नेपालगञ्ज ।
बाँकेको नेपालगन्जमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै आज एकैदिन १६ जनामा संक्रमण पुष्टी भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगन्जकै थप ६ जनामा कोरोना पुष्टि भएको जनाएको हो।
उनीहरु यसअघि आजै पुष्टी भएका १० संक्रमितकै परिवारका सदस्य र नातेदार रहेको बताइएको छ। आइतवार दिउँसो मात्रै नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो । यही शुक्रबार त्यहाँका एकजना ६० वर्षीय मुस्लिम धर्मगुरुमा पहिलो कोरोना संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जमा ७ वर्षीयदेखि ५८ वर्षीयसम्मलाई कोरोना देखिएको जानकारी दिएका छन्।
कोरोना सङ्क्रमितको परिवार तथा आफन्त र सम्पर्कमा रहेका ८३ को स्वाब परीक्षणका क्रममा तिनको पोजेटिभ भेटिएकाले अरु पनि भेटिन सक्ने जनाइएको छ ।
बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ। आइतवार वीरगञ्जमा पनि एकजना संक्रमित भेटिएका छन्। हालसम्म संक्रमितमध्ये १६ जना निको भइसकेका छन् ।
Recent Comments