– कृपा अधिकारी
बुवा शब्द आफैमा अर्थपूर्ण शब्द हो । संसारको हरेक कुनामा गएर खोजेता पनि बुवाको अर्थ एउटा सिंगो अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ । बुवा घरको जग हो, बुवा नै परिवारको उज्यालो हो । संसारको आठौँ आश्चर्य बुवा हो, जसलाई दिन मात्र आउँछ, सन्तानबाट कहिल्यै लिन आउँदैन ।
मेरो बुवा भन्ने गर्नुहुन्छ “जिन्दगी जिउनको लागि दुई तरिका सधैँ अपनाउनु :
– जे भइराख्या छ हुनदेउ, सहँदै जाउ, चुक्क नबोल, दबेर बस,
– र अर्को : आफ्नो जिन्दगी आफ्नै मुठ्ठीमा राखेर आफ्नै तरिकाले जिउनु छ भने, आफ्नो जिम्मेवारी आफैं उठाउ, आत्मबल दह्रो बनाउ, ती सबै उल्झनबाट आफु उत्रिनको लागि ।
बुवा जब खुशी हुनुहुन्छ तब आफ्नो सन्तानलाई आफ्नो काँधमा बोक्नुहुन्छ । काँधमा बसाउनुको पनि छुट्टै कारण छ । बुवा सोच्नुहुन्छ कि मेरो सन्तानले त्यो सबै कुरा देखोस् जुन कुराबाट म सदैव बन्चित थिए । हरेक बुवाको सपना हुन्छ, उसको बच्चाले आफूले भन्दा धेरै राम्रो गरोस् । बुवा हिम्मत हो, बुवा नै सन्तानको सुरक्षाकवच हो । बुवा सहारा हो, बुवा सन्तानको पहिलो मार्गदर्शन हो । मेरो बुवा नै संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति हो । मेरो बुवा नै मेरो परिवार हो । मेरो बुवा नै मेरो घरको जग हो। बुवा नै हो हामीलाई संसारमा सबैभन्दा अप्रदर्शित माया गर्ने। आमाको ओठको मिठो हाँसो बुवा हजुर हो। बुवा नै आमाको अभिमान हो , स्वाभिमान हो। बुवा नै हो हाम्रो सपनालाई पुरा गर्ने, जिम्मेवारी आफ्नो थाकेको काधमा सजाउने , बुवा नै हो आफ्नो परिवारको लागि आफैलाई आफैले पर कतै लगेर बेचिदिने व्यापारी।
बुवा हजुरले म सानो हुँदा मलाई मेरो हात समाउँदै डुलाउनु हुन्थ्यो। केहि पुराना याद कल्पन मन लाग्यो: म फतक्कौ गल्दा हजुर मलाई आफ्नो काधमै बोक्नुहुन्थ्यो , आफुले नदेखेका कुराहरु पनि मलाई देख्यौ? देख्यौ? भन्दै सोध्नु हुन्थ्यो । त्यति बेला मलाई लाग्थ्यो , मेरो बुवा त मलाई कति माथी सम्म उचाल्न सक्नुहुन्छ , मेरो बुवाले त यो घर नै उचाल्न सक्नुहुन्छ होला । बुवाले दिनरात नभनी घरमाथि परिवार माथि नै आफ्नो जवानी, इच्छा, आकांक्षा सम्पूर्णरुपमा समर्पित गर्नुभयो । बुवाले आफ्ना साना भाइबहिनीलाई सदैव माया गर्नुपर्छ भन्ने ज्ञान मेरो दिमागमा भरिदिनुभयो। केहि पाइन्छ भन्ने आशले पैसा ब्याज लगाउन दिएजस्तो होइन सम्बन्ध, एकोहोरो भएपनि उमेरको अनुभव र भोगाइले आफ्नो भाइबहिनीलाई सुविधा दिनुपर्छ भन्नुभयो ।
मैले मेरो बुवाले गरेको मेहनत राम्रोसँग देखेकी छु । बुवा बिहानै कोदालो, हलो, फोरुवा बोकेर खेतमा काम गर्न गएको देख्दा बुवाको लागि खान बनाएर लग्थेँ । म भ्यागुताजस्तै बुरुक बुरुक उफ़्रिन्थें, मेरो हातको सबै खाजा पोखिएर खाना मात्र बाकी रहन्थ्यो, मेरो बुवा आफ्नो बच्चाले ल्याएको भन्दै चिसो कुवाबाट बग्दै गरेको पानीले खाना मुस्दै खानुहुन्थ्यो ।
मेरो बुवाले लगाएको त्यो कछाड चुर्लुम्मै भिज्दा पनि उहा फोरुवाँले बाउसे गर्दै बस्नुहुन्थ्यो । त्यो फोरुवाले बुवाको हातमा फोकै फोका पारिदिन्थ्यो, त्यहि फोरुवाको बिँडले नै बुवाको फोका फुटाउँथ्यो । हजुरले खेत रोप्ने मेलो सहज पारिदिनुहुन्थ्यो । त्यसैले त आज हामीले हिरा जस्तै टल्कने सेतो चामलको भात खान सक्यौँ । जति नै दु:ख भएपनि हजुरको आँखा भिजेको कहिल्यै देखिनँ बुवा । हजुरको न कुनै दराज छ, न कुनै मदुस यति धेरै दु:ख हजुर कहाँ लुकाएर राख्नुहुन्छ ?
दुखेको त्यो खुट्टाले सकिनसकी झिजै झिँजा मसिना बाँसका सिम्ठा बोक्दै तरकारीको लागि झिक्रा बनाउनुभयो । तरकारी राम्रो होस् भनि डोकाकै डोका मल खन्याउनुभयो । त्यसले त आज त्यो सबै झिक्रा नै हरियाली हुनेगरी विभिन्न थरीका फलफूल फुलेका छन् नि है बुवा ?
मेरो सन्तानको भविष्य उज्यालो होस् भनेर दुनियासँग कति झुक्नु भयो होला है ? तर आज हजुरकै सन्तानले महेनत नै नगरी भाग्यलाई दोष दिँदै बस्दा हजुरको सपना त बन्द सटरभित्र खापिँदै खापिँदै ढुसी लाग्दै गुम्सेको पो रहेछ ।
बुवा हजुर बजार जानहुन्थ्यो तर कैँयौ दिनको पसिनाको कमाइले आमालाई साडी ल्याइदिने सपना राख्नुहुन्थ्यो । बुवा हजुरको खल्तीमा पैसा नहुँदा पनि त्यहि साडी हेर्दै जाने हेर्दै आउने गर्नुहुन्थ्यो । कामदेखि घरमा आउन एकमुष्ठ पारेको पैसाले आमाको सुन्दर मुहारमा खुशि छर्नको लागि किन्देको त्यो साडी हेर्दा मलाई लाग्छ मेरो बुवा संग टन्नै पैसा छ ।
त्यो साडी त्यती बाक्लो रैछ कि मेरी आमाले आजसम्म अर्को साडी फेरौँ न भनेर बुवालाई कहिल्यै भन्नै सक्नुभएन । म अझै दोधारमै छु, आमाको साडी निकै बाक्लो थियो ? या बुवाको खल्ती पातलो ? आमाको कहानी सबैको मुखबाट सुनिन्छ तर आमालाई सफल बनाउन आफ्नो काँध नै दाउमा राख्ने बुवाको इतिहास कसैले पढ्दैन, किन ?
हरेक बुवाको चिन्ता हुन्छ कि मेरो सन्तानले म अपहेलित भएको ठाउँमा पाइला नटेकुन । बुवाले बारम्बार झक्झकाउने गर्नुभएको छ । आफ्नो जीवनमा आइपरेको काँडा आफैं निकाल्नु पर्दछ भनी, बुवा आमाको आशमा कहिल्यै नबस्नु, जति नै हुनेखाने भए पनि माइतिको धाक नलगाउनु, माइतीको सम्पति भनेको मुतको न्यानो मात्र हो । बुवा आमाको अनुपस्थितिमा पनि आफ्नो जीवनलाई उत्तिकै सार्थक बनाउन सक्नु ।
छोरा-छोरि भएर अर्को कुरा पनि याद गर्नु:
-जसले तिम्रो हृदयलाई प्रेम गर्छ, उसलाई हृदयदेखि सम्मान गर्नु । म मेरो सन्तानलाई मैले रोजेकोसँग विवाह गर्नुपर्छ भनेर कुनै प्रकारको करबल गर्दै गर्दिन, तर जसले तिम्रो अस्तित्वको पूजा गर्छ, त्यो मान्छेलाई ढुंगाले कदापी नहान्नु ।
-बिना घाउको पीडा कसैलाई नदिनु र आफूपनि नसहनु ।
हजुरले आफ्ना आफन्तसँग कुरा गर्दागर्दै सुनेकी छु, हजुर भन्ने गर्नुहुन्छ रे यो सबै बच्चामाथिको जिम्मेवारी हो मेरो, बुवा हजुरले कसरी सोच्नु भयो कि सबै हजुरकै जिम्मेवारी हो हामीमाथि भनेर ? हजारौं जुनी चुकाउन सक्दैनौं हजुरको त्यो सबै मायाको ऋण थियो हामीमाथि, बुवा, जब दुनियाँले मुख बटारेर हिँड्छन्, असफलताको आँशु बनेर आँखा नै ओभानो हुन दिँदैन, त्यसै बेलामा हामीलाई परबाट एक आवाज आउँछ, हामीले त्यो सुन्न सक्नुपर्छ जुन आवाज हाम्रै मुटुमा धड्किरहेको हुन्छ, अनि भन्नु हुन्छ किन ? किन चिन्ता लिन्छौ ? म सधैं तिमिसँगै तिम्रै छाँया बनेर हिँडेको हुन्छु । बुवा तब पनि भन्नुहुन्छ मेहेनत गर, म छु । बुवाको यहि कुराले हामीलाई थप हौसला दिन्छ, त्यसैले त कम्मर कस्न सकिन्छ नि बुवाको चिन्तालाई सफलतामा बदल्न।
– कस्तो माया हो बुवा यो ? घरमा मिठो तरकारी पाक्दा हजुरलाई कहिल्यै भोक नै लाग्दैन ?
– बुवा कस्तो माया हो यो ? हजुरको लहरे खोकीले हल्ला भयो भन्दै म कानमा चर्को आवाजको गीत लगाएर सुत्छु, लोडसेडिङ भएपछि हजुर उठ्नै नसक्दा पनि मेरो सामु आएर मलाई नै कापीको हाते पंखाले हम्काउँदै बस्नुहुन्छ ।
कस्तो प्रगाढ सम्बन्ध यो बुवा र सन्तानको ! बच्चा थोरै पीडामा भएपनि आफैं अगाडि आएर सबै दु:ख पानी पिएजस्तो घुटुक्क निल्दिन्छन्, बुवा मेरो मन बिनाकारण दुःखी हुन्छ, हजुर भोकै बसेर दमित आवाजमा रुनुहुन्छ, बिनाआवाज, बिना आँशु बुवा रुनुहुन्छ, आफ्नो बच्चाको दु:खको काँडा आफ्नै पोल्टोमा सिउरिनुहुन्छ, त्यो काँडाले बुवालाई कति घोच्छ होला है ? तर कहिल्यै आफ्नो घाउ देखाउनु नै हुन्न ।
बुवा जिन्दगीमा प्रगति होला नहोला त्यो त अनुमान लगाउनै सक्दिनँ, तर मनलाई बेस्सरी दुःखले च्यापेको बेलामा आफ्नो बुवाको काखमा आएर रुन सकें भने पनि मलाई सात जूनी रुन नपर्ने आशिष हजुरको अँगालोले दिन्छ जस्तो लाग्छ ।
सानैबाट सन्तानले बुवा आमालाई प्रयोग गर्दै आयौं, कहिल्यै भीडमा हराइन्छ कि भन्ने डरले हरेक ठाउँमा आफ्नै साथ लग्यो, उहाँको हात कहिल्यै छोड्नै खोजेन मात्र आफ्नो स्वार्थको लागि । जब उहाँलाई हाम्रो साथको आवश्यकता रह्यो, हामी कहिले पढाइको बहानाले, कहिले आफ्नो इच्छाको बहानाले, कहिले स्वतन्त्रताको बहानाले आफूबाट निकै टाढा गर्न खोज्यौं ।
त्यो बुवाआमा नै हो आफ्नो सन्तानको लागि आफुसँग भएको अन्तिम चिज पनि बेचिदिने । आमाको ति ढिके फुलि, बुवाको लालपुर्जा बेचेर हामीले आफ्नो सपना पुरा गर्यौं तर बुवाआमाको अन्तिम स्वासमा पनि हामी उहाँहरुलाई मठमै सुताएर दराज फुटाल्दै उहाँकै ज्यूनी खोज्न पनि पछि पर्दैनौं । अब हामी सबैले आफैं बिचार गरौं न त के हामीहरुले उहाँहरुलाई उहाँहरुले जत्तिकै निश्चल माया गरेका रहेछौं त ?
म अझै पनि दोधार मै छु हाम्रो लागि दु:ख गर्दागर्दै गलेको त्यही शरीरमाथि चढेर हामीले देखेका सौन्दर्य सपना पूरा भए, भने हामी उहाँहरु सँगै बसेर उहाँले पूरा गरेको जिम्मेवारीको ऋण चुकाउन सक्छौं होला ? या फेरी पनि बहाना बनाउँदै पर-पर भाग्छौं होला ?
आफ्नो सन्तान भन्दाभन्दै परिवारलाई संस्कारी मुर्तीमा राख्दा-राख्दै, बुढेसकालमा पनि नथाक्ने त्यो बुढो काँधको भारी अब हामीले आफ्नो काँधमा सार्न सक्छौ होला ?
बुवाले जवानीमा खर्चिएको सम्पूर्ण त्याग उहाँकै इच्छाको बलिदान, उहाँकै अस्तित्वको सम्मान गर्दै उहाँलाई नै त्यो सम्पूर्ण माया अब हामी फिर्ता गर्न सक्छौ होला ?
बुवाले हामीलाई सानो छँदा दिएको संस्कार, शिक्षा, सहि मार्गदर्शन, सुरक्षा, माया, त्यो काँधको जिम्मेवारी हामी अभिभावक हुँदा त्यो सबै कर्तव्य उहाँहरुले जस्तैगरी आफ्नो सन्तानको लागि पुरा गर्न सक्छौं होला ?
बुवाको सम्पति होइन बुवाको छाँया आफुसँग झल्कनु नै ठुलो आशिर्वाद हो । मैले संसारमा सबैभन्दा बढि बिश्वास गर्ने ब्यक्ति नै आफ्नो बुवा हो, उहाँको पेट दश दिनकै भोको किन नहोस् तर उहाँले आजसम्म आफ्नो इमान बेचेर क्षणिक खुशी हुने दुश्प्रयास कहिल्यै गर्नुभएन ।
मलाई मेरो जीवनको अन्तिम क्षणसम्म आफ्नो जीवनदाताको कथा कोर्न मन छ । सम्पूर्ण बुवाहरुमा धेरै माया, अब त आफ्नो काँधको भारी बिसाइदिनुस् न है ? कुशेऔँशीको हृदय देखी नै सम्पुर्ण बुबाहरुमा समर्पित यो शुभकामना !