काठमाडौँ ।
विभिन्न २० वामपन्थी संगठनहरुले कार्यगत एकता गरेको घोषणा गरेका छन् । एकताका सन्दर्भमा एक वक्तव्य जारी गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी पी गजुरेलले वामपन्थी भनेर देशमा शासन चलाइरहेको पार्टीको एकलौटी सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्ने होइन कि तिनलाई झन् झन् विकराल बनाउने काम गरेर वामपन्थी भन्ने शव्द प्रतिनै वितृष्णा पैदा गराइरहेको बताएका छन् ।
एकता घोषणापछि “देशमा उत्पन्न समस्या र तिनको निकास” विषयक बृहद् अन्तरकृया कार्यक्रम गर्दै वामपन्थी संगठनहरुले राष्ट्र र जनताका अगाडि उपस्थित विकराल समस्याको समाधानका लागि समग्र पत्रकार, वुद्धिजीवि, समाजका सबै परिवर्तन पक्षधरहरुलाई उक्त कार्यक्रमको जुममा जोडिएर संघर्षमा योगदान पुर्याउनको लागि पनि आह्वान गरेका छन् ।
कार्यगत एकता गर्नेमा नेकपा(मशाल), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माले), राष्ट्रिय जन मोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा(माओवादी केन्द्र), राष्ट्रिय जागरण मंच, जन समाजवादी पार्टी, नेकपा(संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा(बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम् सी सी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा(माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) रहेका छन् ।
अन्तरक्रिया नेकपा(बोल्शेविक) पार्टीले प्रस्तुत गरेको प्रस्ताव
नेपाली क्रान्तिका ८ जादूगरी हतियारहरू वारे नेपाल कम्युनिष्ट पार्टी(वोल्शेभिक) केन्द्रिय समितिले २० दल को बृहत अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रस्ताव
देशको वर्तमान समस्याका कारणहरू तथा त्यसको समाधानकालागि फागुण ७ गतेवाट नयाँ वृहत संयुक्त जनआन्दोलन गर्न र अहिले त्यसको तयारी गर्नकालागि नेपाल कम्युनिष्ट पार्टी(वोल्शेभिक) केन्द्रिय समितिले २० दल को बृहत अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रस्ताव
देशमा उत्पन्न समस्याको कारण र प्रकृति वारे नेपाल कम्युनिष्ट पार्टी(वोल्शेभिक)को विश्लेषण निम्न अनुसार रहेको छ —
१) वर्तमान व्यवस्था र सरकार दुबैले दास कालिन अवशेष, सामन्ती अवशेष वर्ग, दलाल तथा नोकरशाही पूँजीपति वर्ग र विदेशी साम्राज्यवादी पूँजीपति वर्गको स्वार्थको प्रतिनिधित्व गर्दछ ।
२) सत्ताधारी डवल नेकपाले उपरोक्त प्रतिक्रियावादी वर्गहरु कै स्वार्थको प्रतिनिधित्व गर्दछ । वर्तमान ओली सरकार र राज्यब्यवस्था देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिको सरकार र राज्यब्यवस्था नभएर दासकालिन अवशेष, सामन्ती अवशेष वर्ग, दलाल तथा नोकरशाही पूँजीपति वर्ग र विदेशी साम्राज्यवादी पूँजीपति वर्गको स्वार्थ प्रतिनिधित्व गर्ने सरकार र व्यवस्था हो । वर्तमान ओली सरकारलाई देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिको सरकार भन्नु गैर माक्र्सवादी दृष्टिकोण हो ।
३) संविधान कानूनमा राम्रा मीठा कुरा जे जस्तो लेखिएपनि र पहिलेको राजतन्त्रात्मक लोकतन्त्र भन्दा अहिलेको गणतन्त्र एक कदम अगाडिको व्यवस्था भएपनि यसको वर्गीय सार फेरिएको छैन ।
४) तात्कालिन नेकपा(माओवादी)को प्रमुख नेतृत्वले क्रान्ति, पार्टी र जनतालाई धोका दिएर जनसेना, जनसत्ताको विघटन गर्दै अहिले वचेखुचेको पार्टी पनि ओलीलाई वुझाउन लागेका छन् । प्रचण्ड गुटले आफ्नो वर्ग परिवर्तन गरेर दलाल तथा नोकरशाही वुर्जुवा वर्गमा रुपान्तरण गरेका छन् । यो पनि देशको समस्या तीब्र पार्ने एक प्रमुख कारण हो ।
५) ओली गुटले मदन भण्डारीको देशभक्तिपूर्ण र जनवादी वाटो तथा लक्ष्य समेत परित्याग गरेर देश र जनता प्रति धोका दिएर दलाल तथा नोकरशाही वुर्जुवा वर्गमा रुपान्तरण गरेकोले देशको समस्या झन् झन् विकराल वनेको छ ।
६) क्रान्तिकारीहरुले देशको विशिष्ट स्थिति अनुरुप सही मालेमावादी नीति लिन नसक्नालेपनि प्रचण्ड ओली गुटलाई समय मै पराजित गर्न असमर्थ रहेका छौं ।
उपरोक्त कारणहरुले गर्दा देशमा उत्पन्न समस्याको निकासकालागि निम्न उपायहरु सबै क्रान्तिकारी पार्टीहरुले मिलेर गरौं भन्ने प्रस्ताव
नेकपा(वोल्शेभिक)को तर्फवाट राख्न चाहन्छु —
अहिले देशको उपरि संरचना तथा आर्थिक आधारमा देखिएका गम्भीर समस्याहरुको समााधान सरकार र राज्यव्यवस्थामा सुधार गरेर वा केही मागहरु पुरा गराउन दवाव आन्दोलन गरेर मात्रै हुन सक्दैन । यसको समाधानकालागि वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्र अर्थात वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने क्रान्ति सफल पार्नु पर्दछ ।
अहिलेको विशिष्ट परिस्थितिमा लाखौं जनतालाई संघर्षमा उतारेर नयाँ खालको संयुक्त जनआन्दोलनको कार्यदिशावाट योे क्रान्ति सम्पन्न गर्न सकिने सम्भावना देखा परेको छ । वर्तमान विशिष्ट परिस्थिति अनुरुपको नयाँ संयुक्त जनआन्दोलनको कार्यदिशावाट क्रान्ति सम्पन्न गर्न तत्काल निम्न कामहरु सबै क्रान्तिकारी कम्युनिष्टहरु मिलेर गर्नकालागि नेकपा(वोल्शेभिक) केन्द्रिय समितिको तर्फवाट विशेष आग्रह गर्दछु—
१) प्रतिपक्षमा रहेका कम्युनिष्ट पार्टीहरु र सत्ताधारी पार्टी भित्रका इमान्दार कम्युनिष्टहरु सबैको एउटै कम्युनिष्ट पार्टी वनाउन अब ढिला गरिनु हुन्न । त्यसकालागि नेकपा(वोल्शेभिक)ले ७ बुँदे प्रस्ताव तयार पारेको छ र त्यस वारेको एकता प्रस्ताव पत्र पठाएको छ । केही पार्टीको इमेल ठेगाना प्राप्त भएपछि उहाँहरुलाईपनि यथाशिघ्र पठाइनेछ । यसवारे गम्भीर छलफल होस र सबै कमरेडहरुले आफ्ना तर्फवाट पनि एकताका बुँदागत आधारहरु सार्वजनिक गरिदिनु हुन आग्रह गर्दछौं ।
यदि यस एकता प्रयास ५० प्रतिशत मात्र सफल भएपनि जनता र कार्यकर्ताहरुमा आशा र भरोसा दिन सक्ने शक्तिशाली जनपक्षीय क्रान्तिकारी पार्टी वन्नेछ । प्रतिपक्षमा रहेका कम्युनिष्ट पार्टीहरु वीच एकता सम्भव र आवश्यक दुबै छ । यस विषयमा केन्द्रित भएर शीर्ष नेताहरु वीचको अर्को अन्तरक्रिया आवश्यक छ ।
२) पार्टी एकता तत्काल संभव नभएमा त्यस तर्फ छलफल चलाउँदै जाने गरी संंयुक्त वक्तब्य दिने र अहिलेकालागि संयुक्त वाम मोर्चा वनाउन जरुरी भैसकेको छ । विभिन्न दलहरुको कार्यगत एकताले मात्र अबको निकास दिन सक्दैन । अहिलेको स्थिति भनेको क्रान्तिकारी परिस्थिति तीब्र गतिमा तयार हुँदै गरेको अवस्था हो । तसर्थ सरकार र राज्य व्यवस्थालाइ सुधार गर्न वा केही माग पुरा गराउन दवाव आन्दोलन तथा भण्डाफोर आन्दोलनले मात्र अहिले अपुग भैसकेको छ ।
अब हामी सबै मिलेर नयाँ संयुक्त जनआन्दोलनको तयारीमा लाग्नु पर्दछ । यसको मुख्य उद्देश्य वर्तमान सरकारको वदलामा क्रान्तिकारी जनपक्षीय सरकार निर्माण गर्ने र वर्तमान प्रतिक्रियावादी राज्यव्यवस्थाको वदलामा वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्र अर्थात वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने हुनु पर्दछ र यसैलाई नयाँ संयुक्त जनआन्दोलनको मुख्य नारा वनाइनु पर्दछ । यस मूल नारा संगै राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्वन्धी विभिन्न मागहरु र कार्यक्रमहरु सूत्रवद्ध गरेर समग्र कार्यक्रमको खाका दिइनु पर्दछ । नेकपा(वोल्शेभिक)ले घोषणापत्रमा ४९ बुँदे खाका प्रस्तावका रुपमा सार्वजनिक गरेको छ । सबै दलका प्रतिनिधि कमरेडहरु वसेर एक आपसका कार्यक्रमहरु मथि छलफल गरी साझा कार्यक्रमको रुपरेखा वनाउनु सही तरिका हुनेछ ।
यसै सरकार र राज्यव्यवस्थामा सुधारका मागहरु मात्रै राखेर आन्दोलन गर्ने या वर्तमान प्रतिक्रियावादी सरकार र राज्यव्यवस्था नै फेर्ने विषयलाइ आन्दोलनको मूल नारा वनाएर राष्ट्रियता जनतन्त्र र जनजीविकाका अन्य मागहरु र कार्यक्रमहरुलाई समेत उठाएर नयाँ संयुक्त जनआन्दोलन गर्ने ? यो नै अहिलेको प्रमुख प्रश्न हो । एउटाले सुधारवादी धारको प्रतिनिधित्व गर्दछ भने अर्कोले जनपक्षीय मालेमावादी वामपन्थी धारको प्रतिनिधित्व गर्दछ ।
लाखौं जनता आन्दोलनमा ओर्लेपछि मात्रै सरकार तथा राज्यव्यवस्था फेर्ने मूल नारा वनाउने या क्रान्तिकारी परिस्थिति तीब्र गतिमा वन्न थालेको अहिलेको विशेष परिस्थितिमा क्रान्तिकारी पार्टीले वर्तमान सरकार र राज्यव्यवस्था नै फेर्ने मूल नारा वनाएर व्यवस्थित योजना अनुसार लाखौं जनतालाई आन्दोलनमा उतार्न पहल गर्ने भन्ने अहिलेको प्रमुख प्रश्न हो । एउटाले स्वतस्फूर्ततावादी धारको प्रतिनिधित्व गर्दछ भने अर्कोले सचेत मालेमावादको प्रतिनिधित्व गर्दछ ।
३) वामपन्थीहरुको संयुक्त वाममोर्चा निर्माण संगै उपरोक्त मूल नाराको आधारमा अरु लोकतन्त्रवादीहरु संग पनि मिलेर संयुक्त वाम लोकतान्त्रिक मोर्चा निर्माण गर्नु पर्दछ । यसले शुरुमा संघर्षको मोर्चाको काम गर्नेछ भने आन्दोलन सफल भएपछि यसको केन्द्रिय निकायले केन्द्रिय क्रान्तिकारी जनपक्षीय संयुक्त सरकारको काम गर्नेछ र स्थानिय कमिटिहरुले स्थानिय क्रान्तिकारी सरकारको काम गर्नेछ ।
४) वर्तमान जनविरोधी तथा नालायक संसदको विकल्पमा जनपक्षीय गणतान्त्रिक साझा गुठी अर्थात जनपक्षीय कम्युनहरु निर्माण गर्नु पर्दछ भन्ने नेकपा(वोल्शेभिक) को प्रस्ताव रहेको छ, जसमा विभिन्न पार्टीका प्रतिनिधिहरु, जनवर्गीय संगठनहरुका प्रतिनिधिहरु, संघ संस्था खलः पुचः गुठी , टोलसुधार समिति, व्यवसायी संगठनहरु, पेशागत संगठनहरु, तथा भूतपुर्व सैनिक प्रहरी प्रशासकहरु आदिको प्रतिनिधित्व हुनेछ । यसले शुरुमा संघर्षको मोर्चाको काम गर्नेछ भने आन्दोलन पछि संसदको विकल्पमा जनपक्षीय गुठी अर्थात जनपक्षीय कम्युनको काम गर्नेछ ।
५) यस नयाँ संयुक्त जनआन्दोलन सफल पार्नकालागि नेपाली कांग्रेस, राजपा लगायतका पार्टीहरु तथा सत्ताधारी दल भित्रका प्रतिपक्षी समुहहरु संगपनि कुटनैतिक कार्यगत एकता निर्माण गर्नु पर्दछ भन्ने नेकपा(वोल्शेभिक)को प्रस्ताव रहेको छ ।
६) अन्तर्राष्ट्रिय शक्तिहरुको आपसी संघर्षवाट फाइदा उठाएर कुटनैतिक तालमेल तथा दाउपेचपनि गरिनु पर्दछ । क्रान्तिको पक्षमा अन्तराष्ट्रिय जनमत र अन्तराष्ट्रिय जनपक्षीय मोर्चा पनि वनाइनु पर्दछ ।
७) संघर्षको योजना—उपरोक्त तयारी संगै नयाँ खालको संयुक्त जनआन्दोलनको ठोस, विस्तृत तथा रणनैतिक र कार्यनैतिक योजनाहरु वनाइनु पर्दछ , जुन शीर्ष नेताहरु विचको अर्को अन्तरक्रियाको विषय वनाइनु पर्दछ ।
अहिले देखि तयारी गरेर साना तथा मध्यम जनआन्दोलनहरु गर्दै फागुण ७ गतेवाट नयाँ खाले बृहत संयुक्त जनआन्दोलनको शुरुवात गरौं भन्ने नेकपा(वोश्लेभिक)को प्रस्ताव रहेको छ ।
लाखौं जनताको नयाँ संयुक्त जनआन्दोलनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनलाइ पनि जनताको आन्दोलनको पक्षमा ल्याउन निर्णायक भूभिका खेल्नेछ । यस्तो स्थितिमा मुठ्ठिभर दलालहरु मात्रै वर्तमान सरकार र राज्यव्यवस्थाको पक्ष लिएर सती जानेछ । नयाँ संयुक्त जनआन्दोलनको विजय हुने सम्भावना प्रशस्त छ ।
निश्कर्षमा भन्नु पर्दा
सरकारलाई सुधार गर्ने वा दवाव मात्रै दिने आन्दोलन होइन कि सरकार र राज्यव्यवस्था नै फेर्ने मुख्य नारा सहित नयाँ संयुक्त जनआन्दोलनको सही मालेमावादी नीति तथा योजना वनाउनु हाम्रो विजयको मुख्य आधार हो ।
पार्टी एकता, संयुक्त वाम मोर्चा, संयुक्त वाम लोकतान्त्रिक मोर्चा, जनपक्षीय गणतान्त्रिक साझा गुठी(अर्थात जनपक्षीय गणतान्त्रिक कम्युन), वृहत कार्यगत एकता, बृहत कुटनैतिक तालमेल र दाउपेच, जनपक्षीय मालेमावाद र लाखौं जनताको महान जनआन्दोलन—यी ८ जादूगरी हतियारहरु हुन् । यसको निर्माणमा आजै देखि मिलेर लागौं भन्ने हार्दिक आग्रह गर्न चाहन्छौं । धन्यवाद ।