नुवाकोट ।
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ शनिबार दिनभरजसो गृहजिल्लामा व्यस्त रहनुभयो । जिल्ला पार्टी कार्यकर्ता र स्थानीय जनताले आयोजना गरेका बधाई र शुभकामनाका कार्यक्रम मात्रै होइन मन्त्रीले जनता भेटघाट र सहिदलाई सम्मानमा समेत समय दिनुभयो । मन्त्रीसँगको भेटघाटमा स्थानीयले जिल्लाको भूमि समस्या समाधान गरिदिन भूमिका खेल्न र स्थानीय पर्यटनलाई प्राथमिकतामा राख्न अनुरोध गरे । शनिबार बिहान लिखु गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले जिल्लाको अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधानका लागि आफ्नो तर्फबाट सकेजति पहल हुने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री नियुक्त भएपछि पहिलोपटक जिल्ला पुग्नुभएका तामाङलाई स्थानीय नेता कार्यकर्ता र सर्वसाधारणले उल्लासपूर्वक स्वागत गरे । मन्त्री तामाङले लिखु पट्टाबारीमा सहिद परिवारलाई भेटेर उहाँहरुका गुनासा समस्याका बारेमा जानकारी लिनुभयो । जनयुद्धका सहिद नवराज अधिकारीकी आमासँगको भेटमा मन्त्री तामाङले राज्यले सहिदको सम्मान र सपनाअनुरुप काम गर्नेमा आसावादी हुन अनुरोध गर्नुभयो ।
यस्तै मन्त्री तामाङले पूर्वमन्त्री स्वर्गीय पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान पिपलटारमा पुगी बोगटीको सालिकमा माल्यार्पणसहित सम्मान व्यक्त गर्नुभयो । मन्त्री तामाङ लिखु छहरे, विदुर र जन्मगाउँ घलेभञ्ज्याङमा पुगेर नेता कार्यकर्ताले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सहभागी हुनुका साथै स्थानीयसँग भेटघाट गर्नुभएको छ ।
घलेभञ्ज्याङको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले आफू निर्वाचित क्षेत्र जिल्ला मात्र नभइ देशैभरका नागरिकलाई परिवर्तनको अनुभूत हुनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । संस्कृति पर्यटन र नागरिक उड्ययनको क्षेत्रका तत्कालका समस्या समाधान गरी नतिजामूखी काम गर्नेतर्फ आफू केन्द्रित भएको उहाँको भनाइ थियो । पार्टी, जनता र मतदाताको साथ, सहयोग र सुझावका आधारमा काम गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री तामाङ शनिबार नै राजधानी फर्किनुभएको छ ।








































