लक्ष्मी पौडेल
‘कावासोतीमा एकजना दिदीलाई घरपरिवारले नहेरेर बारीको पाटामा बस्नुभएको छ । स्वास्थ्य अवस्था राम्रो छैन । विदेश गएका श्रीमान्ले वास्ता नगरेका कारण मानसिक अवस्था विग्रेको छ । उद्धार गरौँ न कसैगरी ।’ ४ वर्षअघि फेसबुक म्यासेन्जरमा राधाको म्यासेज आयो । पत्रकार नै भएका कारण दुवैबीच चिनजानी त थियो तर एकदमै निकट भने थिएनौँ । कसैलाई उद्धार गर्ने कुरा उनले मलाई नै किन भनिन् होला ? अहिलेसम्म थाहा छैन । कावासोतीका अरु पत्रकार साथी धनु, सविता, प्रकाश, कल्पना र मिनासमेत मिलेर ती महिलाको उद्धार गर्यौँ । उनका श्रीमान्लाई विदेशबाट झिकाउन र घरपरिवारलाई जिम्मेवार बनाउन हामीले अनेक समस्या झेल्यौँ । केन्द्र र प्रदेश सांसददेखि स्थानीय तहलाई गुहार्यौँ । रकम उठायौँ ।

लक्ष्मी पौडेल
रिपोर्टिङ र रेडियो कार्यक्रमसमेत चलाउने राधालाई मैले व्यक्तिगत भन्दा पनि सामाजिक कामबाटै अलि बढि चिनेँ । उमेरमा मभन्दा कान्छी राधालाई मैले खुब परिपक्व देखेको तीनै महिलालाई उद्धार गर्ने समयमा हो । त्यसपछि राधासँग सामाजिक कामकै विषयमा मात्र छलफल हुन थाल्यो । म्यासेन्जरमा कहाँ को समस्यामा छ र के गर्ने भन्ने बहस धेरै हुन्थ्यो ।
२०७४ फागुन मसान्तको अघिल्लो दिन बेलुका फोन आयो, ‘भोली बिहे हुँदैछ । फोनबाटै निम्ता भनेँ है । इमर्जेन्सी आँटियो । आउनु है ।’ म अक्क न बक्क भएँ । कोसँग ? कहाँ ? बुझ्न पनि हतार भयो । ०७५ बैशाखमा काठमाडौँ आएपछि प्रकाश (उनका भाई, पत्रकार) सँग भेटेर थाहा पाएँ, राधा काठमाडौँमा नै छन् । भेट्नका लागि धरहरापछाडि पुग्यौँ दुवैजना । म उनको श्रीमान् पनि आउलान् भन्ने सोचेकी थिएँ तर उनी एकदम हतार र हतास मानसिकतामा श्रीमान्को भाई पर्ने देवरसँग आएकी थिइन् । ‘भिनाजु खै त ?’ प्रकाशले सोधे । ‘काममा हुनुहुन्छ त्यही भएर बाबुसँग आएको !’ राधाको जवाफ र हाउभाउ देखेर मलाई भने त्यतिबेलै मनमा अनौठो शंका उब्जेको थियो ।
राधाले बिहेपछि नियमित गर्दै आएको पत्रकारितालाई बिट मारेकी थिइन् । एकदिन प्रकाशले जरुरी सल्लाह गर्नुछ भन्दै समय मागे । राधाको बिहेपछिको सम्बन्धको बेलिविस्तारसँगै थाहा पाएँ उनी स्तन क्यान्सर लागेर थलिएकी छन् र उपचार भैरहेको छ । बिहेको रात नै श्रीमान्ले बेवास्ता गरेकी राधा माइतीलाई तनाव नदिने र सकेसम्म घरमै सल्लाह गर्ने भनेर एक्लै कस्सिएकी रहेछिन् । उनले घरपरिवारमा श्रीमान्को व्यवहार र सम्बन्धबारे गरेको छलफलको अडियो सुनेँ । हिजो अरुको न्यायको लागि लडेकी राधा आफैँ अन्यायमा परेकी थिइन् तर लड्नका लागि कोही छैन । बिहे गरेको तीन महिनापछि श्रीमान्को यातना र भौतिक आक्रमणबाट चोट लागेर उपचारका लागि अस्पताल गएकी उनमा स्तन क्यान्सर अन्तिम चरणमा पुगेको थाहा भएको थियो । यो कुरा राधालाई थाहा थिएन । काठमाडौँमै उपचार गरेर श्रीमान्को घरमा बसेकी उनलाई बिरामी अवस्थामा ढोका थुनेर पानीसमेत नदिइ बस्ने कस्ता परिवार ? आत्महत्या गर्न आँटेकी उनले कुन साहस जुटाएर मध्यरातमा माइती गुहारेकी थिइन भन्ने कुरा जनआस्था साप्ताहिकमा गतवर्ष प्रकाशित बकपत्रमा प्रष्ट छ ।
राधाले यो तीनवर्षमा संघर्षका भिमकाय पहाडहरु फोरेकी छन् । भलै त्यसको लेखाजोखा समयले गरेन । चिकित्सकले मृत्युको मिति तोकेका बेला दाउराजस्तै भएर अस्पतालको बेडमा पल्टिएकी छोरी देखेर त्यो बाउको मनमा के भयो होला ? म अनुमान लगाउन सक्दिनँ ।
रोगसँगको लडाइँ एकातिर, श्रीमान्सँग अघिकारको लडाइँ अर्कोतिर । राधाले क्यान्सरलाई तीनवर्षसम्म कसरी पराजय गरेकी होलिन् ? सम्झदाँ पनि मन काँप्छ ।
के मान्छे मान्छेप्रति यतिसम्मको निकृष्ट, क्रुर र पापिष्ट हुनसक्छ ?
अहिल्यै बिहे गर्दिन भन्ने राधा एकाएक हुन्छ त नि भन्ने निर्णयमा पुगिन् । स्थानीय अस्मि भट्टराईसँग बिबाह गरिन् तर घुम्टो ओढ्नु र अर्काको घर पुग्नुबाहेक बिहेको अनुभूति उनिसँग भएन । भयो त केबल सिन्दुर हालेको मान्छेको मानसिक र शारिरीक यातना, रोगी हुँदा बेवास्ता, माइतीको शरण र जीवनको अन्तिम अवस्थामा छोडपत्रमार्फत् एउटा कुत्सित सम्बन्धको अन्त्य । सामान्य बिरामी हुँदा आफ्नाहरुको वास्ता र बोलीलेसमेत मान्छे निको हुन्छ । क्यान्सरले खाएको शरिर देख्दा श्रीमान्को नाम पाएको मान्छेको मनमा रत्तिपनि माया पलाएन । के मान्छे मान्छेप्रति यतिसम्मको निकृष्ट, क्रुर र पापिष्ट हुनसक्छ ?
राधा उपचारका लागि नेपाल र भारत गरिरहेकी थिइन् । पटक पटकको केमियोथेरापी र औषधीका कारण उनको शरिर सुकेको दाउरा जस्तै, कपाल र आखीँभौँ लगायत शरिरका रौँ झरेर मुडुलै, बिस्तारामा लम्पसार उनी श्रीमान्सँग लड्न आयोग, अड्डा अदालत प्रहरीकोमा धाउन सक्ने अवस्थामा थिइनन् । महिला आयोगमा भाई प्रकाश र मैले उनको नाममा निवेदन दियौँ ।
छलफलका लागि उनका श्रीमान् अधिवक्ता बोकेर आए । विषय उनको थियो तर बढि अधिवक्ता बोले । मैले अब्जेक्सन गरेँ । आयोगमा उनको रवाफ, हाउभाउ र बोली व्यवहारले मैले सबै मान्छे मान्छेजस्ता हुँदैनरहेछन् भन्ने महशुस गरेँ । बिहे गरेर ल्याएकी श्रीमती बिरामी हुँदा एक कल फोन नगरेकोमा, उल्टै थर्काएकोमा र वेवास्ता गरेकोमा महान काम गरेको छु भन्ने जसरी उनी प्रस्तुत भए । आयोगका पदाधिकारीको पेलपालमा एउटा सहमतिपत्र बन्यो, श्रीमतीको स्याहारसुसार गर्ने, खर्च दिने, माया दिने । तर मगजमा जिम्मेवारी भन्ने रत्तीपनि नभएको मान्छेलाई कागजी खोष्टोमा लेख्दैमा के बाँधिन्थ्यो र ? राधालाई घरपरिवारले उनको श्रीमान्ले फोन गरेको छ, खर्च पठाएको छ भनेर ढाँटेका थिएँ कारण उनको आत्मबल बलियो बनाउनुथियो ।
योबीचमा उनी केही तङ्ग्रिइन् । कपाल आउन थाल्यो । शरिर अलि हेर्नलायकको भयो । अब राधालाई बिस्तारामा पल्टनु थिएन् । बुवासँग अनुरोध गरिन् र आफूजस्तै महिला दिदीबहिनीले क्यान्सर भोग्न नपरोस् त्यो भन्दा ठूलो घरेलु हिंसा भोग्न नपरोस् भनेर गाउँ गाउँमा कार्यक्रम गर्न थालिन् । राधा क्यान्सर सचेतना फाउन्डेसन संस्थाको नाममा जिल्लाभरी अभियान चलाइन् । यो संस्था दर्ताको प्रक्रियामा हुँदै उनले संसार छाडेकी छन् । उनी जतिजति शरिर बलियो बनाउँदै रोगसँग लडिरहेकी हुन्थिन् । उत्ती उनको श्रीमान्ले फोन गरेर पैसा दिन्छु मलाई छोडपत्र दे भन्दै आत्मबल कमजोर बनाउथ्यो । राधाको लडाईँ महिला आयोग, प्रहरी कार्यालय हुँदै अदालतसम्म पुग्यो ।
राधाको लडाइँ पैसासँगको थिएन र त उनले अन्तिम अवस्थासम्म न्यायका लागि रोगी शरिर घिसारिरहिन् अदालतसम्म, अस्पतालसम्म ।
राधा ! तिमिले नमान्दा नमान्दै पनि गत फागुनमा हामी सबै (साथीहरु र घरपरिवार)ले भट्टराई परिवारसँगको एकाधर्को सिन्दुरको नाता टुङ्ग्याइदिन भनेका थियौँ । किनकी हामीलाई उनिहरूले तिमिलाई दिएको तनाव सहिनसक्नु भइसकेको थियो ।
तिमि पटक पटक धर्ति छोड्न किक्क किक्क पर्दा तिम्रा बाबाआमाले आसा मार्नुभएको थिएन तिम्रा दिदीभाईले र हामीले पनि । र त तिमी हिजोसम्म हामीसँगै थियौँ ।
राधा तिमिले देखेका केही थान सपना छन् । तिमि किताब लेखिसकेर धर्ति छोड्ने भन्थ्यौँ । तिमिले लेखेका अक्षरहरूलाई किताबको रूप दिनुछ । तिमिले थालेको न्यायको अभियानलाई प्रचार गर्नुछ, फैलाउनु छ । तिमिले लडेको लडाईँ मेरा लागि मार्गदर्शक हो । त्यो लडाईंका किस्सा सुनाएर भएपनि अबका पुस्ता (किशोरीहरू)लाई बलियो बनाउनुछ ।
नवलपुर चितवन क्षेत्रले क्यान्सरबाट केही अघिमात्र तिमिजस्तै शाहसी डा. बिएम खरेल (बिष्णुमाया) र अल्लि आगाडि अनिता शर्मा (लेखक ः जीवन एक, संघर्ष अनेक/प्रच्छन्न) लाई यसैगरी गुमाएको छ ।
दशैँको चतुर्दशी तिथि पारेर कार्तिक १४ गते तिमिले धर्ति छोडेको कुरा सुनेको दिन म तिमि गयौ भन्नेभन्दा बढी तिम्रा कति काम अधुरा भए भन्नेमा चिन्तित थिएँ ।
तिमि छैनौ तर तिम्रा हरेक संघर्षलाई जीवितै छाडेर गएकी छौँ । सायद तिमि मृत्युको मिति तोकिएर पनि फेरि उठेर हाम्रा लागि पत्रकारितालाई निरन्तरता दियौ, हाम्रै लागि सामाजिक संस्था चलायौ, गाउँ गाउँमा पुग्यौ र हाम्रै लागि केही अक्षरहरू नासो छाडेकी छ्यौँ । तिम्रो नासो सुरक्षित गर्नुछ राधा ।
अलबिदा राधा । तिमि सधैँ सधैँ सम्झनामा रहनेछौ ।