म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना बन्न नपाउँदै अलपत्र परेको छ । मुहानका विषयमा विवाद भएपछि आयोजना अलपत्र परेको हो ।
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना निर्माण गर्न रु ५६ लाख ७१ हजार १४२ मा भगवति मालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । ०७८ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लिएको कम्पनीका सञ्चालक गोपालप्रसाद भट्टचनले साउनदेखिनै काम शुरु गर्न खोजे पनि मुहान विवादले नपाएको बताउनुभयो ।
औलाको छिमेकी रिमा गाउँका केही स्थानीयवासीले अवरोध गरेका कारण सम्झौता भएको पाँच महिनासम्म पनि सिँचाइ आयोजना निर्माण शुरु हुन नसकेको हो । दुई गाउँका टोल सुधार समितिको सम्झौताअनुसार रिमाको पुछारमा रहेको खोला काईको मुहानबाट औलामा पानी ल्याउन आयोजनाको सर्वेक्षण भएको थियो ।
औला सिँचाइ आयोजना निर्माण भएमा ५० हेक्टर जमिनमा सिँचाइ सुबिधा पुग्ने छ। दुई हजार ४५० मिटर मुख्य पाइपलाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । पाँच वटा शाखा पाइपलाइन बनाएर सिँचाइका लागि पानी वितरण गर्ने योजना छ । चालु आर्थिक वर्षमा यो आयोजनाका लागि प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ ।









































