-गोपाल किराँती
महान जनयुद्वको बेला पश्चिमका मगर, दलित र थारु सामुदायिक रुपमै माओवादी बनेका थिए। त्यसपछि राजधानी वरिपरि ताम्सालिङ्का तामाङ्हरुको सामुदायिक उपस्थिति गणनामा आउँछ। अरु खसआर्य, नेवार, गुरुङ, राई-लिम्बू तथा मुस्लिमको ब्यक्तिगत सहभागिता मान्नुपर्छ। मधेसको चित्र भने फरक रह्यो, कार्यकर्ताको तहमा ब्यक्तिगत सहभागिता ब्यवहारले पुष्टि गर्यो। परन्तु, जनताको तहमा आम मधेसी माओवादी आन्दोलनमा संलग्न देखिन्थे। ०६०-०६२ तिर पटक-पटक हामी सिरहा, सप्तरी एवं धनुशा-महोत्तरीको भूगोलबाट यात्रारत रह्यौं। प्रत्यक्ष साक्षात्कार भएको तथ्य हो कि यो भूगोलमा, यहाँको गाउँ-समाजमा एक जना पनि बिरोधी थिएन, सुराकीको त कुरै नगरौं। सबै नागरिक पार्टीको कमरेड्ली सहयोगी थिए। अन्यथा सीमानास्थित मलङ्गवा कार्वाही गरेर सुरक्षित फर्कन जनमुक्ति सेनाको जीवनमा कसरी सम्भव हुन्थ्यो?
परन्तु, मधेस कसरी माओवादी बिरोधी कित्तामा पुग्यो? पार्टी अनुभव र आत्मसमीक्षाका आधारमा निम्न घटनाहरु प्रस्तुत छन।
१.गणतान्त्रिक अभियानको अस्वीकृत कार्यक्रम
शान्ति सम्झौता लगत्तै, ०६३ मंसीरमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा हामीले जोड्दार माग गरेका थियौं कि तत्काल मधेस गणतान्त्रीक अभियान सञ्चालन गरियोस! एवं रीतले ताम्सालिङ गणतान्त्रीक अभियान, थरुवान गणतान्त्रीक अभियान आदि। पार्टी केन्द्रीय समितिले हाम्रो प्रस्तावलाई गम्भीर रुपमा लिएन। पुन: ध्यानाकर्शन गर्दा प्रचण्डले भने “कार्यालयबाट मिलाउँला”। पूर्वमा ओखलढुंगा-सोलुको कार्यकर्ता नेचा बजारमा केन्द्रीत गर्ने र ईलामसम्म किरात गणतान्त्रीक अभियान सञ्चालनको तयारी गरियो। तर, केन्द्रीय कार्यालयले स्वीकृति गरेन र तयारी स्थगित गर्नु पर्यो।
अभियान मागको राजनीतिक पृशठभूमि थियो- शान्ति सम्झौताले जनयुद्वमा घोशित प्रदेश जनसरकारहरु बिघटन गर्यो। जसबाट, उत्पीडित जाति र क्षेत्रका जनता सशंकित बन्ने नै भए। त्यसमाथि “जो चोर, उसैको ठूलो श्वर” गर्दै एमालेका माधव नेपालले “माओवादीले संघीयता छोड्यो” भनेर कथित असहमति दुश्प्रचार गरिरहेको थियो। त्यस घडीमा एक मात्र सही कार्यक्रम पार्टीद्वारा गणतान्त्रीक अभियान सञ्चालन र जनसमुदायमाझ पार्टी नीति र स्थितिको सर्वत्र प्रश्टिकरण हुन्थ्यो। यदि प्रचण्ड-बाबुरामले त्यो अभियान स्वीकृति गरेका भए प्रश्ट थियो, जुन समय माओवादी कम्युनिस्ट बिरुद्द मधेसमा आन्दोलन उठाए, ठिक त्यस अगावै माओवादी पार्टीको “मधेस गणतान्त्रीक अभियान” प्रारम्भ गरिसकिएको हुन्थ्यो। जसले भ्रम चिर्ने, घेरा तोड्ने र अघि बढ्ने मार्ग स्वत: प्रशस्त गर्थ्यो।
२. लहान घटना
०६३ माघको पहिलो हप्ता चितवनमा राश्ट्रीय कार्यकर्ता भेला थियो। त्यहाँ जाने क्रममा लहानमा जुन घटना घट्यो, केन्द्रीय सदस्यको हैसियतमा राम कार्की जिम्मेवार छन। जहाँ माओवादीतर्फको गोली प्रहारबाट स्थानीय रमेश महतोको निधन हुन पुग्यो। घटना ब्यवस्थित गर्न हेडक्वार्टरबाट मातृका यादवलाई पठाईएछ। उनले अझ घिउ थप्ने मूर्खता प्रदर्शन गरे। किनकि, मातृका जीले अनाहक रमेश महतोको लास खोसेर लिए। मधेसमा अब त्यही भयो, जुन कुरा देशी-बिदेशी प्रतिकृयावादीहरु चाहान्थे।
राम कार्की जिम्मेवार यसर्थले कि ठिक पहिलो दिन बिहान ११ बजे हामी लहान पुग्यौं। हामी बिराटनगरबाट त्यही चितवन हिंडेका थियौं। लहान पुग्नासाथ दश आठ जना युवाहरुले गाडी रोके र यातायात बन्द रहेको बताए। कहिले खुल्छ, भनेर सोध्यौं। बेलुका ५ बजे खुल्ने बताए। हामी प्रहरी कार्यालय नजिक गयौं र ६ घण्टा चुपचाप बस्यौं। जब ५ बज्यो, मर्यादासाथ तिनै युवाहरु आएर भने -“लौ जानुस्, ५ बज्यो।” हामी सहजै पश्चिम लाग्यौं।
तर, राम कार्कीहरु भोलि ६०-७० जनाको टोलीमा आए, शक्तिको उन्मादमा बन्द अवज्ञा गरे। भिडन्त भयो, बन्दुक बोकेकाहरुले आन्दोलनकारीलाई गोली हानेर ढाले।
साथीहरु जनवादको भाशण दिन खुब सिपालु छन। तर, पहिलो दिन हामीले जस्तै बन्दकर्ताको जनवाद बोध गरिदिएको भए लहान घटना हुने कुरै थिएन।
३. गौर हत्याकाण्ड
लहानमा राम कार्की र मातृका यादवले प्रदर्शन गरेको उन्माद र दम्भपूर्ण मुर्खता गौरमा प्रभू साहले उत्कर्शमा पुर्याए। जुन मैदानमा फोरमले सभा मञ्च खडा गरेको थियो, त्यही मैदानमा, त्यही समय प्रभू साहले किन माओवादीको मञ्च खडा गर्नु पर्यो? त्यस उद्दण्डताका कारण वाईसीएलका २७ जना भाइ-बहिनीले बिभत्स बलिदान दिनु पर्यो। त्यही सिलसिलामा ईनरुवामा वाईसीएल जिल्ला नेता क. हरी बस्नेतको ज्यादै निर्ममतापूर्वक हत्या गरे।
यसरी मधेस गणतान्त्रीक अभियानको प्रस्ताव उपेक्षा गर्ने प्रचण्ड-बाबुरामदेखि तत्कालीन माओवादीका अनेकहरु स्वयंले उपेन्द्र यादव र बिजय गच्छदारलाई मधेसको मशिहा बनाइदिने काम गरे।
भूगोलसंगै नेपाली बनीआएका, तर सर्वहारावर्गका महान गुरु कार्ल मार्क्सको उचित शब्दमा अंग्रेजको सानो कुकुर राणा जंगबहादुरको अंग्रेज-भारती दलालीका कारण कठमाडौको सत्ताबाट युगौं उत्पीडित मधेसी जनताको मुक्तिमा नेपाली क्रान्तिको भविश्य निर्भर छ। क्रान्तिको यही तथ्य बुझेर हिजो कांग्रेसका सुजाता कोइरालादेखि एमालेका माकुने र खड्ग ओलीहरु त्यसरी माओवादी कम्युनिस्ट बिरुद्द लागिपरेका हुन। त्यसबाट शिक्षा ग्रहण गर्दै माओ लिखित “जनताको माझमा अन्तर्बिरोध सञ्चालनवारे” रचना अध्ययनका आधारमा नयाँ पुस्ताको माओवादीले डट्नै पर्छ। नेपाली कम्तुनिस्ट आन्दोलनमा समर्पित क. जयगोविन्द साहको योगदान एवं क. रामबृक्ष यादव र क. अजबलाल यादव लागायत योद्वाहरुको बलिदानको महान इतिहासबाट नयाँ पुस्ताले अखण्डनीय शिक्षा लिनै पर्छ।
नेपाली कम्युनिस्ट आन्दोलनको निर्णायक अंग मधेसमा माओवादी आन्दोलन पुनर्गठनको सैद्वान्तिक एवं ब्यवहारिक आधार वैज्ञानिक विचारधारा, क्रान्तिकारी राजनीतिक कार्यदिशा र सर्वहारावादी संगठन नै हो। नेकपा (माओवादी केन्द्र) को समग्रतामा विशेष रुपले मधेसको पार्टी सुदृढीकरणको समवेदनशील कार्यभार मधेसमा कार्यरत कमरेडहरुको काँधमा हुन्छ। सर्वहारावर्गको नेतृत्वमा श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता निर्माण एव समाजवादी निर्वाचन प्रणाली नै एक मात्र मधेसका पचाशौं लाख मजदुर-किसान मुक्तिको राजनीतिक कार्यक्रम हुनेछ।