नुवाकोट ।
नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रियस्तरको खुल्ला हाप्किडो प्रतियोगिता भएको छ । नुवाकोट जिल्ला हाप्किडो सँघको आयोजना र नेपाल हाप्किडो सँघ तथा बागमती प्रदेश हाप्किडो सँघको सहकार्यमा जारी प्रतियोगिता शुक्रबार उद्घाटन भएको हो । बेलकोटगढी वडा नम्बर ४ को अविसुरा सहिद स्मृति खेल मैदानमा आयोजित प्रतियोगितामा २४ जिल्लाका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिताको उद्घाटन गर्दै संघीय सांसद बिमला सुवेदीले नुवाकोटमा राष्ट्रिय स्तरको हाप्किडो प्रतियोगिता हुनु सुखद पक्ष भएको बताउनुभयो । जिल्लामा खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता वृद्धिका लागि आफूले सक्दो प्रयास गर्ने उहाँको भनाई थियो ।
यस्तै कार्यक्रममा बोल्दै बाग्मती प्रदेश सांसद रामप्रसाद ढुंगानाले जिल्लामा राष्ट्रिय स्तरको खेल हुनु सबैका लागि प्रेरणादायी भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश सदस्य नारायण नेपालले बेलकोटगढीमा खेलकुद क्षेत्रको राम्रो सम्भावना भएको बताउनुभयो । उहाँले स्थानीय स्तरमा भएको प्रयासलाई संघीय प्रदेश र स्थानीय सरकारसमेतले प्राथमिकतामा राखेर योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।
नुवाकोट जिल्ला हाप्किडो संघको अध्यक्ष बिकास गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको प्रमुख स्वकीय सचिव नवीन पुडासैनी, नेपाल हाप्किडो संघको केन्द्रीय अध्यक्ष काली बहादुर घर्ती मगर, जिल्ला खेलकुद बिकास समिती नुवाकोटको अध्यक्ष सन्तोष राई, नेपाल हाप्किडो संघको केन्द्रीय सचिव टिका राम घर्ती मगर, बागमती प्रदेश हाप्किडो संघको अध्यक्ष मनोज गुरुङ र प्रमुख प्रशिक्षक प्रविन गुरुङ लगायत सहभागी हुनुहुन्थ्यो ।









































