काठमाडौं (कस)
सरकारले लेखक एवं प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुख अनिल शर्मा विरहीलाई पक्राउ गरेपछि पार्टी महासचिव विप्लवले कडा प्रतिक्रिया दिएका छन् । आज विरही पक्राउबारे वक्तव्य निकालेर महासचिव नेत्र विक्रम चन्द विप्लवले कोरोना महामारीका बीच पार्टीले कारबाहीप्रकृया स्थगन गरेका बेला सरकारले आतंक र हिंसा मच्याउन खोजेको बताएका छन् ।
पार्टी केन्द्रीय सदस्य विरहीसँगै इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला चितवन जिल्ला सेक्रेटरी दुर्गासहित अन्य थुप्रैलाई प्रहरीले पक्रेको नेकपाले जनाएको छ । सरकारले आफ्नो असफलता र बदनामीबाट ध्यान मोड्न षडयन्त्र गरिरहेको भन्दै विप्लवले यसतर्फ सबैको ध्यानाकर्षण गराएका छन् ।
‘आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षडयन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’ विज्ञप्तीमा भनिएको छ ।
विप्लवले कार्यकर्तालाई सरकारी दमनको भण्डाफोर गर्ने मानसिकतामा रहन निर्देशन दिएका छन् । ‘केपी सरकारको अमानविय दमनको व्यापक भण्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन गर्दछ ।’ विज्ञप्तिमा लेखिएको छ ।