पर्वत २७ कार्तिक ।
प्रेस काउन्सिल नेपालले पर्वत र लमजुङमा अन्तरक्रिया सम्पन्न गरेको छ । पर्वतको फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले जिल्लास्थित सातैवटा स्थानीय तह एवं मिडियासँग छलफल गरी मापदण्ड बनाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रेस काउन्सिल नेपालको आयोजना एवं पत्रकार महासङ्घ पर्वत शाखाको संयोजनमा बुधबार कुश्मामा आयोजित ”पत्रकार आचारसंहिता र मिडियामा कोभिड प्रभावसम्बन्धी” कार्यक्रममा उहाँले कोभिडले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पारेको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दुर्गा भण्डारीले विगतदेखि नै श्रमजीवी पत्रकार मारमा परिरहेका, ठूला मिडियाद्वारा दशकौंदेखि स्ट्रिन्जरकै रूपमा राखिएको र कतिपयलाई कोभिडको बहाना बनाएर रोजगारीबाट हात धुने अवस्थामा पुर्याएको भन्दै नीति निर्माण तहमा इस्यूलाई जोडदार उठाउने बताउनुभयो ।
पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति महासचिव गणेश पौडेलले प्रदेश सरकारसमक्ष सङ्कटमा मिडियासम्बन्धी प्रस्तावना लिएर जाँदा आश्वासन मात्रै प्राप्त भएको, आश्वासन दिएपनि सहयोग प्राप्त नभएको, पत्रकारको वास्तविक अवस्था भयावह रहेको बताउनुभयो।
पत्रकार महासङ्घ पर्वत शाखाका अध्यक्ष छबिलाल तिवारीले सरकारी तथा नीजीस्तरबाट प्राप्त हुने विज्ञापन ठप्प भएको, परिवर्तनपछि जनप्रतिनिधिबाट सोचेजस्तो उल्लेखनीय सहयोग नमिलेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पत्रकार महासङ्घ पर्वत शाखाका पूर्व अध्यक्ष एवं रेडियो शालिकरामका सञ्चालक ओमप्रसाद घायलले पर्वत जिल्लाको अवस्थाबारे चित्रण गर्दै सञ्चारमाध्यममध्ये रेडियोको अवस्था दयनीय रहेको उल्लेख गर्नुभयो ।
पत्रकार महासङ्घ पर्वतका सचिव गणेश गिरीले जिल्लाको सञ्चारमाध्यमको वर्तमान अवस्था, चुनौती र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
प्रेस काउन्सिल नेपालका वरिष्ठ सहायक महेन्द्रराज सिंहले प्रेस काउन्सिलबाट प्रवाह हुने सेवासुबिधा एवं गतिविधिबारे जानकारीको साथै कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो।
प्रेस संगठन नेपालका सन्तोष थापा, प्रेस युनियनका माया अधिकारी, रेडियो शालिग्रामका सन्तोष केसी, कान्तिपुर दैनिकका अगन्धर तिवारी, रेडियो समृद्ध नेपालका उत्तमप्रसाद अधिकारी, लालटिन मिडियाका सुमनजङ्ग थापा, सबैका कुरा डटकमका ठाकुर रसाइली, पञ्चासे एफएमका स्टेशन म्यानेजर लक्ष्मण सापकोटालगायतले समानुपातिक विज्ञापन नीति कार्यान्वयन नहुँदा, विद्धुतीय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन नहुँदा, कोभिडबाट उत्पन्न सङ्कटले विज्ञापन बजार ठप्प भई मोफसलका मिडिया टिक्न गार्हो परेको, मुलुकमा सङ्घीयता आएपनि मिडियासम्बन्धी सेवा लिन राजधानी धाउनुपर्ने बाध्यता रहेको, मिडिया व्यवस्थित हुन नसकेको धारणा राख्नुभएको थियो ।
यस्तै, गण्डकी प्रदेशसभा सदस्य एवं प्रमुख सचेतक मायानाथ अधिकारीले परिवर्तनको वाहक मिडिया क्षेत्रको हकहित एवं उत्थानको लागि आफ्नो तहबाट पहल गर्ने बताउनुभयो ।
प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ लमजुङ शाखाको संयोजनमा मङ्गलबार बेशीशहरमा आयोजित ‘पत्रकार आचारसंहिता र कोभिडले मिडियामा पारेको प्रभावसम्बन्धी अन्तरक्रियामा सो धारणा राख्नुभएको हो । उहाँले परिवर्तनको नेतृत्व राजनीतिक दलले गरेपनि मिडियाको भूमिका उल्लेखनीय रहेको, सबैको सामुहिक प्रयासबाट परिवर्तन सम्भव भएको, यसरी नै संवाद÷छलफलबाट नै समस्याको पहिचान हुने भन्दे संविधान र संघीय ऐन, कानुनसँग नबाझिने गरी प्रदेश सञ्चार नीति बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । सांसद, पत्रकार हुँदैमा सबै जान्ने/सुन्ने हुन्छन् भन्ने भ्रम भएको भन्दै उहाँले निरन्तर खबरदारी, सुझाव हुनुपर्ने पत्रकारमा खोज, अनुसन्धान कमी रहेको बताउनुभयो । उहाँले रोडम्याप, मास्टरप्लान बनाएर कमजोर प्रवृत्तिलाई निरुत्साहित गर्दै लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिलका बोर्ड सदस्य दुर्गा भण्डारीले श्रमजीवी पत्रकारको रोजिरोटी खोसिएको, तमाम समस्याबीच कोभिडले थप समस्या निम्त्याएको उल्लेख गर्दै छापाकेन्द्रित प्रेस काउन्सिल ऐनले बिधुतीय सञ्चारमाध्यमलाई समेट्न नसकेको अवस्थामा मिडिया काउन्सिल ऐन छिटो बन्नुपर्ने धारणा राख्नुभयो । प्राप्त फिडब्याकलाई बोर्डसमक्ष राखी नीतिगत व्यवस्थाको लागि पहल गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिनराज कुइँकेलले जिल्लाको पत्रकारिताको अवस्थाबारे उल्लेख गर्नुहुँदै कोभिड महामारीमा हरेस नखाई फिल्डमा आएको, ८ जनामा सङ्कमण देखिएको, अर्थतन्त्र धरासायी बन्दा चरम संकटबीच काम गर्नुपरेको बताउनुभयो ।
लमजुङ दर्पण दैनिकका सम्पादक एवं शाखाका पूर्व अध्यक्ष कृष्ण केसीले परिवर्तनको वाहक मिडियाको व्यवस्थापनमा सरकार चुकेको बताउनुभयो । ‘काउन्सिल अभिभावक संस्था हो, पछिल्लो पाँच वर्ष काउन्सिलले धेरै राम्रो उल्लेखनीय काम गरेको छ, सिष्टम बसालेको छ तर धेरै गर्न बाँकी रहेकोे छ ।’ उहाँले बताउनुभयो । विज्ञापन केन्द्रमुखी रहेकोे अवस्थामा प्रदेश सरकारले लोककल्याणकारी विज्ञापन दिने निर्णयले राहत भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य किसान सङ्गीत नेपालीले यसबीच छलफल/संवादविहीन, सरोकारवालाबीच घरसल्लाह एवं भर्चुअलमार्फत् छलफल हुन नसकेको भन्दै काउन्सिलप्रति आभार व्यक्त गर्नुभयो । ‘कोभिड महामारीमा अग्रभागमा रहेर काम त ग¥यौँ, सचेतना एवं उत्साह ल्यायौँ कि ल्याएनौँ ? सूचना मात्रै बाँड्यौ कि ? समिक्षा गर्नुपर्ने र मिडियालाई खोज, अनुसन्धानमूलक बनाउनुपर्ने बेला भएको छ ।’ उहाँले भन्नुभयो ।
रेडियो मस्र्याङ्दीका स्टेसन मेनेजर मिना गुरुङले कोभिडपछि रेडियोको स्रोता बढेपनि बजार नहुँदा मिडिया हाउस जीवन÷मरणको दोसाँधमा रहेकोे बताउनुभयो ।
पत्रकार महासंघ लमजुङ शाखाका उपाध्यक्ष कृष्ण आले कोभिड–१९ को प्रभाव सम्बन्धमा कार्यदलले जिल्ला स्तरमा काम गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासन सहायक महेन्द्रराज सिंहले लकडाउन अवधिमा महत्वपूर्ण गतिविधिका साथै काउन्सिलको कामकारबाहीबारे जानकारी गराउनुभएको थियो ।
प्रेस युनियन लमजुङका अध्यक्ष ऋषि अधिकारी, लमजुङ रत्न साप्ताहिकका जुना ढकाल, गोरखापत्रका बेलिना थापा, रेडियो चौतारीका अनुज अधिकारी, लमजुङपत्र साप्ताहिकका परमेश्वर अधिकारी, अन्तरंग साप्ताहिकका नवराज पहाडी, सञ्चारिका समूहका शान्ता कमली, लमजुङ जागरण साप्ताहिकका कमला केसी, रेडियो लमजुङका रामजी राना, लमजुङ आवाज मिलन शर्मालगायतले पत्रकारका पीडा, दुःख, संघर्षलाई मलपट्टी लगाउनेगरि राहत, क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउनुपर्ने, रेडियो वर्गीकरण गर्नुपर्ने धारणा राख्नुभएको थियो । सहभागीले छलफल मात्रैले के आउटपुट आयो ? भन्दै जिज्ञासा राख्नुको साथै कोभिड सङ्क्र्रमणले सामाजिक विभेद खेप्नुपरेको पनि बताएका थिए । जिल्लामा ४ वटा एफएम, ६ वटा साप्ताहिक, एकवटा दैनिक पत्रिका सञ्चालनमा छन् । शाखाका सचिव सन्देश पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
Recent Comments