नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का बाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कार्यकर्ताको सही मूल्यांकन विधि बनाउँदै गरेको बताउनुभएको छ । पार्टीमा काम गर्ने र नगर्ने बीच सकारात्मक विभेद हुनुपर्ने भन्दै उहाँले त्यसका लागि सही मूल्यांकन विधि बनाउदै गरेको बताउनुभएको हो ।
सोमबार प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दोश्रो पूर्ण बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष सहयात्रीले मूल्यांकन विधिलाई प्रदेश समितिबाट पारित गरी ब्यापक छलफलपछि मात्र कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो ।
बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले आफूहरु पालिका स्तरमा संगठन बिस्तार गर्ने पत्रकारहरुको पहिलो संगठन भएको भन्दै यसलाई अझ बिस्तार गर्दै वडासम्म लैजान निर्देशन दिनुभयो ।
अध्यक्ष सापकोटाले उपत्यका प्रदेशसंग संगठन र पार्टीको समेत बढी अपेक्षा भएकोले थप जिम्मेवारी पूर्वक प्रचारको मोर्चामा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिका अध्यक्ष नवराज दाहालको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव जमिन राईले गर्नुभएको थियो । बैठकमा प्रेस सेन्टरका केन्द्रीय नेताहरु कमल गिरी, मनोज घर्तीमगर, उपेश महर्जन, ज्ञान पौडेल लगायतले आवश्यक मार्गनिर्देशन दिनुभएको थियो । बैठकले प्रदेश समितिका विभिन्न विभागहरु गठन गर्दै त्यसको नेतृत्व चयन गरेको उपाध्यक्ष सागर पन्तले जानकारी दिनुभयो ।
Recent Comments