काठमाडौँ।
प्रवासी नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्षमा नुवाकोटको जिलिङका राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै पुडासैनी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
पुडासैनीले एक हजार ४८२ मत प्राप्त गर्नुभयो भने खरेलले नौ सय ७७ र खत्रीले ४९६ मत प्राप्त गर्नुभयो । संघको उपाध्यक्षमा उज्ज्वल कार्की, डा. रक्षा थापा र रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटाले विजयी हुनुभएको छ । सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्ष पदमा राममाया विष्ट थापा विजयी हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई महशुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको बताउनभयो । अध्यक्ष पुडासैनी नुवाकोटको बेलकोटगढी नगरपालिका जिलिङका स्थानीय बासिन्दा हुनुहुन्छ । नेपाल रहँदा सामाजिक राजनीतिक गतिविधिमा सक्रिय पुडासैनी संस्थागत नेतृत्वमा रहेर नतिजामुखी सामाजिक कार्य गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।