नुवाकोट ।
एसइइमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयलाई एक नगरपालिकाले १० लाख रुपैया प्रोत्साहन रकम दिने घोषणा गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकाले यस्तो घोषणा गरेको हो । नगरपालिकाले ‘शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिने मेयर जगतबहादुर गुरुङले जानकारी दिनुभयो । उक्त रकम प्राप्त गर्न विद्यालयले नगरपालिकाले तोकेको ‘शैक्षिक सुधार कार्यक्रम’को मापदण्डअनुसारको उत्कृष्ट नतिजा ल्याउनुपर्नेछ ।
नगरपालिकाले सामुदायिक विद्यालयको स्तरवृद्धिका साथै विद्यार्थीको संख्या बढाउन यसकिसिमको योजना लागु गरेको जनाएको छ । ‘शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत विद्यालयले राम्रो नतिजा ल्याउने विद्यालयका शिक्षकलाई पनि अवार्ड दिने छ । नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले विद्यालयलाई शैक्षिक क्यालेण्डर बनाउन, स्थानीय भाषा, संस्कृति, कला तथा समसामयिक विषयवस्तु समावेश गरी पाठ्यक्रम बनाउन, प्रत्येक वडामा हरेक वर्ष कम्तीमा एउटा विद्यालयलाई बालमैत्री बनाउनेलगायतका लक्ष्य कार्यक्रममा समावेश गरिएको जानकारी दिनुभयो । नुवाकोटको बेलकोटगढी नगरपालिकामा १९ वटा माध्यमिक विद्यालयसहित ५४ वटा सामुदायिक विद्यालय रहेको नगरपालिकाले जानकारी दियो ।