काठमाडौँ ।
राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । सभाध्यक्ष उर्मिला अर्यालले दाहाल बहुमतका साथ राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् । माओवादी केन्द्रबाट उम्मेदवार दाहाललाई नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन थियो । कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
मतदानमा राष्ट्रिय जनमोर्चाले भने मतदानमा भाग लिएन । राष्ट्रिय सभामा जनमोर्चाका एक जना तुलप्रसाद विश्वकर्मा सदस्य हुनुहुन्छ । दाहाल २०३२ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । २०३६ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय दाहाल २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य हुनुहुन्छ । २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा सांसद बन्नुभएका दाहाल २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित हुनुभएको थियो । तर २०७० को चुनावमा भने उहाँ सोही क्षेत्रबाट पराजित हुनुभयो ।
अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताउनुभएको छ । ‘राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर म अगाडि बढ्छु । त्यो कानुन निर्माण होस् अथवा अरु सवाल किन नहोस् । राष्ट्रिय सभालाई ओजपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था रहेछ भन्ने खालको बनाउन म आफ्नो प्रयत्न गर्नेछु’, उहाँले भन्नुभयो ।