नारायण नेपाल
हाम्रो देशको विपद् पुर्वतयारीको अवस्था र मानसिकतालाई प्रतिबिम्ब गर्ने गाउँले कथन छ, ‘आगो लागेपछि कुवा खन्ने ।’ आजको विश्वव्यापी कोरोनाको महामारी र हाम्रो पुर्वतयारीको अवस्थाको कथा गाउँ शहर मात्रै होईन देशभर उस्तै–उस्तै थियो ।
कोरोना कहरले गरेको लकडाउन र सामाजिक सञ्जालको फेक आतंकपछि गाउँठाउँको गतिविधिहरु नियालेर एक शब्दचित्र उतार्दै गाउँको कथा लेखेको थिएँ, चैत्र ११ गते कोरोनाको त्रासः मेरा गाउँलेको आश भनेर । त्यस पछि इन्टरनेट र किताबतिर व्यस्त । कहिले वुहानको शब्द चित्र नियाल्न लागें, कहिले चीन अमेरीकाको प्रोक्सीवार हेर्न थालें । उत्तर कोरियाको कोरोनामुक्ति घोषणाले कतै आशा जस्तो, कतै कहालीलाग्दो रोदन, कतै खुशीका आशाहरु, कतै बेथितिका कथाहरु । यस्तै यस्तैमा बितेछन् दिनहरु । अरु अरु थाँति रहेको अध्ययन लेखन कामहरु पनि । ठ्याक्कै ११ दिन पछी २२ गतेसम्म जिल्लातिर पनि व्यापक पहलहरु भएका समाचारहरु थिए । सरकारको कोरोना विरुद्धको लडाई र राहत घोषणा झन् व्यापक थिए । फेसबुक हेर्दा त राहत उद्धारको यस्तो माहोल थियो कि कुनै पनि समस्यामा सर्वसाधारण पर्ने छैनन् जस्तो । जिल्लाका नेताहरु देखि माननीय मन्त्रिहरुको विज्ञप्तीको ओइरो ।
कोही अपवाद्मा खटे होलान् बाँकीको चाहिँ राजनीति खेलो र फेसबुकमा तस्विर हाल्ने रमिते लस्कर जस्तो मात्रै देखिन्थ्यो । यो सबै खेलोमेलो कोरोना कोष बनाउने र खर्च पचाउने एक दाउपेच थियो भन्ने बुझ्न गाह्रो भएन ।
राहतको प्रचार औधी । आकस्मीक कक्ष भन्दै हरियो तन्ना ओछ्याएर गरेका तमासाहरु हेर्न लायकका थिए । यो कहरमा त्यो रहर मजाक कि के उनै जानुन्, तर यस्तै यस्तै थियो फेसबुके मौसम । म्यासेन्जरमा सुचना आउन थाल्यो, त्यती मात्रै होइन रेडियोले पनि गाउँमा त्यहि सुचना बजायो रे नगरपालिकाले किटनाशक औषधी छर्कदै छ भनेर । म चकित परें पहिलो त सेनाले राती आकाशबाट औषधी छर्कने भन्ने फेसबुके हल्ला जस्तो लाग्यो । तर होइन रहेछ , त्यो गाउँको सिहदरबारको योजना रहेछ रोगको संक्रमण हटाउने । किसानको तालु खुइलिने घामले नै मर्ने किटाणु मार्न भन्दै त्यही जनताको तालुबाट आएको पसिना निचोरेका करको पैसा स्वाहा पारेको चाहिँ किन होला म गम्दै थिएँ ।
अचानक गाँउबाट एक मित्रले फोन गर्नु भयो । त्यस पछि म तिनको सवालको फ्लो गर्न थाले । जिल्लाका पत्रकार मित्रदेखि शहरको स्वास्थकर्मीसम्म दिनभर फोनमा छलफल गरें । मेडिकल सामग्रीका आपुर्ती ठेकेदार देखि गाउँ प्रहरीका हवल्दारसम्म, नगरका मेयरदेखि गाउँका नेता र जनतासम्म, गाउँका डाक्टरदेखि, त्यहि डाक्टरका हाकिमसम्मको कुरा सुनियो । कसैसँग तातो भनियो । कसैसँग लाटो बनियो । कसैलाई आश्वस्त हौ न भनियो । आजको गाउँको ताजा चित्र नियाल्ने अवसर बुझियो । म ठोकुवा गरेर भन्छु लकडाउन समाधान हो तर अन्तिम र सबै अस्त्र भने होइन । धन्न बेलुका अबेरसम्म केही सकारात्मक पहल भएको खुसीको खबर मिल्यो । परिणाम के होला भोलीको काम र त्यसको उपलब्धीबाट हेरिने छ ।
भारतमा मजदुरी गरेर फर्कर्नेहरुको कारण गाउँले नै त्रासमा थिए । कहिले कसले सोध्ने कहिले कस्ले खोज्ने भनेर हैरान थिए । उनीहरुमा पहिला थियो भ्रमको भुत कोल्पुटारमा गरिएको कोरोना जाँचको । त्यो के जाँच हो त जाँच्नेले जानुन् तर जाच्नेको भ्रम र नजाच्नेको भ्रमले मनोवैज्ञानीक आतंक मात्रै छाएको थियो गाउँलेहरुलाई चाहिँ । यो सुनेपछि मैले खबर बुझ्नको लागी फेरी भारतबाट फकर्ने गाउँलेहरुकै छिमेकी एक भान्जीलाई फोन गरें । उनी आफ्नो छिमेकी पनि आएका गाउले पनि आएको सहजै जाच गर्न मिले यो त्रासबाट मुक्तिहुन सक्छ भन्ने उनको अठोट थियो । उनी त्यही भन्दै थिइन र अरुत के हुनु के जाच्ने थाहा छैन । अब एक दिन पुलिस आए सोधपुछ गरे गए त्यही हो । त्यसपछि मैले दुईपिपल स्वास्थचौकिको प्रमुखलाई सम्पर्क गरें, ‘के हुनु सर ढोका खोलेरै बसेको छु म त ।’ स्वास्थ्यकर्मीको अत्यावश्यक सामाग्रीहरुबारे जिज्ञासा थियो मेरो । उनी आज २२ गतेसम्म परैबाट तापक्रम नाप्ने थर्ममिटर र एक थान पिपिई सेट समेत छैन, कसरी छुने नाप्ने ? भन्दै थिए ।
अरु ज्वरोका बिरामीहरुको र गाउँलेको अवस्था के होला ? के अरु उच्च रक्तचाप मधुमेह लगायत अन्य दिर्घ रोगीहरुको अवस्था के होला ? मौसमी सामान्य बिरामीहरुको अवस्था के होला ? गाउँमा दिर्घरोगले थला परेका बिरामीहरुलाई के देलान् उनले ? म जिल्ल परें उनको कुरा सुनेर । मैले सम्झिएँ हाम्रो विगत । हामी स्कुले केटाहरु कामरु मावि माथिको त्यो स्वास्थ्यचौकिमा औषधी माग्न गएर हैरान गर्ने गर्दथ्यौ । त्यहाँ मासिका थिईन प्रमिला दाहाल भाउजु । हामी हैरान परेर माग्थ्यौं उनी पेट दुखेपनि, टाउको दुखेपनि, पखाला लागेपनि १० एमजीको मनोजल दिन्थिन् । त्यहाँ त्यो बाहेक अर्को औषधी नै थिएन । हामीले स्कुलमा केही भयो कि १० एमजीको मनोजल भन्ने ठट्टा गर्ने गरेका थियौं । त्यसो त स्कुले जिन्दगी पार गरेर आज आउदा १७ वर्षपछि म सोचमग्न भएको छु । मेरो गाउँका जनताको अस्पतालको चित्र देखेर । गाउँ राजनीतिमा हाकोडाँको चलेका बेला बद्री दाहालले त बुहारीलाई जागिर खुवाउन मात्रै भएपनि गाउँमा स्वास्थचौकी स्थापना गरेछन् बजेट राखेछन् । तर लोकतन्त्र जनवाद समाजवादको नारा दिनेहरुले चाहिँ जनस्वास्थको क्षेत्रमा के लछारपाटो लगाए त गाउँमा ? औला भाँचेर भन त के के हो ? यो देखेर के सोच्दा होलान् हाम्रा गाउँलेहरु कमरेडहरुको निजी अस्पतालका मुर्गा जिन्दगीमा ।
मैले उनलाई पुनः सोधें, के छ त नगरबाट केही आएको छैन ? अहिलेसम्म कमिसनको खेलो मिलेन कि कालाबजारीको मार परेको छ कुन्नी हाम्रो सिहदरबारमा किन आएन ? ११ दिनसम्म अत्यावस्यकिय समाग्रीहरु माक्स १० वटा मात्रै हो दिने पुर्वतयारीको लागी ? नियमित बिरामी जाँच त अहिले गाउमा डाक्टर र झाँक्रिको उस्तै पारा रहेछ, परैबाट रातो पहेलो अक्षता छरेजस्तो ।
मैले केही स्थानीय नेतृत्वहरुको खोजी गरें । बैठक बस्न सकिन्छ कि विपद् व्यवस्थापन कोष छ केही त गर्न सकिन्छ नि भन्ने ठानेर । पुलिस लगाएर गाउँले लखेट्नु मात्रै त लकडाउन र कोरोना विरुद्धको अभियान होइन नि । तर नेताहरु मोबाइल छोडेर अन्त टोलाउने कि जनताको सेवामा मन बहलाउने बेला हो यो । किन बुझदैनन् कि यो स्वास्थकर्मीको फौज र औषधि र सावधानीले जितिने मोर्चा हो भनेर ।
त्यसपछि मैले नगर स्वास्थप्रमुखलाई सम्पर्क गरेर हालखबर बुझें उनी धाराप्रवाह थिए र मेरो पहिचान पो खोजे मैले नागरीक भएको बताए । उनले सबै ठिक तन्दुरुस्त भएको बताए । जब मैले स्वास्थ्य सामाग्रीबारे सोधें उनले त्यो सामाग्री नगरबाट पाइने भनेर तर्किए । स्वास्थ्य सामाग्री स्वास्थचौकीमा राख्ने कि नगरमा ? जिल्ला छिर्ने प्रमुख नाका भएकोले कोल्पुटारमा ज्वरो नाप्ने थर्ममिटर गन छ भन्दै नगरभरीको विदेशबाट फर्किएका विवरण भने प्रष्ट दिए उनले ।
यसपछि मैले जिल्लाका स्वास्थ्य सामाग्री सप्लार्यस एक मित्रलार्ई सम्पर्क गरें । उनले सप्लार्यसको बाध्यता विवशता सहितको तर्क गरे । ‘अभाव र कालाबजारीका मारमा परेको बाबजुत सकेको दिएको छु स्वास्थकर्मीको लागी दिन तयार छु ।’ उनले भने । त्यस पछि प्रहरीचौकी प्रमुखको कुरा सुनें ‘आदेश अनुसारको चल्नै पर्ने । बाठो बन्न मिलेन ,जे छ त्यहीबाट चलेको छु ।’ उनले भने । पुलिसको बर्दिमा एक थान माक्स थियो केवल उनीसंग । ‘वडा नम्बर ४, ५, ६, ७ को लगत संकलन गरेर पठाएको हो गाउँलेलाई घरबाट ननिस्कन आव्हान गरेको छु ।’ उनले प्रष्ट्याए ।
एकजना शहरको स्वास्थ्यकर्मी अनलाईनतिर देखिए । व्यस्त होला यो बेला । सर, केही गफ गरौं न भनेको त उनी त गुटुङटुङ म्यासेज गर्न थालें । किन त फुर्सद सर ? भनें, ‘अस्पतालले विरामी लिए पो व्यस्त हुनु ।’ उनले एकै लाईनको जवाफ दिए, हाम्रो काम अहिले केही छैन सर भन्दै उनी मज्जाले गफ गरे । मेडिकल सामाग्रीबारे केही जानकारी लिएपछि उनीसंग बिदा भएँ । गाउमा स्वास्थ्यचौकीको ढोका खुल्ला छ । तर सुविधा र औषधि छैन । शहरमा नीजि अस्पतालको सुविधा छ ढोका खुल्ला छैन । यो कस्तो विचित्र संवेदनहीनता ? कम्युनिष्ट भन्नेहरुको लोकप्रिय मतको सत्तामा दबदबा चलेको बेला ?
नगरबासीकाे जिम्मा लिएका नगरप्रमुखलाई सम्पर्क गरें, व्यापारीले उधारो दिएन, खल्तीमा पैसा थिएन नगरप्रमुखको भाव यस्तै बुझिन्थ्यो ।
लकडाउन पछि के के गर्ने भन्ने किन आजसम्म योजना विहिन छन् स्थानिय नेताहरु ? केन्द्रमा कसिनको चक्करले सरकारी गति सुस्ताएको छ । केन्द्रको घोषणा त स्थानिय तह पुग्दाको चित्र यस्तो देखियो । सासुले बुहारीलाई भनिन् बुहारीले कुकुरलाई भनिन् र कुकुरले पुच्छर हल्लायो भने जस्तो पो छ महामारी विरुद्धको लडाइको चर्तीकला त ।
मन्त्रीपरिषदको निर्णय र पत्रकार सम्मेलनले मात्रै हुन्छ र ? स्थानिय युनिटको काम कस्ले नियाल्ने ? गाउँका स्कुलमा तन्ना ओछ्याएर मात्रै हुन्छ सेल्फ क्वारेन्टाइन ? यो बेलासम्म विधि विधानको दफा र उपदफामा अल्झने बेला हो र ? जनताको घरदैलो पुगेर अवस्थाको निर्धारण गरेर ठोस योजना र पहल लिने बेला पो हो त । बुढापाकाले उखान गर्दा गोइलाको फुललाई भाँग्राको धोति भन्थे गाउँतिर भनेको के होला भन्ने सोच्दैथिएँ । यस्तै भएर त भनेको होला जस्तो लाग्यो ।
फेरी पनि भन्न मन लाग्यो डोजरको डिजेल पिउन पछि नपर्नेहरु सलाईन पानी किन्न किन डर मान्छन् ? अनि त्यही किन्न पर्ने बेलामा मौकामा चौका हान्नै पर्छ भन्छन् । मनमोहन सरकारले वृद्धभत्ता बाँडेको जसमा भोट खानेहरुले वृद्धहरुको घर घरमा पुगेर स्वास्थ्य सेवा दिन किन डर मान्छन् ? बकुल्लाले त्रिशुलीको किनारमा माछा ढुकेजस्तो गाउँलेहरु कहिले मर्लान र पुरौँला भनेर मात्रै ढुक्ने होइन होला नि गाउँको सिहदरबारले ? सुका, दाम, पैसा नापि नापि कमिसनको चक्करमा डोजर दलालहरुको दैलो दैलोमा भौतारीनेहरु स्वास्थ्यकर्मी र औषधि बोकेर गाउँघर किन दौडन सक्दैनन् ? किन गर्न सक्दैन् जनस्वास्थ्यमा लगानी ? आखिर गिदिमा भ्यु नहुनेहरुले देख्ने भनेको डाँडाको टुप्पोमै त भ्यु हो, चाहे भिल्केश्वर होस् कि चिम्टेशर ।
गाउँमा सरसफाई र सचेतना अभियान गर्न स्वास्थकर्मीको टिम परिचालन गर्ने कि गोलिगठ्ठा भिरेको पुलिस ? स्थानीय स्वयं सेवक बनाएर जनताका दैनिक समस्या लगत संकलनं र समाधान गर्न पहल गर्न पनि माथिको आदेश हेरेर बस्ने ? दिर्घरोगी र बिरामीहरुको सेवा गर्न अबको दुई महिना डोजर नकुदाउने अठोट गर्न किन सकिन्न ? गाउँमा राहत बाँड्नेहरुलाई फेरी पनि एक बोरा चामलको सेल्फी खिच्न र फेसबुकमा हतारो मात्रै हो त अब चाहिँ गाउँमा ?
Recent Comments