राधा पाण्डे
गैंडाकोट, नवलपुर
भन्नुस् न बिष्ट हजुर !
बिन्ती बिसाउन पाइन्छ, पाइदैन ?
हुन त मैले यहाँ
तपाईंलाई ठाडो शिर गरेर
नजर लाउन बन्देज छ !
तर तपाईंलाई म र मेरा छुन, छाम्न, चाख्न,
निमोठ्न, चिथोर्न, अधिकार छ!
किनकि म गरिबसँगै दलित पनि हुँ ,
मैले त पानी छुनुहुँदैन, तपाईंलाई छुनुहुँदैन ।
यो भूगोलको अधिकांश नदि किनारहरु –
भेरी, कोशी, कर्णाली,
सेती, काली, नारायणी,
बिष्णुमती, बाग्मती,
सबै त्रिबेणी र रिँडीहरुका
नदि किनारहरुमा,
मजस्ता गरिब दु:खी दलितहरु,
शौच गर्न बाध्य छौं ।
तिनै किनारमा तपाईं,
पुन्य कमाउन यज्ञ लगाउनुहुन्छ ,
पानी छुन नहुने मैले टेकेको धर्ती छोइदैंन र हजुर ?
जुन नदिमा म मेरो फोहोर पखाल्छु ,
त्यहीँको पानीलाई
पवित्र जल सम्झेर
तपाईं पाप पखाल्नुहुन्छ
यो मैले नबुझेको कुरा बिष्ट हजुर !
म पानी नचल्ने दलित
तपाईंको आँगनको बिचमा पुग्न नहुने अछुत ,
तपाईंको गोठमा भकारा सोहोर्ने म,
मेरी स्त्रीका हातको तीनपाने
तपाईंलाई चल्छ !
उस्को जवानी चल्छ !
तले घरको बार्तलिमा,
फनफनी घुमेको पंखाले पनि
छट्पटी भएर,
तपाईं दिनहुँ सितल्लिन गोठतिर झर्नुहुन्छ,
म अछुतलाई छोएको हावाले
तपाईंलाई सित्तलता प्रदान गर्दा
तपाईंको पवित्र तन छोईएन र,
बिष्ट हजुर ?
म अछुत,गरिब भएकै कारण
तपाईंसामु ठाडो शिर गरेर
बोल्न नसकेर
आफ्नी स्त्री तपाईंको अंगालोमा
कैयौंपटक नदेखेझैं गरेको छु!
यसपटक ऊ पर सरिन र ,
बिष्ट हजुरसंग बिन्ती बिसाएको हजुर !
उमेरका र राम्रा हाम्रा स्त्रीहरु कहिल्यै छोइन्न तपाईंलाई ?
भन्नुस् अब ,
उसले जन्माएको सन्तान
छोइन्छ कि छोईन्न ?
भन्नुस् त्यो सन्तान तपाईंको कुलमा चल्छ कि चल्दैन ?
पर्दाभित्र अर्थात् बन्द कोठाभित्र
हाम्रा आमादिदी बहिनी तपाईंलाई चलिरहँदा ,
समाजसामु हाम्रा हातको पानी किन चल्दैन बिष्ट हजुर ?
तपाईंका कमजोरी माफ हुन्छन्
हाम्रा कमजोरी यहाँ कलंक बन्दछन्
रिसानी माफ होस् बिष्ट हजुर !
म आज यत्ति बिन्ती बिसाउन तपाईं सामुन्नेमा आ’को
जदौ बिष्ट !
जदौ !!








































