काठमाडौं ।
विश्वभर महामारीको रुपमा लिएको कोरोना भाइरसको उपचारमा नेपालले अर्को सफलता पाएको छ । नेपालकी दोस्रो र छैठौँ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । फ्रान्स र बेल्जियमबाट गत चैत ४ गते नेपाल आएका दुई जना कोरोना भाइरसमुक्त भएसँगै नेपालले कोरोना संक्रमणको उपचारमा नयाँ सफलता हात पारेको हो ।
फ्रान्सबाट आएकी काठमाडौंकी १९ बर्षिय प्रसिद्धी श्रेष्ठ र बेल्जियमबाट आएकी बाग्लुङकी ६५ बर्षिय वृद्धामा पछिल्लोपटक गरिएको नमुना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज घर फर्किएका हुन् । काठमाडौं टेकुमा उपचाररत प्रसिद्धी दिउँसो अभिभावकसँगै घर फर्किएकी छन् भने बाग्लुङकी वृद्धालाई पनि साँझ डिस्चार्ज गरिएको छ ।
प्रसिद्धी अस्पताल भर्ना भएको २७ औं दिनमा घर फर्केकी हुन् । गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी प्रसिद्धीमा चैत १० गते कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी थिइन ।
यस्तै धौलागिरी अञ्चल अस्पतालमा उपचार गराएकी बाग्लुङ ३ गौडाकोटकी ६५ वर्षिय वृद्धाको तेस्रो र चौथोे पटकको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएकी हुन् । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनमा गत चैत २० गते भाइरस संक्रमण पोजेटिभ देखिएको थियो ।
दुवै जना बेल्जियमबाट कतार एयरवेजको जहाजमा सँगै नेपाल आएका थिए । चीनबाट आएका पहिलो संक्रमित व्यक्ति भने यसअघि नै उपचारपश्चात घर फर्किसकेका छन् । नेपालमा कोरोना संक्रमित ३० जनामध्ये २७ जनाको उपचार भैरहेको छ । तीन जना निको भैसकेका छन् । हिजो एकैदिन उदयपुरमा १२ जना भारतीय मुसलमान नागरिक र चितवनमा दुई जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या एकैपटक बढेको देखिएको हो ।