सेयर
आज फेरि अर्को पटक उनै प्रधानमन्त्री ओलीले फेरि दोस्रोपटक उही पुनर्स्थापित संसद भङ्ग गरेका छन् । फेरिपनी उनै हठी, दम्भी र पदलोलूप प्रधानमन्त्री ओलीले मध्यावधी चुनाव घोषणा गरेका छन् । यसरी उनले आफ्नो गैरजिम्मेवार, बहुलट्ठीपूर्ण र मूर्खतापूर्ण कुकर्मलाई निरन्तरता दिएर देसलाई अन्तहीन अस्थिरता, अस्तव्यस्तता र अराजकताको भूमरीमा धकेलिदिएका छन् ।
अनि फेरि हामीहरु पनि उही निकम्मा अनि भाँडभैलो र भद्रगोलको केन्द्र यही पुन: विघटित संसदको पुनर्स्थापना गर्ने नै भन्ने हौंला !
हो, यही हो संसदीय गोलचक्कर । र, यही हो यो गोलचक्करमा हामी माओवादी कम्युनिस्ट क्रान्तिकारी भनिएकाहरु पनि उम्कनै नसकिने गरि संसदवादी दलदलमा फस्ने र दक्षिणपन्थी संशोधनवादी भासमा भासिने भनेको । अनि यही हो भँडुवा संसदवादी भाँडभैलो र भद्रगोल ।
यही हो दलाल शासकहरुको असली चरित्र पनि । यही हो पुँजीवादी लोकतन्त्रको तानाशाही स्वरुप पनि । यही हो यो व्यवस्थाको कुरुप जनविरोधी र राष्ट्रविरोधी चरित्र । यही र यस्तै हुने देखेर नै मैले र हामी केही कामरेडहरुले विगतदेखिनै बारम्बार यसका विरुद्धमा जोड-तोडले केही भन्दै, लेख्दै र गर्दै आएका छौं । र अहिले पनि भन्नू जरुरी भएको छ कि –
समस्या यो दलाल संसदीय व्यवस्थामा छ !
विकृती जाली संसद र दास सांसदहरुमा छ !
विसंगति भ्रष्ट शासकहरुमा छ !
खोट यो पुँजीवादी प्रतिक्रियावादी शासन सत्तामा छ ।
यी सबै कुरा ओलीजस्ता दुष्ट शासकहरुका मनमस्तिष्कमा गढिरहेछन् । अनि त उनका खुराफाती दिलदिमागबाट यस्ता अपृय, अवान्छित र अनहोनी कामकुराहरु बार-बार व्यक्त भैरहेका छन् र अहिले नै राष्ट्रलाई विलोप गर्ने धृष्टता र मूर्खता गरिरहेछन् ।
त्यसैले त हामीले निरन्तर भनिरहेका छौं – यो निकम्मा र नीच संसद विघटन गरेर मात्र हुँदैन, खारेज नै गर्नुपर्छ । यो नालायक र निम्छरो सरकार परिवर्तन मात्र गरेर पुग्दैन, अपदस्थ नै गरिनुपर्छ । यो असफल र अफाप संसदीय व्यवस्था सुधार मात्र गरेर त हुँदै हुदैन, निषेध नै हुनुपर्छ ।
र यो समग्र प्रतिक्रियावादी नव उदारवादी दलाल सत्ता टालटुल गरेर किमार्थ हुन्न, तसर्थ सम्पूर्ण रुपले यसको ध्वंश नै गर्नुपर्छ । तत्पश्चात् यो निकम्मा संसदको विकल्पमा नयाँ अन्तरिम सर्वोच्च जनप्रतिनिधि सभाको निर्माण गरौ । यो देशद्रोही सरकारको विकल्पमा देसभक्त र जनसेवीहरुको नयाँ अन्तरिम राष्ट्रिय नागरिक सरकार गठन गरौं ।
यो पुरानो मक्किएको अफाप र असफलसिद्ध संसदीय व्यवस्थाको विकल्पमा एक अन्तरिम मौलिक व्यवस्थाको परिकल्पना र प्रयोग गरौं र बैज्ञानिक समाजवादको मार्ग प्रशस्त गरौं !
अनि, यो दलाल पुँजीवादी प्रतिकृयावादी सत्ताको विकल्पमा नयाँ लोकतान्त्रिक र देसवादी क्रान्तिकारी सत्ताको अवलम्बन गर्दै साम्यवाद उन्मुख समाजवादको आधार तयार पारौं ।
यसनिम्ती सरसल्लाह गर्ने, सुझाव लिने, सम्प्रेषण गर्ने, संघर्ष गर्ने र सबैजसोलाई सहमत पार्ने गर्नुपर्छ ! यो सहज र शान्तिपूर्ण स्वरुपबाट सहमती नभए संघर्षमा जाने र संघर्षलाई निर्णायक रुप दिने गर्नु जरुरी हुन्छ । संघर्षलाई निर्णायक स्वरुप दिनको लागि संगठन र संयुक्त मोर्चालाई सुदृढ, सबल र सशस्त्र पार्नुपर्छ ।
यदी अझै पनि यसो नगर्ने हो भने त्यसै त आज कोरोना महामारीका कारण स्वास्थ्य व्यवस्था कोल्याप्स भएर असंख्य जनता अकालमै मरिरहेका छन् र राजनीतिक महामारीका कारण संसद मात्र विघटन हुने गरेको छ । अब त यो कुराजनीतिज्ञ र कुराजनीतिको महामारीका कारण पार्टीहरु, राज्य र यसका सबै अवयबहरु पनि विघटन हुनेछन् र अन्ततः देस नै कोल्याप्स हुने भयङ्कर खतरा छ । तसर्थ समयमै संवेदनशील बनौं र यो सानाको सुझाव समेत सुनौं । बिसे नगर्ची-पृथ्वीनारायण संवाद प्रकरणको स्मरण गरौं । चेतना भया !
shere this









































