सेयर
-नारायण शर्मा
एक मानिन्न ! दुई मानिन्न !! तीन मानिन्न !!!
मानिन्न ! मानिन्न !! मानिन्न !!!
उनै नेता, उही नीति,
उस्तै नियत र उही नियती – मानिन्न !
स्वार्थी चिन्तन, भ्रष्ट चरित्र,
दुष्ट मनोवृत्ति र निकृष्ट परिणति –
यो पनि मानिन्न !!
थोत्रा पार्टी, थाङ्ने योजना,
झुत्रा कार्यक्रम र झुठ्ठा आश्वासन –
यो त झनै मानिन्न !!!
दास मानसिकता, दलाल बेहोरा,
मगन्ते प्रवृत्ति र आयातित संस्कृति –
यो त झन् मानिंदै मानिन्न !
एक मानिन्न ! दुई मानिन्न !! तीन मानिन्न !!!
मानिन्न ! मानिन्न !! मानिन्न !!!
लाछी शासक, लोभी संयन्त्र,
लाचार संस्था र लाँकर शासन-प्रशासन –
यो पनि मानिन्न !
अन्यायपूर्ण विधि, अत्याचारी विधान,
असफल व्यवस्था र अपमानजनक व्यवहार –
कुनै हालतमा मानिन्न !!
घातक निर्णय, विसंगत नियम,
विकृत निर्देशन र विपरीत नियमन –
आदि-इत्यादी केही मानिन्न !!!
अमानवीय शोषण, दानवीय दमन,
भद्रगोले भेदभाव र आपराधिक छुवाछूत –
यो त झन् मानिदै मानिन्न !
मानिन्न ! मानिन्न !! मानिन्न !!!
एक मानिन्न ! दुई मानिन्न !! तीन मानिन्न !!!
मानिन्न !!!!
shere this