केशव नेपाल ।
काठमाडौ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले अत्यावश्यक सेवा बाहेकमा लागू हुनेगरी वैशाख १६ गते बिहान ६ बजेबाट एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ अनुसार निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा २०७८ बैशाख २२ गते राती १२ बजेसम्म कायम रहनेछ । ´आदेश पालना गर्नु सबैको दायित्व हो ´ आदेश उलंघन गर्नेलाई कानून अनुसार कार्बाही गरिने छ` आदेशमा भनिएको छ । निषेधाज्ञा अवधीभर के गर्न पाइने के गर्न नपाइने भनी ६ बुँदामा विस्तृत खुलाइएको छ ।
निजी तथा सार्वजनिक यातायातका कुनै पनि सवारी साधन चलाउन पाइने छैन । अत्यावश्यक सेवाका सवारी साधन भने चलाउन पाइने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बैशाख १३ गते जारी गरेको आदेशमा उल्लेख छ ।
पत्रकारले सूचना विभागबाट जारी परिचयपत्रका आधारमा मात्र आवत जावत गर्न सक्ने बताइएपनि नेपाल पत्रकार महासंघको अनुरोधमा कार्यरत सञ्चारमाध्यम अथवा महासंघको परिचयपत्रका आधारमा समाचार संकलन गर्न दिइने भएको छ । खाद्यान्न, तरकारी बोक्ने साधन , दूध र दूधजन्य सामग्री ढुवानी, फोहोरमैला बोक्ने सवारी साधन, एम्बुलेन्स जस्ता सवारी साधन चल्न पाउने छन् । विदेश जानेको लागी हवाई टिकट र भिषा भएको पासपोर्ट देखाएर जान सक्ने छ्न् । बैंक तथा बित्तीय सस्था र अन्य अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीले कार्यालयको परिचयपत्रको अधारमा आवत जावत गर्न सक्नेछन् । खाद्य सामग्रीका पसल बिहान १० बजे सम्म र साँझ ५ बजे देखि ७ बजे सम्म खोल्न पाइनेछ । सबै किसिमका सेवा प्रदायकले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्नेछ ।
विकास निर्माण कार्यमा कामदार तथा सामग्रीमा प्रयोग गरिने साधनको पास प्रमुख जिल्ला अधिकारीबाट उपलब्ध गराइनेछ ।
विवाह र व्रतबन्ध बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरि जिल्ला प्रशासन कार्यालयको अनुमतिमा गर्न पाइने बताइएको छ । मृत्यु हुँदा नजिकका आफन्त प्रमुख जिल्ला अधिकारीको अनुमतिले २५ जना सम्म सहभागी हुन पाइनेछ ।
सबै प्रकारका सभा, गोष्ठी , सम्मेलन गर्न पाइनेछैन । सामुहिक खेल, सैलुन , ब्यूटी पार्लर , चिडियाखाना , संग्रहालय, पुस्तकालय, सपिङ्ग मल जस्ता ठाउँ खोल्न पाइने छैन ।