नुवाकोट ।
नेकपा माओवादी केन्द्रले सुरु गरेको ३ महिने जनतासँग माओवादी अभियान अन्तर्गत नुवाकोटको म्यागङ गाउँपालिकामा सोमबार पदाधिकारी बैठक बसेर अभियानको खाका तयार गरेको छ । माओवादीले “दिम दिम री माओवादी ! सेम सेम री माओवादी !! भन्ने नाराका साथ अभियान थालेको हो । दिम दिम री भनेको घर घर र सेम सेम री भनेको मन मन भन्ने बुझिन्छ ।
नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश सचिवालय सदस्य हिरानाथ खतिवडाको विशेष उपस्थितिमा बसेको बैठकले म्यागङमा दुई चरणमा अभियान चलाउने निर्णय गरेको छ । अभियानको पूर्व तयारीका लागि मंगलबार वडा नं १ र ४ मा बैठक बस्ने १३ गते बुधबार वडा २ मा १४ गते बिहिबार वडा ३ ५ र ६ मा बैठक बस्ने तय भएको छ ।
बैठकले सोमबार नै १० सदस्यीय अभियान सचिवालय गठन गरेको छ । सचिवालयमा रामबाबु फुयाल, नारायण नेपाल, रामचन्द्र पौडेल, सुकसागर तामाङ, बुद्धिबहादुर तामाङ, सम्झना तामाङ, सोम बहादुर तामाङ, राजकुमार थापा, राजु तामाङ र जमुना तामाङ रहनुभएको छ । भदौ १६ गते पालिकाका सबै वडामा अभियानको औपचारिक उद्घाटन हुने नेकपा माओवादी केन्द्र म्यागङले जनाएको छ ।