गोरखा ।
एक्सपोज नेपालको आयोजनामा गोरखाको सहिदलखन गाउँपालिकामा दुइ चरणको प्याड बनाउने तालिम सम्पन्न भएको छ । बक्राङ बक्रेश्वरी मा.वि.का ३० जना छात्रा र नाम्जुङको जनशक्ति उच्च माध्यमिक विद्यालयका ४० जना छात्रालाई तीन दिने तालिम दिइएको एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले जानकारी दिनुभयो । टुगेदर नेपालको सहयोगमा एक्सपोज नेपालले पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउन सिकाएको हो ।
तालिमपश्चात विद्यालय उमेर समूहका बालिकाले आफ्नो प्रयोगका लागि आफैँ स्वस्थकर पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन सक्ने प्रशिक्षक सिर्जना कपालीले बताउनुभयो । असोज ३ गतेदेखि कक्षा ९, १०, ११ र १२ पढ्ने छात्रा लक्षित गरी दिइएको तालिममा कपाली र मिना महर्जनले सहजीकरण गर्नुभएको थियो । तालिमका लागि सम्पूर्ण सामग्रीको व्यवस्थापन गरेको एक्सपोज नेपालले तालिमपश्चात् व्यावसायिक रूपमा प्याड उत्पादन गर्न चाहने छात्राहरूलाई कच्चा सामग्री र बजारीकरणका लागि सघाउने छ ।

ललितपुरको जावलाखेलमा रहेको एक्सपोज नेपालले पुनः प्रयोग गर्न मिल्ने कपडाको सजिलो प्याड प्रबर्द्धन गरी बजारिकरणका साथै ग्रामिण क्षेत्रलक्षित गरी महिलाका लागि तालिम सञ्चालन गर्ने गरेको छ । एक्सपोज नेपालले सन् २००७ देखि स्वस्छ र मर्यादित महिनावारीको क्षेत्रमा काम गर्दै आएको छ ।