पर्वतः
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई आफुले थुकेको थुक आफ्नै मुखमा परेको भनेको भन्दै कटाक्ष गरेका छन् ।
पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत शनिबार पर्वतमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आकाशतिर फर्केर थुक्दा त्यही थुक आफ्नै मुखमा परेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले फागुन ३ गते आफूमाथि औँला ठड्याउने दुस्साहस गरेको दाबी गर्दै अहिलेको सरकार भ्रष्टाचारको नमुना भएको बताए। ‘भनिन्छ नि आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ। अस्ति ३ गते म माथि औँला ठड्याउनुभयो। मतिर फर्केर आकाशतिर थुक्नुभयो ८ गते त आफ्नै मुखमा पर्यो।’
प्रधानमन्त्री ओली र गोकुल बाँस्कोटा अत्यन्तै मिलनसार भएकोले कमिशनको विषयमा आएको अडियोको बारेमा प्रधानमन्त्रीलाई थाहा भएर पनि चुप लागेर बसेको दाबी गरे।
‘प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारजस्तो फोहोरको गन्हाउने थुप्रोमा बसिरहेका छन्। खुलेआम यतिले उपचार गर्न र चुनाव गर्न पैसा दियो भन्नुहुन्छ’ डा भट्टराईले भने, ‘देशका प्रधानमन्त्रीले नै नाकैमुनि भ्रष्टाचार गराउँदा सुशासन र समृद्धि नआउने भएकोले यो मुद्दा गम्भीर रूपमा आएको छ। दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा अडियो पुगेको थियो भन्ने सुनियो।
थाहा हुँदा हुँदै प्रधानमन्त्री किन चुप बस्ने?’ प्रधानमन्त्रीले समृद्धि भइरहेको दाबी गरेर सरकारका गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उनले दुई वर्षसम्म सरकारले केही गर्न नसकेको तर पछिल्ला केही दिनमा पापको घैँटो भने फुटेको बताए।











































