काठमाडौं ।
कोरोना भाइरसको संक्रमणको त्रासले काठमाडौं छोड्ने यात्रुको चाप बढेपछि यातायात व्यवसायीले शनिवार दुई सय गाडि थप्ने तयारी गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप थेग्न मुस्किल भएकाले बस थप्न लागिएको जानकारी दिए ।
सरकारले पर्सि सोमबारदेखि लामो दुरीका सार्वजनीक यातायात सञ्चालनमा रोक लगाएपछि काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको हो । यात्रुलाई सहज र सुरक्षीत रुपमा गन्तव्यमा पुर्याउनका लागि आवश्यक व्यवस्थापन गर्न सरकार र यातायात व्यवसायी छलफलमा जुटेका छन् ।
यातायात व्यवसायीसँग छलफल गरि यात्रुको व्यवस्थापनबारे निर्णय लिइने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । आवश्यक परे सरकारी गाडिहरुसमेत यात्रु ओसार्नका लागि सञ्चालन गर्नेबारे छलफल भइरहेको उनले बताए ।
कोरोना संक्रमणको त्रासले सरकारले अत्यावस्यक बाहेकका सेवा दुई हप्ता बन्द गर्ने घोषणा गरेसँगै दशैँकै झल्को दिनेगरी यात्रुहरु काठमाडौंबाट बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ८ सय ८२ यात्रु बाहिरिएका छन् । आज र भोली यो संख्या बढ्ने यातायात व्यवसायीको अनुमान छ ।