
काठमाडौँ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभइ सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ ।
क्षत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उहाँले सो कुरा बताउनुभएको हो । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत भएको छ ।
मेयर शाहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रिया समेत गर्नुभयो । अस्पतालबाट प्रवाह भइरहेको सेवाको अनुगमन तथा बिरामीसँग अन्तरक्रिया पश्चात उहाँले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिनुभएको छ ।
अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचार विहीन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
काठमाडौं महानगरका मेयर शाहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ ? सहकार्य कसरी हुनसक्छ ? वार्षिक रुपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
स्वास्थ्य र सरसफाइमा महानगरले उच्च चासो दिएको बताउँदै यसको लागि नयाँ नयाँ योजना तथा सल्लाह सुझावहरु लिएर आउनेसँग सहकार्य गरिने उहाँको भनाइ थियो ।








































