना उत्तिकै निडर, लगन, इमान्दारिताको साथ गर्नेछ भन्ने दृढ विश्वासमा छु । म जहाँ जाऔंला, जस्तो अवस्थामा रहुँला, यो संस्थाप्रतिको माया, स्नेह, सम्मानमा कुनै कमी हुने छैन, तपाइँहरुसँगको साथसहयोग सदा रही रहनेछ । विगतप्रति सन्तुष्ट छु र जानअञ्जानमा केही कमिकमजोरी, भूल भएको भए यहाँहरुबाट प्राप्त हुने अमूल्य सुझावलाई शीरोधार्य गर्नेछु । राम्रो उद्देश्यले केही असल कर्म गर्न खोज्दाखोज्दै कसैको मन दुखाएको वा कमजोरी देखिन गएको भए त्यसनिम्ति क्षमा प्राप्त हुनेछ भन्ने आशा एवं अपेक्षासमेत गर्दछु ।
कार्यकाल समापन अगावैको यो राजीनामालाई संस्थाको बृहत्तर हित, नेपाली पत्रकारिता जगत्को स्वाभिमान उच्च राख्नमा एउटा इँटा भएपनि थपिने अभियानको रुपमा लिनुहुनेछ भन्ने विश्वास लिएको छु । आजसम्मको सहकार्यको निम्ति सबै सबैप्रति हार्दिक नमन गर्दछु । धन्यवाद !
……………..
किशोर श्रेष्ठ
कार्यवाहक अध्यक्ष
प्रेस काउन्सिल नेपाल
२०७७ असोज ९ गते, शुक्रबार
Recent Comments