काठमाडौँ ।
सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बाराम्बार यौन शोषण गरेको कसुरमा मनोज पाण्डेलाई ७ वर्षको काराबास सजाय सुनाइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई मानव बेचबिखन गरेको कसुरमा ७ वर्षको कैद सजाय र पीडितलाई ७५ हजार रुपैया क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।
पाण्डेबाट पीडित युवतीले सुन्दरी प्रतियोगिता सकिएपछि सक्सेस पार्टी गराउने नाममा आफूलाई होटलमा पु¥याएर औषधी खुवाएर बलत्कार गरेको आरोप लगाएकी थिइन् । आठ वर्ष अघि भएको घटनामा बलत्कार मुद्दा लगाउन हदम्यादका कारण नमिलेपछि प्रहरीले मानव बेचबिखनमा मुद्दा हालेको थियो ।
काठमाडौँ जिल्ला अदालतले गत माघ १० गते नै पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा दोषी ठहर गर्दै बाल यौन दुरुपयोगमा छ महिना कैद र ५० हजार रुपैया क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । मानव बेचबिखनको कसुरमा सोमबार सजाय सुनाइएको हो । एकै व्यक्तिलाई एक भन्दा बढी मुद्दामा सजाय सुनाइएको अवस्थामा सबैभन्दा बढी सजाय भुक्तान गर्नुपर्ने व्यवस्था छ ।








































