– नारायण नेपाल
चेतना आज पीडा हो, भेडाको निम्ति चेतना
अझै मर्मान्त पीडा हो, बाटै देख्दैन उम्कन !
ब्यूँझनै पनि पीडा हो, बरु मीठो निदाउन
चेतना तर ब्यूँझन्छ खोरैभित्र नहोस् किन ।
आदर्श मरेको कम्युनिस्ट आन्दोलन, दृष्टिकोणविहीन कार्यकर्ताहरूको हुल र बदलिएको सामाजिक यथार्थमाथि तिखो कटाक्ष बोल्नेमाथि उल्लिखित हरफहरू स्वयम् पीडा कठैबरा ! शीर्षकको कविताको एक हरफ हो । यी हरफहरूमार्फत साहित्यकार शारदारमण नेपालले व्यक्त गर्नुभएको विचार र दृष्टिकोणमाथि एकपटक गहिरो घोत्लिएर यो आलेखको आरम्भ गरेको छु ।
हरेक मान्छेका आ–आफ्नो कर्म छ । त्योभित्रको मर्म छ । त्यसमा जहाँ भौतिक जीवन छ, विचार छ, दृष्टिकोण छ र त्यो झल्कने व्यवहार छ । भौतिक अस्तित्व समाप्त भएपछि चेतनाको खोजी गर्दैगर्दा अपमानको जीवन बाँचेर होइन, स्वाभिमानको शिर उचालेर वाम आन्दोलनको नायकत्व गर्दै किनारामा उभिएका एक योद्धा कम्युनिस्टहरूका गुरु गणेश पण्डित हामीबीचबाट यो भौतिक जगत्मा अस्ताएका छन् । उहाँँ हामीसामु अस्ताएसँगै राजनीतिका कैंयन सत्यहरू अब उनीसँगै खरानी बन्नेछन् । पात्र, प्रवृत्ति, चित्र र चरित्रको सत्यता अब रहस्य बन्नेछ । नलेखिएको एक इतिहास अब एकादेशको कथा बन्नेछ, नयाँ पुस्ताको सामु ।
सुखानी हत्याकाण्डको स्मृति दिवस फागुन २१ गते हामी नुवाकोट प्रलेसको नयाँ समितिसँग छलफलमा थियौँ । नुवाकोटका नयाँ र पुराना पुस्ताको बीचमा जमघट गराउने सोचसहित योजना कोर्दै थियौँ । प्रगतिशील लेखक संघको सम्मेलनसँगै गणेश पण्डित र शारदारमण नेपालको नामै लिएर वक्ताहरूले बोलेका थिए । तर यो योजना गर्भमा अंकुराउन नपाउँदै हाम्रो सत्य इतिहासको साक्षी आन्दोलनका नायक र आस्थाको धरोहर राक्सेश्वरको जंगलमा ढलेको खबरले समाजिक सञ्जालमा सनसनी पायो ।
कविलास राक्सेश्वरको जंगल पञ्चायतकालीन कम्युनिस्टहरूको जमघट भेला प्रशिक्षणको सुरक्षित थलो थियो । तर यतिबेला यो क्षेत्रको बृहत् गुरुयोजना निर्माण गर्दै सांस्कृतिक र पर्यटकीय सम्पदा निर्माणको अभियानमा साथ दिन पुगेका गणेश पण्डितलाई हृदयघातका कारण हामीले सदाको लागि गुमायौँ । उहाँँको निधनसँगै सामाजिक सञ्चारका माध्यम र चियापसल चोकहरूमा उहाँको बारेमा विभिन्न चर्चाहरू चलेका छन् । नुवाकोटको शिखरबेसीमा हुने खाने सम्पन्न परिवारमा २००२ सालमा जन्मिएका पण्डित कमाउनभन्दा गुमाउन नै कम्युनिस्ट आन्दोलनमा उद्यत देखिएका थिए जीवनभर ।
नेकपाको दरभंगा प्लेनमपछि श्यामप्रसाद शर्माको नेतृत्वमा रहेको समूहको सगरमाथा–बाग्मती गण्डकी अञ्चलको संयुक्त कमिटीमा आबद्धताबाट वाम राजनीतिमा संगठित भएका थिए उहाँ । नुवाकोटको वाम आन्दोलनको इतिहासमा विचारधारत्म रूपमा युवा विद्यार्थीमाझ कित्ताकाट गर्ने काम २०२१ सालमा भएको पश्चिम १ नम्बर स्वतन्त्र विद्यार्थी युनियनको स्थापनाले गरेको थियो, जसको नेतृत्व गणेश पण्डितले गरेका थिए । नेपालको वाम आन्दोलन, शिक्षक आन्दोलन र विद्यार्थी आन्दोलनका एक सूत्रधार थिए पण्डित ।
सन् १९६६ देखि उत्तरी छिमेकी देश चीनमा कमरेड माओको नेतृत्वमा भएको चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभावबाट प्रभावित नेपाली युवा–विद्यार्थीहरूको नेतृत्वकर्ता थिए पण्डित । नेपालको बुर्जुवा शिक्षा र बुर्जुवा सर्टिफिकेट बहिष्कार गर्दै किसान–मजदुरहरूबाट सिक्ने अभियानको थालनीका अगुवा बनेका थिए । उनी गाउँ फर्किएर हलो समात्न पुगे । पञ्चायती राष्ट्र«वादी विद्यार्थी मण्डल खारेज र अनेरास्ववियु स्थापनाको प्रातःकालीन संघर्षको एक योद्धा थिए र नेकपा विभाजनसँगै उहाँ चौथो महाधिवेशन आयोजक समिति निर्मल लामा समूहमा लागेपछि । राजनीतिको सहयात्रा छुटेको पुराना कम्युनिस्ट नेता स्वनाम साथी बताउनुहुन्छ ।
पण्डित शिक्षक भएर शिक्षाको ज्योति बाल्दै कम्युनिस्टको बीउ रोप्ने प्रतिरोधी चेतना छरेका थिए, दल प्रतिबन्धित समयमा । पञ्चायतकालीन अवस्थामा नुवाकोटमा नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्षसम्मको नेतृत्व सम्हाल्नुभएको थियो । शिक्षक आन्दोलनको नेतृत्व गरेका पण्डितले नुवाकोेट जिल्लामा वाम विद्यार्थी आन्दोलन मूलतः अनेरास्ववियु छैटौँको संगठन र आन्दोलनको अभिभावकत्वसमेत निर्वाह गरेका थिए ।
पञ्चायती दमन र प्रतिरोधमा निरन्तर भिडिरहेका पण्डित पञ्च–कांग्रेसीहरूको बेला बेला सिकार भएका थिए । अमरज्योति मावि खरानीटारका प्रध्यानाध्यापक भएका पण्डितलाई विरोधीहरूले निरन्तर हमला गरिरहेका थिए । पञ्चायतकालमा जिल्लामा चर्चित खरानीटारकाण्डले गणेशमाथि आइलाग्ने दुश्मनहरूको सातो उडाएको थिए । पञ्चायती शासकको निशानमा परेका पण्डित किसान संगठन विस्तार गरेको आरोपमा पीपलटारबाट गिरफ्तार भई ११ महिना जेल परेका थिए । २०४२ सालको बमकाण्डको आरोपमा खरानीटारबाट गिरफ्तार भई जेलयातना भोगेका उहाँले बेपत्ता दिलिप चौधरीलाई बेहालत अर्धहोसमा महेन्द्र पुलिस क्लबमा भेटेका थिए तर दिलिप आजसम्म आएनन्, उनले कही कतै देखेनन् पनि ।
२०४३ सालमा नेकपा मालको जनपक्षीय उम्मेद्वारीको अभियान थियो । पण्डितले जनपक्षीय उम्मेद्वारी दिंदै मादल चिन्ह लिएर मैदानमा आएका थिए । भूमिगत कम्युनिस्ट नेताहरूले सेल्टर बनाउने गरेका थिए । नुवाकोटमा एकदेव आलेदेखि निर्मल लामाहरूले भूमिगत बेला प्रतिबन्धित समयमा यो क्षेत्रमा सेल्टर लिएका थिए । अधिकांश वामपन्थी विद्यार्थी र नेताहरूलाई शिक्षकको भूमिकामा जिल्लामा लगेर वाम प्रभाव विस्तार गर्ने भूमिका खेलेका थिए, शारदारमण नेपाल र गणेश पण्डितले गरेका थिए । महेश पौडेल स्माली, भरत पोखरेल, शिव भण्डारी, श्यामसुन्दरलगायत धेरैले नुवाकोटमा शिक्षण गरेका थिए ।
२०४६ सालमा बाबुराम भट्टराई नेतृत्वको संयुक्त राष्ट्रिय जनआन्दोलनको नेपालको केन्द्रीय समितिमा रहेर जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए । चौम निर्मल लामा समूहमा रहेर राजनीति गरेका उनी २०४७ सालमा मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी र माले एमाले बनेसँगै एमाले बन्न पुगेका पण्डित २०४८ सालको संसदीय निर्वाचनमा नुवाकोट २ नम्बर क्षेत्रबाट विजय हुनुभएको थियो । विजय भएसँगै पञ्चायतले बेपत्ता पारेका योद्धाहरूको खोजीका लागि सिंहदरबारमा बेजोड आवाज उठाए तर आजसम्म न दिलिप चौधरी फिर्ता आए, न खोजी अभियान कसैले चलाए ।
२०५१ सालमा एमाले नेताहरूको मिलेमतोमा अमेरिका काण्डको नाटक इन्डो सिआईए एजेन्टहरूले रचेका थिए । माधव नेपाल र गिरिजा गठबन्धनको सिकार बनेका थिए पण्डित त्यो समय अमेरिका काण्डको नाममा । उतिबेला एमाले कार्यालय बागबजारमा पण्डित समर्थकहरूले उनलाई टिकट माग गर्दै हुलदंगा गर्दैगर्दा, गिरिजा र माधबबीच शीर्ष दस नेतालाई जिताउनलाई १० स्थानमा एक–अर्कोले सघाउन कमजोर उम्मेद्वारी दिने राजनीतिक सहमति भएकोले सो निर्णय नउल्टने भन्दै वामदेव गौतमले हुलदंगा टोलीलाई कानफुकेको एमालेका तर्फबाट विदुरनगरका पूर्वमेयर ठाकुर गजुरेल बताउँछन् । काभ्रेबाट केशव बडाल ल्याउनुपर्ने बाध्यताको सिकार पण्डितको राजनीति भएको थियो ।
त्यही बुझेर होला आत्मालोचना पत्रमा माधव नेपालले सही गर्नुभन्दा त्यो आत्मालोचना होइन, मेरो आत्महत्या प्रस्ताव हो भन्दै पण्डित स्वाभिमानको शिर उँचो पारेर एमाले छाडी जीवनभर कम्युनिस्ट सतिसाल भएर उभिए । त्यही काण्डको आधारमा नेपाली अर्थ–राजनीतिमा महेश आर्चाय र डा. महतको उदय र विपीको समाजवाद भजाएर दलाल पुँजीवाद मौलाउने अवसर पायो । त्यही अमेरिका काण्डको सिकार भएका पण्डित लखेट्ने मिसनमा एक हुल एमालेहरू जीवनपर्यन्त लागिरहे । पण्डितलाई अमेरिका काण्डका आरोप लागाउनेहरू आज १३ वर्ष एसिया प्यासेफिकको नाममा क्रिस्चियन मेसिनरीको डलरमा दुनियाँ सयर गरेर ठाँट पल्टनेहरूलाई मिल्ने भए फासिको सजाय हुनुपर्ने हो । २०५१ सालमा कमरेड मदन भण्डारीले पोखरा कार्यक्रममा जानुपूर्व शिक्षण अस्पतालमा भेटेर पोखराबाट फर्किएपछि राजनीतिमा न्याय दिलाउने प्रतिज्ञा गरेर गएका थिए तर दासढुंगा काण्डपछिको सिकार बनेपछि त्यो मायाको डोरो सदाका लागि छिनिगयो पण्डितका लागि । यो संवाद अवरुद्ध बन्यो, मनको कुरा मनमै रह्यो । २०७२ सालमा नरेन्द्र मोदीको नाकाबन्दीले राष्ट्रवादको पगरी गुथाएको बेला ओलीलाई भेटेका पण्डितसामु केपी ओलीले यही कथामा आत्माग्लानीका गोहीको आँसु झारेको कथा उहाँले यस पंक्तिकारलाई बताउनुभएको थियो ।
एमालेभित्र त्यही रोगले उपचार होइन, निरन्तरता पायो र २०६४ मा भोट बेच्नेदेखि २०७० मा टिकट बेच्नेसम्मको काण्ड नुवाकोट एमालेले खेप्नुपर्यो । पण्डितको क्षेत्रमा त संगठित सदस्यको आधा मात्रै भोटमा एमालेले चित्त बुझाएर बसेको तथ्यसमेत हामीसामु ताजै छ । त्यही घानको हुलमा मिसिएर करोडपति कमरेडको काँधमा चडेर झलनाथ कामरेडको गाडी छेक्न र टिकट खोस्न हुलको नेतृत्व गर्ने खोज्दा एक रुखो बुद्धिजीवी उपनाम पाएका महेन्द्र पाण्डेको टाउकोमाथि एमाले मुख्यालयको दैलोमा पुलिसले फुरौला उठाएको थियो ।
पण्डित एमालेको राष्ट्रघात र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिए । २०५४ सालमा माले गठनको यात्रामा लागे । उनको माले राजनीतिको यात्रा उभार नुवाकोटमा उत्रियो । उनी अलमल रहे केही समय तर नुवाकोटका जिविस सभापति भरत ढुंगानासहित उनका धेरै कार्यकर्ता विद्यार्थीहरू माओवादी आन्दोलनमा होमिए । जनयुद्धमा बलिदान गरे । देशमा जनयुद्ध आँधी चलेको थियो । संकटकालसँगै युद्धका कहालीलाग्दा दिनहरूमा राज्य आतंकको सामना गरेका जनताको पीडाले मन पोलेपछि दुप्चेश्वर संरक्षण समाजको नाममा मानवअधिकारको मुद्दालाई उजागर गरेर युद्धको पीडामा मलम लगाउने प्रयास गरेका थिए उनले । त्यही कहानी सुनेर लेखक खगेन्द्र संग्रौला ‘कुन्साङ काका’ ले नुवाकोटका सुन्नै नसकिने कथाहरू कान्तिपुरमा लेखेका थिए ।
विद्रोही माओवादी शान्तिप्रक्रिया र प्रतिस्पर्धाको राजनीतिमा आएसँगै गणेश पण्डितको त्रास एमाले–माओवादी सबैमा देखियो र उनलाई उपयोगको नीति ल्याउन खोजे । यो बेला पण्डितले खुलेर माओवादीको वकालत गरे र अभियानमा सामेल भए । उनलाई उचित स्थानमा पार्टीले समेट्ने आश्वासन दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीले उनी समर्थकलाई दिएका थिए । लुकीलुकी गणेशलाई गुरु थाप्न जानेहरू पार्टीमा आउँदा उनकै उछितो काँड्ने गरेको थिए । उनी देख्दा त्रसित क्षमताले भन्दा आवश्यकताले नेता भएकाहरूले उनको राजनीतिक यात्रामा तगारो लाउने प्रयास जीवनभर गरिरहे तर उनी सामाजिक अभियानमा निरन्तर लागिरहेका थिए । पुर्वमाले गणेश पण्डितका समर्थकहरूको यो समूहलाई पोष्टबहादुर बोगटीले त गणेश दलको उपमा समेत दिएका थिए । २०६४ को सर्वनाक हारपछि एमालेले उनलाई फकाउने प्रयास गरेको थियो तर उनको अडानका कारण त्यो प्रयास सफल भएन । तल्लो तहमा पण्डित निरन्तर लागिरहेका भए मन्त्री हुन्थे भन्दै भ्रम छर्ने र माथि उनको गला रेट्ने एमाले नेताहरूको चरित्र नबुझ्नेहरू त्यही तालमा नचिरहेका थिए । यथार्थचाहिँ के हो भने पण्डित न एमाले, न मालेमा रहे न माओवादी नै बन्न सके, उनी दलविहीन नेता थिए नुवाकोटका । आस्था, निष्ठा, विचार, स्वाभिमान र अडानमा हिमालझैँ अटल पहिचान बनेको थियो । राजनीतिक, ऐतिहासिक, आर्थिक र सामाजिक तथ्यहरूको गहिरो सूचना र दख्खल राख्ने उनीसँगै महत्वपुर्ण सूचना, तथ्य र इतिहास सदाका लागि हामीबाट गुमनाम भएर गएको छ ।
पछिल्लो समय दुप्चेश्वर सम्पदा संरक्षणको बहसले शिखरबेसी र नुवाकोट तातेको थियो । हिरारत्न हाइड्रोको मुद्दामा रोचक घटना र बदलिएका कामरेडहरूको चरित्र गज्जबसँग चित्रण भएको थियो । एक गिरोहले वामदेव गौतमलाई लगेर हिरारत्न जनविद्युतको सिलन्यास गरेको थियो । मालेका नायक वामदेव धनयुद्धको छालमा उर्लंदै र जनयुद्धबाट उदाएका उनका चेला हितबहादुर पण्डितको अभियानविरुद्ध मोर्चामा उत्रिएका थिए । पञ्च–कांग्रेसी नेता अजुर्ननसिंह केसी, शाही सरकारका सञ्चारमन्त्री टंक ढकाल, नेकपा माओवादी नेता अनिल शर्मा विरहीलगायतका नेताहरू उहाँको अभियानमा ऐक्यवद्धता जनाउन पुगेका थिए । शिखरबेसीको काखमा घ्याङ्फेदीको पहाडहरू साक्षी छ, यो सत्य र तथ्यको सामु त्यो अभियानको सामाजिक हिसाब–किताबका लागि एक दिन पक्कै आउनेछ ।
पशुपति आर्यघाटमा भेटिएका क्रान्तिकारी कम्युनिस्ट नेता कमरेड स्वनामसाथी भन्दै थिए, उहाँ पण्डितजी यतिबेला पुष्पलाल प्रतिष्ठान र माक्र्सीय गुरुकुल निर्माणको अभियानबाहेक कहीँ कतै कुनै पार्टीमा हुनुहुन्नथ्यो । हामी सामूहिक अभियानमा थियौँ तर आज यहाँ कसले जालझेल गरेछ ? कमरेड स्वनामको आशंकाको उत्तर खोज्न केही तथ्य विश्लेषण गर्नु जरुरी देखिन्छ । साँच्चै हो पण्डित न माले रहे, न एमाले थिए, न माओवादी नै बन्न सके, न नेकपा (नेकपा) हुन् तर किन झन्डा ओढाउन हानथाप गरे होला त नेताहरूले ? पण्डितको राजनीति खेती झुलेको थियो तादी लिखु र त्रिशुली किनारहरूमा निष्ठावान् जुझारु कार्यकताहरू नुवाकोटका राजनीतिको फाँटहरूमा लहलह झुलेका थिए । भर्भराउँदा आगोझैँ बलेको ऊर्जाशील कार्यकर्ताको धेरैले लोभ नगरेको कहाँ हो र हिजोदेखि आजसम्म । चाहे निर्मल लामा हुन् कि सीपी मैनाली या बोगटी; सबैले उनलाई छक्याएर त्यो बाली भित्र्याउन नखोजेको कहाँ हो र चुरो त यही न हो ।
बाँचुञ्जेल एमालेबाट लखट्नेहरूलाई किन चाहियो गणेशको लास एमालेको मुख्यालयमा ? लास देखाएर बाली भित्र्याउनेको एक दाउपेच हो यो । हुन त उहाँलाई एमालेमा फर्काउन घुँडा धसेर लाग्नेहरूले सास नसके पनि एमालेको दैलोमा लास भने पनि पुर्याएर पण्डित लखट्नेहरूलाई चम्का दिए होला । तर, कम्युनिस्ट दर्शन र राष्ट्रिय चिन्तन बोक्ने नेताको लासलाई उनलाई जीवनभर तडपाउने राजनीतिक हत्याराहरूबाट नै झन्डा ओढाउनुचाहिँ अलि न्याय भएन कि ? यहाँ पण्डितको राजनीतिक लिगेसीमा राजनीतिक सम्भावनाको खेती गर्ने र मरेपछि लासमाथि फूल चढाएर उनको परिवारलाई जीवनभर हली बनाउने नेताहरूको सोचले काम गरेको देखिन्छ, जसको तथ्य प्रचण्डको भित्ते–राष्ट्रपतिजस्तो कुमार पण्डितको समानुपातिक उम्मेद्वारीले दिन्छ । गणेश पण्डितको स्वाभिमान अडानमाथि वरिपरिबाटै हमला गराउनेहरू उहाँ बाँचुञ्जेल सफल भएनन् तर मरेपछि चाहिँ उहाँमाथि केही अवमूल्यन र अन्याय भने पक्कै भएको हो ।
हुन त नेपाली कम्युनिस्ट नेतृत्वको मूलधार ठान्नेहरूले एकपटक आलोचनात्मक चेत, प्रतिपक्षीय चेतना पस्कने र फरक–फरक स्कुलिङबाट आएका बीच अविश्वास र असहिष्णुता प्रकट गर्ने कम्युनिस्ट संकीर्णताको सिकार धेरै भएका छन् । त्यस्तै सिकार भए उनी, उडेर जून छुने महान् सपना बोकेका थिए उनले । उनका पखेटा काटेर धर्तीमा खसाल्दै पिंजडामा कैद गर्ने अपराधीहरू आज पराधीनताको नुनिलो आँसु पिएर बाँच्नुपरेको छ । उहाँको सपना आस्था र निष्ठालाई दिलदेखि सलाम गर्दै हार्दिक श्रद्धाञ्जली गणेश सर !
उहाँ जीवनभर स्वाभिमानका शिर उँचो पारेर देशभक्तिको गीत गाइरहनुभएको छ । राजनीतिसँगै इतिहास पूर्वीय दर्शन र साहित्यमा समेत रुचि भएका नेता थिए उनी । देश र जनताको चिन्तामा अभिव्यक्त भएको उनको साहित्य सिर्जनाले उहाँ राष्ट्रिय चिन्तन बोक्ने एक कम्युनिस्ट नेता थिए भन्ने प्रस्ट पारेको छ । आजको देश र समाजले उहाँको आवश्यकताबोध गरिरहनेछ । ‘मासिन्छ आफ्नै घर’ शीर्षक कवितामार्फत उनले सचित्र देशको चित्र उतारेका छन्, हेरौँ एक पंक्ति ः
आमाका ममतामयी हृदयका, टुक्रा चुँडिए कति ।
खाऊँ–लाऊँ उमेर माथबीचमा, सिन्दूर पुछिए कति ।।
शान्तिको भूमिबीच आज ननिको होली रगत्को चल्यो ।
नेपाली मुटुभित्रको धुकधुकी, भन्दैछ यो के भयो ।।
सक्छौँ पार लगाऊँ लौ मिलिजुली यो देशको दुर्दशा ।
शान्ति, न्याय, समानता, प्रगतिका झुल्कुन उज्याली उषा ।।
गाढा रात चिरेर पूर्व नभमा ज्योति उदाएसरी ।
यो सन्त्रास र मौनताबीच खुलोस् सद्भावको माधुरी ।।