शुसिला खतिवडा पाण्डे
कमरेड राम प्रसाद पाण्डे (पार्टीले भुमिगत कालमा राखेको नाम विक्रम) लाई भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । मेरो प्रिय जीवन साथी तपाईंलाई मिठो सम्झना । तपाईं र मेरो विवाह हुँदा तपाईं २७ बर्षको र म १४ बर्षकी थिएँ । हाम्रो विवाह २०५२ साल माघ ८ गते भएको हो । हाम्रो उमेरमा अन्तर भए पनि भावनामा अन्तर थिएन । म उमेरले केटाकेटी भए पनि विचारमा पनि विभेद थिएन ।
म राजनीतिमा पाको नभए पनि म एक जना असल कम्युनिस्ट सँग विवाह भएको छ भन्ने राम्रै बुझ्दथेँ । किन भने मलाई आमा बुवा र अंकलहरुले कम्युनिस्ट परिवारको एकजना राम्रो केटासँग तिम्रो विवाह हुँदैछ भन्ने बताउनु भएको थियोे । हामी बीच अत्यन्तै राम्रो सम्बन्ध थियोे । एकआपसमा ज्यादै गाडा प्रेम बसिरहेको थियोे । विवाह भएको २३ दिन पछि नेकपा (माओवादी)ले जनयुद्धको थालनी गर्यो । मलाई त त्यति थाहा थिएन तर तपाईंले जनयुद्धको बारेमा बताउने गर्नु हुन्थ्यो ।
मलाई क्रान्तिकारी पार्टीको एक जना असल कार्यकर्तासँग विवाह भएको छ भन्ने कुरा मात्रै थाहा थियोे । दिनहरु वित्दै जादाँ तपाईँ दिनदिनै युद्धको कुरा गर्ने, युद्धमा खट्ने नेता कार्यकर्ताहरुलाई सहयोग गर्ने एवम् युद्धको मोर्चामा खट्न थाल्नु भयो । तपाईंको दिनचर्या दिउँसो अाफ्नो पेसा समाल्ने र रातमा पार्टीको काममा खट्ने हुँदै बितिरहेको थियो । यही वीचमा २०५४ साल कार्तिक १० गते हाम्रो परिवारमा छोरा विजयको अागमन भयो । विजयको जन्मसँगै फेरि हामीले अरु नयाँ सपनाहरु देख्न थालेका थियौँ । छोराले ५ महिना बित्न नपाउँदै त्यही सालको चैत २४ गते जुन दिन पार्टीको आह्वानमा नेपाल बन्द थियोे त्यस दिन पार्टीको जिम्मेवारी समाल्ने क्रममा नै तपाईँ गिरफ्तारीमा पर्नु भयो । हाम्रो सपनामा बज्रपात भयो । मलाई एकातिर छोरालाई कसरी पाल्ने, कसरी हुर्काउने भन्ने पिर र ताप सँगै तपाईँलाई के गर्ने हो, के हुने हो भन्ने चिन्ता पनि त्यत्तिकै हुने गर्थ्यो । हुने कुरा भैहाल्यो टारेर टार्न सक्ने अवस्था पनि त थिएन । यो क्रम ५ वर्षसम्म चल्यो ।
५ वर्ष पछि २०५९ साल चैत्र २८ गते तपाईँ जेलबाट मुक्त भएर अाउनु भयो । जेलबाट छुटेर आउनु भए पछि म धेरै खुसी भएँ । तर घरमा पेसा गरेर बस्न सक्ने अवस्था थिएन । फेरि पनि गिरफ्तार गरेर लैजाने जे पनि गर्न सक्ने अवस्था थियोे । त्यही बीचमा फेरि तपाईँ पार्टीको सम्पर्कमा जानु भयो । पार्टीले तपाईँलाई विश्वास गरेर थप जिम्मेवारी दियो । तपाईँले भुमिगत जीवन बिताउने निधो गर्नु भयो । जिम्मेवारी अनुसार तपाईँ पार्टी काममा निरन्तर रुपमा खटिरहनु भयो । तपाईँ पार्टीको काममा लाग्दा मैले जतिसुकै दुख अभाव झेल्नुपरे पनि एक जना क्रान्ति योद्धाको जीवन साथीको हैसियतले गर्व गरेर हिँडिरहेकी थिएँ । मैले कोही सँग गुनासो गरिन । भिख मागेर हिँडिन । पार्टी र तपाईँको इज्जतमा कुनै दाग लगाउने काम गरिन । बरु गौरवका साथ मैले पनि पार्टीको काममा सकेको सहयोग गरिरहेकि थिएँ ।
हिजोको सुरुको दिनमा हामी दुई वीचको सुन्दर भविष्य र छोरा जन्मे पछि छोराको भविष्यको बारेमा जसरी सोच्थेँ पछिल्लो दिनहरुमा पार्टी र पार्टीले चलाएको जनयुद्धको भविष्य तिर सोच्न सक्ने भएकि थिएँ । जनयुद्धको सफलता सँगै देश र जनताको भविष्यसँग हाम्रो परिवारको सुन्दर भविष्य जोडेको देख्न चाहन्थेँ । २०६२ साल माघ १३ गते नुवाकोट जिल्ला भद्रुटार गाविस वडा न. १ हाल पञ्चकन्या गापा वडा न.५ स्थित घर भन्दा अलि पुर्व कुणडला मावि नजिकैको खोल्सामा निसश्त्र अवस्था रहेको तपाईँलाई नेपाली सेनाले घेरा हालेर गोली प्रहार गर्यो । एकजना जनताको छोरा, क्रान्तिकारी योद्धालाई अचानक हामी बीचबाट खोसेर लग्यो । त्यो गोलीले तपाईं मेरो श्रीमान, जीवन साथी, छोरा विजयको बा, दिदीबहिनीहरुको एकजना माइती, दाजुहरुको प्यारो कान्छा भाइ, सोझा आमा बुवाको मुटुको धड्कन र गाउँलेहरु र आफन्तहरुको एकजना प्रिय साथी र मित्रलाई कहिल्यै उठ्न नसक्ने गरि ढालेर छोड्यो । तपाईँलाई ढालेको र हामी बीचबाट खोसेर लगेको पनि आज १४ वर्ष पुरा भएर १५ वर्षमा प्रवेश गरिसके छ ।
अब म मात्रै छैन छोरा पनि हुर्किसकेको छ । हामी गरेर खान सक्ने भएका छौँ । तपाईँलाई मैले मात्रै होइन पार्टी, आफन्तहरु र चिनजानका सबैले सधैंभरि संझिरहने छन् । तपाईँ अमर सहिद बन्नु भएको छ । मैले त नसम्झेकि कुन क्षण हुन्छ र ? आज १४ स्मृति दिवसको दिन तपाईँलाई विशेष सम्झना सहित मन मुटुदेखि नै भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु
Recent Comments