काठमाडौं ।
एकजना पुर्वमन्त्रीको घरमा बम विस्फोट भएको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा घुससम्बन्धी बाग्रेनिङ्गकोे अडियो बाहिरिएपछि पदबाट राजीनामा दिएका सूचना सञ्चार तथा प्रबिधिमन्त्री गोकुल बाँस्कोटाको घरमा विस्फोट भएको हो ।
बास्कोटाको भक्तपुर लोकन्थलीमा रहेको घरमा कुकर बम विस्फोट भएको जनाईएको छ । बम विस्फोटबाट घरको भुँइतलामा क्षती पुगेको तथा झ्यालका सिसाहरु फुटेको छ ।
बास्कोटा बाल्कोटस्थित प्रधानमन्त्री केपि शर्मा ओलीको घरमा बस्दै आएका छन् । बम विस्फोटबाट घरको कम्पाउन्डमा, छिमेकीका घर र एउटा भ्यानमा समेत क्षति पुर्याएको छ ।
मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले गस्ती गरेको थियो। तर बुधबार बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको हो। बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन।
सेक्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिएका थिए।