नवलपुर १९ चैत ।
कोरोना संक्रमणको जोखिममा लकडाउन भएपछि तनहुँबाट हिँड्दै नवलपुर पुगेका ४० जना मजदुरलाई नवलपुरको गैँडाकोट नगरपालिकाले गन्तव्यतर्फ पठाएको छ ।
मजदुरी गरेर घर फर्किन यातायातको सुबिधा नपाएर हिँड्दै गैँडाकोट आइपुगेका नेपालगञ्ज घर भएका ४० जना मजदुरलाई उनीहरुको गन्तव्यतर्फ पठाइएको गैँडाकोट नगरपालिकाले जानकारी दिएको छ । पैदल हिँडेर बिहान ११ बजे गैँडाकोट आइपुगेका उनीहरुलाई नगरपालिकाले खाजा खुवाएको छ । नारायणगढको पुल्चोक हुँदै गैँडाकोट छिरेका उनीहरुलाई इलाका प्रहरी कार्यालयका प्रमुख चन्द्रबहादुर थापाको पहलमा नगरपालिकासँग समन्वय गरी खाजा पानी खुवाएर गन्तव्यतर्फ पठाइएको हो । उनीहरु माटोका भाँडा बनाउने र सिलौटो मजदुर रहेको बुझिएको छ ।
नेपालगञ्ज घर बताउने मजदुरलाई सुरक्षीत रुपमा घरतर्फ जानका लागि ट्रकको र खाद्यान्नको व्यवस्था गरेर दाउन्नेपश्चिम नवलपरासीसम्म पठाएको गैँडाकोट ५ का वडाध्यक्ष नवराज कंडेलले जानकारी दिए ।
नवलपरासी पुगेपछि त्यहाँको स्थानीय तहसँगको समन्वयमा उनीहरुलाई आफ्नै जिल्ला पठाईने वडाध्यक्ष कंडेलले जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले मुलुक नै लकडाउन गरेपछि विभिन्न क्षेत्रमा कार्यरत मजदुर अलपत्र परेका छन् । गैँडाकोट नगरपालिकाले यसअघि पनि सडकमा अलपत्र परेका मजदुरलाई सुरक्षीत बासस्थान खाद्यान्नको व्यवस्था तथा घर जान चाहनेहरुका लागि व्यवस्था मिलाएर घर पठाएको छ ।
नगरपालिकामा अत्यावस्यक सामाग्रीको आपतकालीन व्यवस्था तथा स्वास्थ्य समस्या अस्पतालसम्म पु¥याउन सर्वसाधारणलाई एम्बुलेन्स तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ । लकडाउनको बेला सर्वसाधारणको सेवामा प्रयोग गर्न भन्दै नगरप्रमुख छत्रराज पौडेलले आफुले प्रयोग गर्दै आएको गाडि प्रहरीलाई बुझाएका छन् ।
चोकचोकमा हात धुने सफा पानी साबुनको व्यवस्था गरिनुका साथै र सर्वसाधारणलाई आवश्यक स्वास्थ्य सामाग्री समेत वितरण गरिएको वडा नं ५ का वडाध्यक्ष नवराज कंडेलले जानकारी दिए ।
नगरपालिकाले आफ्नो छिमेकमा विदेशबाट आएका कोही नागरिक भए सचेततापुर्वक स्वास्थ्य जाँच गराउन लगाउने र अटेर गरेको पाइए नगरपालिकामा जानकारी दिन समेत अपिल गरेको छ ।