आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि कोरोना संक्रमित भएका छन् । योसँगै नेपालमा दुई जना बहालवाला मन्त्री कोरोना संक्रमित भएका छन् । यसअघि हिजो पर्यटनमन्त्री योगेश भट्टराइमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रीहरु नै धमाधम संक्रमित भएपछि प्रधानमन्त्री केपि शर्मा ओलीले भेटघाट पूर्ण रुपमा बन्द गरेका छन् । मन्त्री पोखरेलले अनसनमा रहेका डाक्टर गोविन्द केसीको मागको विषयलाई लिएर केही दिन अघि प्रधानमन्त्री ओलीलाई भेटेको बताइन्छ ।
यता पर्यटनमन्त्री भट्टराईलाई संक्रमण पुष्टि भएसँगै गृहसचिव महेश्वर न्यौपाने होम आइसोलेसनमा छन् । एकै कार्यक्रममा सहभागी न्यौपाने संक्रमणको आशंकामा आइसोलेसनमा बसेका हुन् ।
यस्तै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि आइसोलेसनमा छन् । क्वात्राले केही दिन अघिमात्र मन्त्री भट्टराईलाई भेटेका थिए ।
यस्तै उपत्यकाका डिएसपी विश्वराज पोखरेल पनि आइसोलेसनमा छन् ।