
काठमाडौँ ।
सत्ता गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले आफ्ना तर्फबाट सरकारमा रहेका मन्त्री परिवर्तन गर्न चाहेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गर्नुहुने भएको छ । मुख्य दल काँग्रेस र माओवादीले भने तत्काल आफ्ना मन्त्री नफेर्ने बताइएको छ । एकीकृत समाजवादीले सचिवालय बैठकबाट आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेको छ भने आन्तरिक विवाद फसेको जसपाको दुवै समूहले मन्त्री हेरफेर गर्नेबारे प्रधानमन्त्रीसँग छलफल गरिररहेका छन् ।
प्रधानमन्त्री सुदूरपश्चिम प्रदेशका कार्यक्रम सकाएर फर्र्किएपछि मन्त्रीपरिषद् हेरफेर हुने वालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीले एकीकृत समाजवादी र जसपाको आन्तरिक राजनीतिमाथि पनि नजर राख्नुभएको स्रोतको भनाई छ । गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि प्रधानमन्त्रीले मन्त्रीपरिषद फेरबदलबारे कुराकानी गरिरहनुभएको छ । मन्त्री हेरफेरमा प्रधानमन्त्रीले ढिलाइ गरेको भन्दै एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसहितका केही नेताले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् ।
एकीकृत समाजवादीले मन्त्रीहरु प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ, विरोध खतिवडा र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर जीवराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन, मेटमणी चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्यमन्त्री तथा हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीका तर्फबाट सुरुमा मन्त्री पठाउँदा नै ६ महिनाका लागि समय तोकिएको नेता मुकुन्द न्यौपानेले बताउनुभयो ।
जसपामा अध्यक्ष उप्रेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइबिच मतभेद बढेको छ । दुवै पक्ष पार्टी विभाजन हुन सक्ने भन्दै बहुमत आफ्नो तर्फ पार्न सांसद तानातानमा छन् । मन्त्री फेरेर भएपनि यादव पार्टीमा बहुमत बनाउने दाउमा र भट्टराइ मन्त्रीको अफरसहित धेरै सांसद आफ्नो पक्षमा पार्ने योजनामा देखिनुहुन्छ । प्रधानमन्त्री देउवा जसपाको विवाद टुंगिए सोही अनुसार अगाडि बढ्ने पर्खाईमा हुनुहुन्छ ।









































