काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा नै बस्ने भएको स्रोतले बतायो । पार्टी केन्द्रीय कार्यालयमा आक्रमणको खतरा भन्दै बैठक सारिएको स्रोतले जनाएको छ ।
दुई अध्यक्षबीच विवाद हुँदा पार्टीभित्र आन्तरिक किचलो बढेको छ । आजको बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्नेछ ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी कमिटीमा लैजाने प्रयासमा छन् ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउन जोड दिने रणनीतिमा छ । बैठक माग गर्दै पाँचजना सचिवालय सदस्यले कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध पनि चलेको छ । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए । त्यसको जवाफमा ओलीले अर्को प्रस्ताव पेश गरेका हुन् ।
Recent Comments