सेयर
बलराम तिमल्सिना
पासा !
कहिलेकाहीं
एति झोक चर्छ नि देश देखेर
त्यो सबै झोक
कविताले मात्र बोक्न सक्दैन
त्यसपछि म निस्कने हो
झण्डा बोकेर सडकमा
जिन्दावाद भन्दै
मुर्दावाद भन्दै
त्यसलाई अन्यथा नलिनू है पासा !
कहिलेकाहीं
एति गहिरो शोक चल्छ मनमा
देशको कन्तबिजोक देखेर
शोकको सबै भारी
बोकाइदियो भने कवितालाई
कविता शोकको बाढीमा बगेर बेपत्ता बन्छ
त्यसपछि
कविताले बोक्न नसक्ने भारी
म अरु नै चिजलाई बोकाउँछु
मैले त्यसो गर्दा
त्यो राजनीति बन्छ भने
त्यसमा मलाई फिकर छैन पासा !
म देख्छु
ठूलो माछाले सानो माछालाई खाइरहेछ
ठूलो मान्छेले सानो मान्छेलाई खाइरहेछ
ठूलो देशले सानो देशलाई खाइरहेछ
ठूलो भन्ने जातले
सानो भन्ने जातलाई खाइरहेछ
खरवले अरवलाई
अरवले करोडलाई
करोडले लाखलाई
लाखले हजारलाई
र हजारले सयलाई
लेखेटीरहेछ
ङ्याकिरहेछ
चिथोरीरहेछ
चुसिरहेछ
र उकालो चढिरहेछ
ती सबै अत्याचार गर्नेहरूलाई
धेरै पटक सुनाएँ मैले
करुणा र परोपकारका कविता
चुम्वन र आलिङ्गनका कविता
तर जति कविता सुनाए पनि
समाजको दु:ख घटेन
दु:खको कारण घटेन
त्यसपछि हो
मैले बर्गको कुरा
बर्ग सङ्घर्षको कुरा
र बर्ग अधिनायकत्वको कुरा झिकेको
मैले त्यसो गर्दा
कसैलाई नमिठो लाग्यो होला
म छुचो बनें होला
म आतङ्ककारी बनें हुँला
मलाई माफ गर्नु पासा
कविताले बोक्ने भारी कविताले बोक्छ
कविताले बोक्न नसक्ने भारी
जसले बोक्न सक्छ उसैले बोक्नु पर्छ
मैले यसो भन्दा
म कविताको सत्रु बन्छु र पासा ?
२०७८ कार्तिक ११
माइतीघर
shere this