महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान झिल्टुङ नुवाकोटले लक्ष्मी जयन्तीको अवसरमा साहित्यकार नवदीप अजनवी र सुमित्रा सुमीलाई सम्मान गरेको छ । लक्ष्मी जयन्तीको अवसर पारेर बुधवार खड्गछाप झिल्टुङमा आयोजना गरिएको श्रष्टा सम्मान, कविता प्रतियोगिता तथा कुन्जिनी उद्यान सिलन्यास कार्यक्रममा साहित्यकार अजनवी र सुमिलाई वर्ष साहित्य सम्मान प्रदान गरिएको हो ।
११३ औँ लक्ष्मी जयन्ती तथा विद्यालय स्तरीय कविता प्रतियोगितामा महादेव मावि कोल्पुटारकी बिबिना लामिछाने प्रथम, कामरु मावि डबलीकेर प्रबिना नेपाल द्वित्तिय र गौलिङ्गेश्वर मावि अच्माराकी प्रतिमा सुवेदी तृतिय भएकी छन् । प्रतियोगी मालिका मावि देउरालीकी सुस्मिता नेपाललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । प्रथम पुरस्कार नगद २५०० र प्रमाणपत्र, द्वित्तिय पुरस्कार नगद रू २००० र प्रमाणपत्र, तृतिय पुरस्कार नगद रू १५०० र प्रमाणपत्र तथा प्रोत्साहन पुरस्कार नगद १००० र प्रमाणपत्र रहेको थियो ।
सोही कार्यक्रममा कुन्जिनी उद्यानको समेत सिलन्यास गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथी बेलकोटगढी नगरपालिकाकी उपप्रमुख कविता ढुंगानाले उद्यान सिलन्यास गर्नुभएको हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले नुवाकोट झिल्टुङको एक घरमा बसी चर्चित कुञ्जिनी खण्डकाव्य लेखेका थिए । सोही ऐतिहासिक घरको संरक्षण, प्रवर्द्धन र पर्यटकीय स्थल निर्माणका लागि कुञ्जिनी पार्क निर्माण हुन लागेको हो ।
कुञ्जिनी घर संरक्षणका लागि बेलकोटगढी नगरपालिकाले यस आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको सहयोगमा लक्ष्मीप्रसाद देवकोटा साहित्य प्रतिष्ठानको स्वामित्वमा रहनेगरी पार्क बन्ने भएको हो ।
यस्तै कार्यक्रममा साहित्य संगम नुवाकोटको प्रकाशन ‘संगम’ दोस्रो अंक विमोचन समेत गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष केदार प्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बेलकोटगढी नगरपालिका वडा नं ५ का वडाध्यक्ष अनन्त नेपाल, वडा सदस्य दिपेन्द्र थापामगर लगायतको उपस्थिति रहेको थियो ।
यसैबिच बुधवार नै दिपा धिताल, किरण उजागर पुडासैनी, शंकर मुडभरी, केशव न्यौपाने र केशव नेपाललाई प्रतिष्ठानको सदस्यमा चयन गरिएको प्रतिष्ठानका सचिव नारायण नेपालले जानकारी दिनुभयो ।