काठमाडौँ ।
महानगर यातायात प्रा.लिले काठमाडौँ उपत्यकामा १२ वटा विद्युतीय ठुला बस थप गरेको छ । काठमाडौँको चक्रपथमा चल्नेगरी विद्युतीय बस थपिएको हो । महानगर यातायातले २०७२ सालदेखि डिजेल बसमार्फत् सेवा दिइरहेको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विद्युतीय बस सेवा सुरु गर्नुभयो । महानगरका ८९ वटा बस चक्रपथलगायत राजधानीका विभिन्न रुटमा सञ्चालनमा रहेको महानगरका अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो ।
विद्युतीय बसको उद्घाटन गर्दै मन्त्री दाहालले सडक सञ्जालको विकाससँगै नेपाल विद्युतीय सवारीको युगमा प्रवेश गरेको उल्लेख गर्नुभयो । पछिल्लो समय सडक पूर्वाधार विकासमा ठूलो प्रगति भएको भन्दै उहाँले जनताले यसको लाभ लिनका लागि यस्तो संगठित र आधुनिक यात्रुसेवा सञ्जाल विस्तार गर्दै जानुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा विद्युतीय सवारी प्रयोग तीव्र रुपमा बढिरहेको भन्दै नेपालमा विद्युतीय सवारी कारखाना निर्माण गर्नुपर्ने बताउनुभयो ।