नुवाकोट ।
वामपन्थी आन्दोलनका एकधरोहर अर्जुन भण्डारीको निधन भएको छ । लामो समयदेखि नसासम्बन्धी रोगले ग्रस्त उनको नुवाकोटको विदुर नगरपालीका आँगपुटार स्थित घरमा सोमबार राति निधन भएको हो ।
पछिल्लो १० दिन काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका उनको स्वास्थ्यमा सुधार नहुने देखिएपछि उनकै चाहनामा एम्बुलेन्समार्फत सोमबार पुर्याएलगत्तै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नुवाकोट र रसुवामा क्रान्तिकारी कम्युनिस्टको प्रभाव बढ्नुमा उनको योगदान अतुलनीय रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
नुवाकोटको तारुका श्रीकृष्ण क्याम्पसका क्याम्पस प्रमुख भरत सिग्देल सामाजीक सञ्जालमा लेख्छन्, ‘निरङ्कुश राजतन्त्रका विरुद्ध नयाँ जनवादको सपना देखाउँदै वर्तमान गणतन्त्रात्मक सत्ताका अनगिन्ती द्वारपालहरू उत्पादन गर्ने रातो आरनका निपूर्ण कालिगड अर्जुन भण्डारी सरप्रति भावपूर्ण शब्द श्रद्धासुमन’, ‘कसैले पनि जीवनको उत्तरार्द्धमा रस चुसिएको उखु झैं सडकमा मिल्काइने खोइला बन्नु नपरोस् भन्ने कामना ।’
पछिल्लो समय स्वास्थ समस्याले राजनीतिमा सक्रिय नरहेका भण्डारी तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीका समकक्षी समेत रहेका उनी शिक्षण पेसा हुँदै राजनीतिमा सक्रिय भएका थिए ।
यस्तै नेकपा चौथो महाधिवेशनको रसुवा सेक्रेटरी हुँदै उनले संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए । २०४२ सालको बम काण्डमा पक्राउ परेका उनी जेलमा चरम यातनाको शिकार भएका थिए ।